बुधबार, असोज १४, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • ऋणसँगै प्रविधि पनि भित्र्याउन एडिबीसँग अर्थमन्त्रीको आग्रह

ऋणसँगै प्रविधि पनि भित्र्याउन एडिबीसँग अर्थमन्त्रीको आग्रह

अर्थमन्त्री जनार्दन शर्माले ऋण लगाानीसँगै नवीन प्रविधिसमेत भित्र्याएर सहयोग गर्न एसियाली विकास बैंक (एडिबी)सँग आग्रह गरेका छन्।
 |  मंगलबार, चैत १, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, चैत १, २०७८

काठमाडौं- अर्थमन्त्री जनार्दन शर्माले ऋण लगाानीसँगै नवीन प्रविधिसमेत भित्र्याएर सहयोग गर्न एसियाली विकास बैंक (एडिबी)सँग आग्रह गरेका छन्। एडिबीले नेपालमा कार्यान्वयन गरिरहेका विभिन्न परियोजनाको वार्षिक समीक्षा गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले दातृ निकायको ऋण आवश्यक परेको र यसरी ऋण दिँदा विकसित देशमा प्रयोग हुने नवीन प्रविधिसमेत भित्र्याएर सहयोग गर्न आग्रह गरेका हुन्। 

'हामीलाई अबका दिनमा ऋण मात्र होइन, प्रविधि पनि भित्र्याइदिनुपर्‍यो,’ मन्त्री शर्माले भने,'जसकारण हाम्रा परियोजना कार्यान्वयन गर्न सजिलो होस्।’

ऋण लगानीमा निर्माण हुने परियोजना कार्यान्वयनमा आएपछि सोही ऋण तिर्न सक्ने प्रतिफलयोग्य हुनुपर्ने पनि उनको भनाइ थियो। 

कार्यक्रममा एडिबीको आर्थिक सहयोगमा विभिन्न परियोजना सञ्चालन गरिरहेका मन्त्रालयका सचिवसहित अन्य पदाधिकारीको सहभागिता रहेको थियो। ‘हामीले ऋण लिएर बनाएका परियोजना सम्पन्न भएर प्रतिफल दिन थालेपछि सोही ऋण तिर्न सक्षम हुनुपर्छ,’ शर्माले कर्मचारीहरूलाई निर्देशन दिए, 'अहिले बन्दै गरेका र अब छनौट हुने नयाँ परियोजनाका बारेमा पनि यो कुरा ध्यान दिनुहोला।’

अर्थमन्त्री शर्माले नेपालको विशेषता र आवश्यकता सुहाउँदो सर्तहरु राखेर एडीबीले परियोजनामा लगानी गर्नुपर्ने धारणा राखेका थिए। एबीडी र सरकारको सम्बन्ध सुदृढ र आत्मनिर्भर समाज रुपान्तरणका लागि प्रभाावकारी भइहेको उनको भनाइ छ। 

छलफलमा सहभागी विभिन्न मन्त्रालय/निकायका प्रतिनिधिले समन्वयको अभाव भएको बताएका थिए। मन्त्री शर्माले समन्वय हुन नसक्नु कर्मचारीकै कमजोरी भएको बताए। ‘कुन सडक कसले बनाउने भनेर पनि कर्मचारी साथीहरु अलमलिनु भएको छ, अनि कसरी हुन्छ विकास?’ उनले भने, ‘सडक खन्ने, ढल बनाउने र बिजुलीको पोल गाड्ने काम समन्वय गरेर एउटै टेण्डरमा निकाल्दा भइहाल्छ तर यहाँ बाटो बनाएपछि ढल विकासले खन्ने र विद्युत प्राधिकरणले बिजुलीको पोल गाड्ने अनौठा उदाहरण देखिने गरेका छन्।’

कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक  उड्डयन मन्त्रालय, ऊर्जा जलस्रोत तथा सिचाई मन्त्रालय, सहरी विकास मन्त्रालय, खानेपानी मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशाशन मन्त्रालय, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र कृषि तथा पशुपंक्षी विकास मन्त्रालयमा एबीडीको ४ खर्ब ९ अर्ब रुपैयाँ लगानीका परियोजना सञ्चालनमा रहेको जानकारी दिइएको थियो। 

प्रकाशित: Mar 15, 2022| 18:44 मंगलबार, चैत १, २०७८
प्रतिक्रिया दिनुहोस्