मस्को- रुसको सरकारी टेलिभिजनबाट समाचार प्रस्तुत भइरहँदा युद्ध विरोधी प्लेकार्डसहित स्टुडियोमै प्रदर्शन गर्ने समाचार सम्पादक पक्राउ परेकी छन्। सोमबार बेलुकाको समाचार प्रसारण भइरहेका बेला राज्य नियन्त्रित च्यानल वान टेलिभिजनको स्टुडियोमा युद्ध विरोधी प्रदर्शन गर्ने समाचार सम्पादक मरिना ओभास्यानिकोभालाई पक्राउ गरेर मस्कोस्थित प्रहरी चौकीमा लगेको एबीसी डट नेटले जनाएको छ।
समाचार प्रस्तुतकर्ताको पछाडि युद्ध विरोधी नारा लेखिएको प्लेकार्ड स्पष्ट रुपमा देखिएको छ। सो प्लेकार्डमा ‘युद्ध चाहिँदैन, युद्ध रोक, प्रोपोगाण्डामा विश्वास नगर्नु होला, यिनीहरुले ढाँटिरहेका छन्’ लेखिएको छ। उनी अगोरा मानवअधिकारवादी समूहकी प्रमुखसमेत रहेको बताइएको छ।
रुसले युक्रेनमा गएको फेब्रुअरी २४ देखि आक्रमण गर्दै आएको छ। तर रुसले आक्रमणका समाचारहरु आफ्ना सञ्चारमाध्यमबाट आफू विरोधी हुन भनेर नियन्त्रित गरेको छ। रुसी सञ्चारमाध्यमले युद्धलाई लिएर गलत जानकारीहरु प्रसारण गरिरहेका छन्। यस्तो बेला सरकारी टेलिभिजनकै समाचारका बेला प्रदर्शनकारीले युद्ध विरोधी नारा लेखिएको प्लेकार्ड प्रदर्शन गरेका हुन्।
समाचार प्रसारण भइरहेका बेला युद्ध विरोधी प्लेकार्ड प्रदर्शन गर्ने महिला सोही च्यानलकी सम्पादक रहेको जनाइएको छ। मारिना ओभ्सिएनिकोभा नाम गरेकी ती महिला अहिले प्रहरी हिरासतमा रहेको हुन सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
उनले प्लेकार्ड प्रदर्शन गर्दै युद्ध विरोधी नारा पनि लगाएकी थिइन्। उनले लगाएको नारा टेलिभिजनबाट स्पष्ट सुनिएको थियो। उनले प्रत्यक्ष प्रशारित समाचारमा प्रदर्शन गर्नु पूर्व आफ्नो भिडियो रेकर्ड गराएकी थिइन्। त्यसमा रुसी प्रोपोगाण्डा फैलाउने माध्यमक बनेकोमा लाज लागेको बताएकी छन्। यस्तै उनले रुसी नागरिकलाई युद्ध विरोधी प्रदर्शन गर्न अपिल समेत गरेकी छन्।