नयाँ दिल्ली- भारतले कोरोना महामारी नियन्त्रणका लागि रोक लगाइएको नियमति उडान दुई वर्षपछि खुला गरिएको छ। कोरोनाका कारण सन् २०२० मार्च २३ देखि नियमित व्यवसायिक अन्तर्राष्ट्रिय उडानमा रोक लगाइएको थियो। ‘एयर बबल’ सम्झौता अन्तर्गत निश्चित देशहरुबाट सीमित संख्याका उडानहरुको अनुमति मात्रै दिइएको थियो। आगामी २७ मार्चबाट लागु हुनेगरी भारतबाट विदेश जान र आउनका लागि पूर्ववतः उडानको अनुमति दिने निर्णय भारत सरकारले गरेको हो।
कोरोनाका कारण सरकारले लगाएको प्रतिबन्धका कारण निजी क्षेत्रका विमान कम्पनीहरुले नियमित रुटहरुमा पनि उडान गर्न पाइरहेका थिएनन्। यसअघि गत १५ डिसेम्बरबाटै सबै व्यवसायिक तथा नियमित उडानको अनुमति दिने निर्णय सरकारले गरेको थियो। तर, त्यही समयमा ओमिक्रोनको संक्रमण बढेपछि अर्को निर्णय नभएसम्मका लागि उक्त निर्णयलाई स्थगन गरिएको थियो। एयर बबल अन्तर्गत भारतको विभिन्न ३५ वटा देशसँग तोकिएको निश्चित संख्यामा उडान हुँदै आएको छ।