काठमाडौं– एनसेल आजियाटा लिमिटेडले आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत काठमाडौंको मुटुमा अवस्थित लैनचौर मैदानको पुनर्निर्माण सम्पन्न गरेको छ।
विभिन्न सुविधाहरूसहित पुनर्निर्माण तथा स्तरोन्नत्तिपश्चात् हालै काठमाडौं महानगरपालिका वडा नं. २६ लाई एक समारोहबीच हस्तान्तरण गरिएको यो मैदान आमनागरिकका लागि खुला गरिएको छ।
यो परियोजना पूर्ण रूपमा वडा नं. २६ र स्थानीय समुदायको सहकार्यमा डिजाइन गरी पुनर्निमाण तथा स्तरोन्नत्ति गरिएको एनसेलले जनाएको छ। नवनिर्मित यस बहुद्देश्यीय लैनचौर मैदान खुला गरिएको अवसरमा गत शनिबार स्थानीय क्लब र एनसेल कर्मचारीबीच मैत्रीपूर्ण फुटबल खेलको पनि आयोजना गरिएको थियो।
५४ हजार ९२१ वर्गफिट क्षेत्रमा फैलिएको यो मैदानमा ७ ‘ए’ साइजको मिनी फुटबल मैदान, बास्केटबल कोर्ट, बालबालिकाको खेल्ने क्षेत्र, ५० रूख, हरियाली क्षेत्र, परम्परागत सत्तल, तीन ढुंगेधारा, सार्वजनिक शौचालय, सोलार बत्तीजस्ता सुविधा छन्। स्थानीय समुदाय र वडा नं. २६ को अनुरोधअनुसार एनसेलले यसको निर्माण र मर्मतसम्भारको जिम्मेवारी लिएको थियो। कम्पनीले आगामी २ वर्षसम्मका लागि मर्मतसम्भार गर्नेछ।
मैदानमा अन्तर्राष्ट्रियस्तरको एस्ट्रोटर्फ बिच्छाई मिनी फुटबल मैदान बनाइएको छ। वातावरणीय पक्षलाई ध्यानमा राखी आवश्यक सबै प्रक्रिया अपनाएर एस्ट्रोटर्फ लगाइएको छ। टर्फमुनि जमिनका चारैतिर ३ फिट व्यास र १० देखि १५ फिट गहिराइका १३ वटा इनार बनाइएका छन्। वर्षायाममा पानी रिचार्जका लागि सबै इनारमा जम्मा हुँदै बढी पानीमात्र मुख्य निकासमार्फत जाने व्यवस्था गरिएको छ। पानीको निकासका लागि पनि उचित व्यवस्था छ।
मैदानको स्तरोन्नतिले समुदायमा तथा वातावरणमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको छ। एनसेलको सीएसआर अन्तर्गत मैदानको विकास तथा संरक्षणका लागि एनसेल र काठमाडौं महानगरपालिका वडा नं. २६ बीच गत वर्ष सम्झौता भएको थियो।