काठमाडौं- संखुवासभाको मादी नगरपालिका-६ मा आज बिहान भएको बस दुर्घटनामा परी मृत्यु हुनेमध्ये १२ जनाको पहिचान खुलेको छ। ना४ ख७३५ नम्बरको बसमा सवार १४ जना मृतकमध्ये १२ जनाको पहिचान खुलेको हो।
रामबेनी बजारबाट झापाका दमक जाँदै गरेको बस बिहीबार बिहान सडकबाट करिब ३ सय मिटर तल खसेको थियो। दुर्घटनामा परेर मृत्यु हुनेहरुमा संखुवासभाको मादी नगरपालिका-६ घर भएकी ३० वर्षीया सीता बिक, ३२ वर्षीया अन्जना कटुवाल, मादी-५ घर भएका ४९ वर्षीय भवानीप्रसाद दाहाल, वर्ष ५६ का श्याम शेर्पा, र वडा नम्बर-२ बस्ने ४२ वर्षीय इन्द्र अधिकारी छन्।
ताप्लेजुङ घर भएकी बर्ष ३१ की समीक्षा योञ्जन र उनको छोरा ८ वर्षीय सुदिप घिसिङको मृत्यु भएको छ। बसका चालक तेह्रथुम घर भएका ३१ वर्षीय विपिन निरौलाको पनि मृत्यु भएको ईलाका प्रहरी कार्यालय संखुवासभाले जनाएको छ।
मृत्यु हुनेहरुमा मादी नगरपलिका-६ बस्ने वर्ष ५ की दीक्षा कटुवाल, वडा नम्बर–४ बस्ने ६० वर्षीय बलबहादुर कार्की, वर्ष २८ की सविता कार्की र मादी-५ बस्ने ४८ वर्षीय दीपककुमार दाहाल छन्। दुर्घटनामा परेर ५ जना घाइते भएका छन्। घाइतेहरुको चैनपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।