सर्लाही– नेपाल सरकार र नेपाल विद्युत प्राधिकरणको संयुक्त लगानीमा सर्लाहीको लालबन्दी नगरपालिका–१ नवलपुरमा निर्माण भएको १३२–३३ केभी सबस्टेसनको उद्घाटन भएको छ।
सर्लाहीको विद्युत आपूर्तिलाई भरपर्दो तथा गुणस्तरीय बनाउन र आगामी दिनमा खुल्ने नयाँ उद्योगहरुलाई विद्युत उपलब्ध गराउन निर्माण गरिएको सबस्टेसनमंगलबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले उद्घाटन गरेकी हुन्।
उद्घाटन कार्यक्रममा उनले आम नेपाली जनताले उज्यालोका लागि मात्र नभएर खाना पकाउन, सिँचाइ गर्न, उद्योग कलकारखाना चलाउनका लागि प्रयोग गरी विद्युत खपत बढाउन आग्रह गरिन्। तराई तथा मधेस क्षेत्रमा सिँचाइमा विद्युत खपतको प्रचुर सम्भावना देखेर नै सरकारले सिँचाइको विद्युत महसुल घटाएको उल्लेख गर्दै मन्त्री भुसालले सिँचाइका लागि पेट्रोलियम पदार्थबाट चल्ले उपकरणहरु विस्थापित गर्न आग्रह गरिन्।
कार्यक्रममा संघीय सांसद प्रमोदकुमार साहले यस क्षेत्रका सबस्टेसनबाट विद्युत आपूर्ति हुन थालेपछि यस क्षेत्रका बासिन्दाले भरपर्दो र गुणस्तरीय विद्युत पाउन थालेको बताए। उनले विद्युतीकरण नभएका क्षेत्रमा तत्काल काम गर्न प्राधिकरणलाई आग्रह गरे। ऊर्जा सचिव देवेन्द्र कार्कीले सर्लाहीबाट बत्ती जाने धेरै गुनासो आउने गरेकामा अब त्यस्ता समस्या समाधान भएको बताए। सरकारले महसुल घटाएकाले विद्युत चोरी गरी सिँचाइ गर्नुपर्ने अवस्था नरहेको उल्लेख गर्दै कार्कीले चोरी नियन्त्रणमा सहयोग गर्न सबैलाई आग्रह गरे।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मधेश प्रदेशको विद्युत आपूर्ति सुधार गर्न अहिले सबैभन्दा बढी लगानी भइरहेको उल्लेख गर्दै प्राधिकरणले आफ्नो आम्दानी घटाएर भए पनि सिँचाइ, औद्योगिक, खानेपानीलगायत आम घरायसी ग्राहकलाई महसुलमा सहुलियत दिएको बताए। लालबन्दी नगरपालिकाका प्रमुख मानबहादुर खड्काले नवलपुर सबस्टेसन सञ्चालनमा आएपछि यस क्षेत्र न्यून भोल्टेज र ट्रिपिङको समस्याबाट मुक्त भएको उल्लेख गर्दै सबस्टेसन आम उपभोक्ताका लागि बरदान भएको टिप्पणी गरे।
सबस्टेसनमा विद्युत आपूर्ति सुरु भएपछि सर्लाहीको विद्युत आपूर्ति विश्वसनीय र प्राविधिक चुहावट घटेको छ। यसअघि सर्लाहीमा ढल्केबर र चन्द्रनिगाहपुर सबस्टेसनबाट ३३ केभी लाइनमार्फत विद्युत आपूर्ति भइरहेको थियो। ३३ केभी लाइन धेरै लामो हुँदा प्राविधिक चुहावट थियो भने विद्युत आपूर्तिमासमेत अवरोध हुँदै आएको थियो। नवलपुर सबस्टेसनबाट सिधै विद्युत आपूर्ति हुन थालेपछि लाइन छोटो हुँदा चुहावट घट्छ, विद्युत आपूर्ति पनि विश्वसनीय र गुणस्तरीय बनेको छ। सर्लाहीमा खुल्ने उद्योगहरुलाई पर्याप्त विद्युत दिन सकिने छ।