काठमाडौं– ग्लोबल नेपाली फिल्म अवार्डको पाँचौं संस्करण अमेरिकाको टेक्ससमा हुने भएको छ। नेपाल फिल्म सोसाइटी, ग्लोबल नेपाली फिल्म अवार्ड र एसोसिएसन अफ नेप्लिज इन द अमेरिकाजले संयुक्त रुपमा अवार्ड कार्यक्रम गर्न लागेका हुन्।
काठमाडौंमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार अवार्ड कार्यक्रममा सफल नेपाली फिल्म र फिल्मकर्मीलाई सम्मानसहित अमेरिकामा रहेका नेपाली फिल्मकर्मीलाई प्रोत्साहन गरिने भएको छ।
अवार्ड आयोजनाको उद्देश्य विदेशमा नेपाली फिल्मको प्रवर्द्धन गर्नु रहेको ग्लोबल नेपाली फिल्म अवार्ड अमेरिकाका अध्यक्ष नवराज श्रेष्ठले बताए। ‘नेपाललाई फिल्म टुरिजमको हब बनाउन अवार्डले भूमिका खेल्नेछ,’ पत्रकार सम्मेलनमा उनले भने।
अवार्डका लागि चाँडै छनोट समिति गठन हुने बताइएको छ। कार्यक्रममा कलाकारहरु नीर शाह, करिश्मा मानन्धर, शिव श्रेष्ठ, अशोक शर्मा, उज्वल घिमिरे, आर्यन सिग्देल, रविन्द्र खड्का लगायतले अवार्डको सफलताको कामना गरेका थिए।
अवार्डका अघिल्ला चार संस्करण अमेरिकाकै कोलोराडो र सनफ्रान्सिस्कोमा भएका थिए। कोरोना महामारीका कारण सन् २०२० र २०२१ मा भने अवार्ड आयोजना हुन सकेन।