बुधबार, असोज १४, २०८३

पाल्पाका किसान च्याउ खेतीतर्फ आकर्षित

सामूहिक तथा व्यक्तिगत रुपमा च्याउखेती गरी गाउँमा प्रशस्त आम्दानी हुन थालेपछि उनीहरुको जीवनशैलीमा परिवर्तन आउन थालेको छ।
 |  मंगलबार, चैत १, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, चैत १, २०७८

पाल्पा- पाल्पाका किसान पछिल्लो समय च्याउ खेतीतर्फ आकर्षित हुँदै गएका छन्। कम लगानी र प्रतिफल धेरै हुन थालेपछि उनीहरु व्यावसायिक रुपमा च्याउ उत्पादन गर्न थालेका हुन। किसान परम्परागत खेती गर्न छाडेर काठको मुढामा सिताके जातको च्याउखेती गर्न थालेका छन्।

सामूहिक तथा व्यक्तिगत रुपमा च्याउखेती गरी गाउँमा प्रशस्त आम्दानी हुन थालेपछि उनीहरुको जीवनशैलीमा परिवर्तन आउन थालेको छ।

तानसेन नगरपालिका–८, मदनपोखराका ६३ परिवारले सामूहिकरुपमा सिताके च्याउखेती थालेका छन्। प्रतिपरिवार १० हजार रुपैयाँका दरले उठाएर च्याउखेती गरेको बताए। तानसेनका व्यवसायी अनिल घिमिरेले दुई लाख पचास हजार रुपैयाँ लगानी गरेर च्याउखेती सुरु गरेका छन्। अहिले उनको च्याउ फार्ममा पचास लाख रुपैयाँ बराबरको लगानी रहेको छ।

पाँच सय काठका मुढाबाट च्याउखेती थालेका घिमिरेसँग अहिले पाँच हजार मुढा रहेका छन्। घिमिरेले स्थानीय सामुदायिक वनबाट काठका मुढा किनेर सिताकी च्याउखेती सुरु गरेका हुन्। उनले वार्षिक १५ लाख रुपैयाँ सम्म आम्दानी हुने बताए।

व्यावसायिक रुपमा च्याउखेती गर्न थालेपछि किसानले नियमित आम्दानी गर्न थालेका छन्। मदनपोखरा सामूहिक सिताकी च्याउ उत्पादक समूहका अध्यक्ष सन्तोष पृथीका अनुसार नियमित आम्दानी भएपछि घरखर्च गरी केही पैसा समूह, सहकारी र बैंकमा बचत गर्न थालेको बताए।

परम्परागत खेती गर्दा बाँदर तथा अन्य वन्यजन्तुबाट जोगाउन समस्या हुने गरेकोमा अहिले च्याउ खेतीबाट प्रशस्त आम्दानी गर्न सफल भएको अध्यक्ष पृथीले बताए। उत्पादन भएको च्याउ पाल्पा, बुटवल, चितवन, पोखरालगायत ठाउँमा बिक्री हुने बताए।  रासस

प्रकाशित: Mar 15, 2022| 07:40 मंगलबार, चैत १, २०७८
प्रतिक्रिया दिनुहोस्