बुधबार, असोज १४, २०८३

कोकाकोलाविरुद्ध ३ अर्ब ७१ करोड कर छलीको मुद्दा दायर

बहुराष्ट्रिय कम्पनी कोकाकोलाविरुद्ध कर छलीको मुद्दा दायर भएको छ।
 |  शुक्रबार, फागुन २७, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन २७, २०७८

काठमाडौं– बहुराष्ट्रिय कम्पनी कोकाकोलाविरुद्ध कर छलीको मुद्दा दायर भएको छ। ३ अर्ब ७१ करोड ८१ लाख ५० हजार ४११ रुपैयाँबराबर कर छलीको आरोपमा राजस्व अनुसन्धान विभागले शुक्रबार उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो।

उक्त रकम बिगो र बिगोको शतप्रतिशत जरिवाना गरी कुल ७ अर्ब ४३ करोड ६३ लाख ८ सय २२ रुपैयाँ असुलउपर गरिनुपर्ने राजस्व अनुसन्धान विभागले दायर गरेको मुद्दामा उल्लेख छ।

कोकाकोलाको स्वामित्व खरिद बिक्रीमा कर छली भएको विभागले जनाएको छ। नेपालस्थित बोटलर्स नेपाल लिमिटेडमा अधिकांश सेयर स्वामित्व रहेको दुबईस्थित कम्पनी कोकाकोला साब्को एसियाको शतप्रतिशत सेयर सन् २०१४ अक्टोबरमा २४ (२०७७ फागुन ७ गते) कोकाकोला साब्को आयरल्यान्डस्थित युरोपियन रिफ्रेसमेन्टलाई बिक्री गर्दा राजस्व चुहावट भएको मुद्दाको विवरणमा उल्लेख छ।

बोटलर्स नेपाल लिमिटेडको स्वामित्वमा रहेको सेयर बेच्दा उक्त कम्पनीले ठूला करदाता कार्यालयलगायत सम्बन्धित निकायलाई जानकारी नै नदिई कर छली गरेको विभागले जनाएको छ। विभागले दायर गरेको मुद्दामा काठमाडौं महानगरपालिका १६ स्थित बालाजु औद्योगिक क्षेत्रमा रहेको बोटलर्स नेपाल लिमिटेडलाई मुख्य प्रतिवादी बनाइएको छ।

बोटलर्स नेपालको सञ्चालक समितिमा उक्त कम्पनीको सेयर होल्डर संयुक्त अरब इमिरेट्सको दुबईस्थित ‘कोकाकोला साउथवेस्थ होल्डिङ लिमिटेड’ र साविकको ‘कोकाकोला साब्को एसिया’को तर्फबाट प्रतिनिधित्व गर्ने व्यक्तिहरुविरुद्ध विभागले मुद्दा दायर गरेको हो।

मुद्दा दायर गरेका व्यक्तिहरुमा कम्पनीका अध्यक्ष शुक्ल वासन, निर्देशकहरु मेल्भिन तान चुन पिन, मोहम्मद अमिन घोनिम, गौरव खोस्ला, सन्दीप बजोरिया, देबव्रत मुखर्जी, सुमन्त दत्त, जवाहर सोलाई कुप्पुस्वामी र संकित रे रहेका छन्। त्यस्तै कम्पनीको प्रबन्ध निर्देशक तथा आर्थिक कारोबार र लेखा परीक्षणको जिम्मेवारीमा रहेका व्यक्तिहरुलाई पनि विभागले मुख्य प्रतिवादी बनाएको छ।

बोटलर्स नेपालका प्रबन्ध निर्देशक प्रदीप पाण्डे र पुनीत चन्द्रपाल भर्स्नी, वित्त व्यवस्थापकहरु राजीव टण्डन, भरतबाबु दहाल र सुमित गोयल विरुद्धसमेत मुद्दा दायर गरिएको छ। त्यस्तै, वित्त नियन्त्रक अशोककुमार मण्डल, बोर्ड डाइरेक्टर त्रिलोचन उप्रती र चार्टर अकाउन्टेन्ट संजिव कुमार मिश्रलाई पनि प्रतिवादी बनाइएको छ।

कोकाकोला उत्पादक ‘बोटलर्स नेपाल लिमिटेड’ सँग अन्तरसम्बन्धित कम्पनी विदेशमै बिक्री गरेर कर छली गरिएको आशंकामा राजस्व अनुसन्धान विभागले छानबिन थालेको थियो। 

बोटलर्स नेपालको भगिनी कम्पनी बोटलर्स नेपाल (तराई) पनि हो, जसमा बोटलर्स नेपालको ९१ प्रतिशत सेयर छ। बाँकी ९ प्रतिशत सेयर सर्वसाधारणको छ। सन् १९७३ मा स्थापित बोटलर्स नेपालले बालाजु औद्योगिक क्षेत्रमा प्लान्ट स्थापना गरी ४१ वर्षदेखि नेपाली बजारमा कोकाकोला र अन्य उत्पादनको कारोबार गरिरहेको छ। अमेरिकी बहुराष्ट्रिय कम्पनी कोकाकोलाको मुख्यालय भने एटलान्टामा छ।


प्रकाशित: Mar 11, 2022| 17:46 शुक्रबार, फागुन २७, २०७८
प्रतिक्रिया दिनुहोस्