लमजुङ- लमजुङ र मनाङ जोड्ने बेँसीसहर-चामे सडकको निर्माण कार्य तीव्ररूपमा भइरहेको छ। डुम्रे बेँसीसहर चामे सडक योजना कार्यालयका अनुसार सडकखण्डको तिमाङ छहरामा रहेको काठे पुल जीर्ण भएकाले कल्भर्ट निर्माणका लागि यही फागुन २० देखि आगामी चैत ५ गतेसम्मका लागि सडक बन्द गरिएको हो।
जिल्लाको नासोँ गाउँपालिका–९ स्थित तिमाङ छहराको दुई ठाउँमा कल्भर्ट निर्माण तीव्ररुपमा भइरहेको हो। गत असारमा आएको बाढीले काठेपुल बगाएपछि पुनः काठेपुल राखेर यातायात सञ्चालनमा भएकामा गत कात्तिकमा आएको बाढी र पहिराले फेरी काठेपुल बगाएको थियो।
उक्त काठेपुल जीर्ण हुँदै गएको र आगामी बर्खायाममा फेरि समस्या उत्पन्न हुने भएकाले व्यवस्थित गर्न ढलानसहितको स्ल्याभ कल्भर्ट निर्माण भइरहेको प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले जानकारी दिए। सोमबार प्रमुख जिल्ला अधिकारी र जिल्लाको सुरक्षा निकायद्वारा सडक निर्माण कार्यको निरीक्षण गरिएको थियो। निरीक्षणका क्रममा विद्युतीकरणका लागि चामे दानाक्यु क्षेत्रमा भइरहेको पोल गाड्ने र तार तान्नाका साथै तिमाङ खोलाको झरनामा भइरहेको कल्भर्ट निर्माणको निरीक्षण गरिएको उनले जानकारी दिए।
कल्भर्टको काम सन्तोषजनक भएको र धारापानी चौकीबाट दैनिक सुरक्षा र समन्वय तथा नियमित रिपोर्टिङ गर्ने समेतको प्रबन्ध मिलाएको बताइएको थियो। रासस