बुधबार, असोज १४, २०८३

सुनको मूल्यमा तीव्र उतारचढाव, कारोबार ठप्प

मूल्य बढेपछि सुनचाँदी पसल सुनसान छन्। किन्ने उपभोक्ता त कम हुने नै भए, बेच्न पनि खासै नआएको व्यवसायीहरु बताउँछन्।
 |  शुक्रबार, फागुन २७, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन २७, २०७८

काठमाडौं– पछिल्लो दुई सातादेखि चलिरहेको रुस–युक्रेन युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढ्दो क्रममा छ। त्यसको असर नेपालमा पनि पर्ने नै भयो, किनकी यहाँको बजारमा विदेशबाटै सुन आयात गरेर किनबेच हुने हो। 

अन्तर्राष्ट्रिय स्तरमा युद्ध वा अन्य यस्तै अशान्ति तथा उथलपुथल हुँदा सुनको माग बढ्छ, किनकी लगानीका लागि कम जोखिम भएको क्षेत्र हो सुन। अहिले पनि सुनको माग अन्तर्राष्ट्रिय बजारमा बढेको छ, जसका कारण मूल्य अकासिएको हो।

नेपाली बजारमा पनि सुनको भाउ बढिरहेको छ। बुधबार सुनको भाउ हालसम्मै उच्च अर्थात् तोलाको १ लाख ५ हजार ५ सय रुपैयाँ पुग्यो। हिजो बिहीबार भने एकैदिन ३५ सय घटेर १ लाख २ हजार कायम भयो। आजका लागि नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनको मूल्य प्रतितोला ६०० ले बढाएर १ लाख २ हजार ६०० रुपैयाँ तोकेको छ।

मूल्य बढेपछि सुनचाँदी पसल सुनसान छन्। किन्ने उपभोक्ता त कम हुने नै भए, बेच्न पनि खासै नआएको व्यवसायीहरु बताउँछन्। ‘पहिलेपहिले भाउ बढेको बेला बेच्ने ग्राहक धेरै आउँथे, अहिले त त्यो पनि छैन,’ भक्तपुरको ठिमीस्थित एक सुन पसलेले भने, ‘सुनको मूल्य हाम्रो हातमा छैन, अन्तर्राष्ट्रिय बजारमा बढेपछि यहाँ पनि बढ्ने हो, घटे घट्ने हो।’ 

सुन आयातका लागि नेपालबाट वर्षेनि अर्बौं रुपैयाँ बाहिरिन्छ। नेपाल राष्ट्र बैंकले दैनिक २० किलो सुन आयात गर्न अनुमति दिएको छ। अहिले भने वित्तीय क्षेत्रमा तरलताको चाप गहिरिएको भन्दै केन्द्रीय बैंकले सुन आयातको दैपनक कोटा आधा घटाएर १० किलोमा झारेको छ। 

राष्ट्र बैंकले कोटा तोक्नुअघि गत पुसको तथ्यांक हेर्ने हो भने सुन आयातमा एकै महिना २२ अर्ब बाहिरिएको छ। त्यसैगरी माघ महिनामा २५ अर्बबराबरको सुन आयात भएको भन्सार विभागको तथ्यांक छ। केन्द्रीय बैंकले कोटा घटाएपछिको तथ्यांक भने आएको छैन। 

मूल्य बढेपछि सुनचाँदी पसल सुनसान छन्। किन्ने उपभोक्ता त कम हुने नै भए, बेच्न पनि खासै नआएको व्यवसायीहरु बताउँछन्। 

सुन खरिद गर्न राष्ट्र बैंकको ढुकुटीबाट डलर बिक्री गर्नुपर्ने हुन्छ। अहिले डलरको सञ्चिति घट्दो क्रममा रहेकाले राष्ट्र बैंकले सुन आयातको कोटा घटाएको हो।

त्यसो त सुनचाँदी व्यवसायीहरूले दैनिक २० किलो सुनले माग धान्न नसक्ने बताउँदै आएका छन्। कोटा बढाउन आग्रह गर्दै व्यवसायीहरु नेपाल राष्ट्र बैंकसहित सरोकारवाला निकायहरू धाइरहेका थिए।

अहिले भने अवस्था फरक छ। दैनिक १० किलोको कोटाले अहिले सहजै धान्ने सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिकरत्न शाक्यले बताए। उनका अनुसार भाउ बढेपछि सुन कारोबार सुस्ताएको छ। ‘मूल्य अकासिएको छ, त्यसमाथि अफसिजन। दैनिक १० किलो सुनले देशभरको माग धानिरहेको छ अहिले,’ शाक्यले भने।

वैशाख लागेपछि भने १० किलोको कोटा बढाउनुपर्ने शाक्य बताउँछन्। ‘वैशाख लागेपछि सिजन सुरु हुन्छ। सिजन सुरु भएपछि कोटा बढाउनुपर्छ। मूल्य पनि सधैं नबढ्ला,’ शाक्यले भने। 

सुनचाँदी व्यवसायीहरूले व्यवसाय सञ्चालनका लागि प्रष्ट नीतिनियम तर्जुमा गर्न सरकारसँग आग्रह गरेका छन्। महासंघले यस विषयमा हालै नेपाल राष्ट्र बैंक, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलगायत सरोकारवाला पक्षसँग छलफल गरेको छ। सुनचाँदी व्यवसाय र यसको कारोबारका लागि हालसम्म पनि प्रष्ट नीति बन्न नसक्दा व्यवसाय सञ्चालनमा केही अन्योल भएको अध्यक्ष शाक्यले बताए। सरकारले सुनचाँदी कारोबारको निर्देशिका बनाउनुपर्ने व्यवसायीहरुले बताउँदै आएका छन्। व्यवसायीले लिने नाफा, ज्यालाजर्ती, टोलसेन्स जस्ता विषयमा अस्पष्टता रहेको व्यवसायीहरुको भनाइ छ।

बुधबारमात्र व्यवसायीहरुले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक प्रेमकुमार श्रेष्ठसँग भेट गरी व्यवसाय सञ्चालनका लागि प्रष्ट नीति बनाउन आग्रह गरेको थियो। भेटका क्रममा महानिर्देशक श्रेष्ठले कुनै पनि पेशा व्यवसाय सञ्चालनका लागि प्रष्ट नीतिनियम आवश्यक पर्ने स्वीकार गर्दै सुनचाँदी व्यवसाय, व्यवसायी र आम उपभोक्ताका सरोकारलाई समेत समेट्ने गरी नीति बनाउन आफूले पहल गर्ने प्रतिवद्धता जनाएका थिए।

प्रकाशित: Mar 11, 2022| 11:01 शुक्रबार, फागुन २७, २०७८
प्रतिक्रिया दिनुहोस्