काठमाडौं- काठमाडौंका विभिन्न स्थानबाट मोटरसाइकल र साइकल चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। उनीहरूलाई गोकर्णेश्वर नगरपालिका-५ बाहुनधाराबाट सोमबार प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेमा गोकर्णेश्वर नगरपालिका-५ बाहुनधारा बस्ने सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका-९ घर भएका २० वर्षीय सुरेश श्रेष्ठ, सोही ठाउँ बस्ने १८ वर्षीय किशोर, गोकर्णेश्वर बस्ने संखुवासभा घर भएका २४ वर्षीय योग राज लिम्बु, गोकर्णेश्वर नगरपालिका-५ जोरपाटी बस्ने झापा बुद्दशान्ति गाउँपालिका-६ घर भएका २० वर्षीय दीपेश मगर र गोकर्णेश्वर नगरपालिका-८ माकलबारी बस्ने सुर्खेत मेलकुनादचोर घर भएका २४ वर्षीय विशाल राना रहेका छन्।
काठमाडौं महानगरपालिका-६ बौद्ध तथा गोकर्णेश्वर नगरपालिकाको विभिन्न स्थानबाट चोरी कार्यमा संलग्न गिरोहका व्यक्तिहरूले सोही इलाका र अन्य इलाकामा समेत चोरीका मोटरसाइकल बिक्री वितरण गर्दै आइरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई पाँच थान चोरीका मोटरसाइकल र दुई वटा साइकलसहित पक्राउ गरेको हो।
उनीहरूमाथि जिल्ला अदालत काठमाडौंबाट सात दिन म्याद थप गरी महानगरीय प्रहरी वृत्त बौद्धबाट थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।