काठमाडौं– पेट्रोलियम पदार्थको मूल्य नियन्त्रण गर्न सरकारलाई संघीय संसद् प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिले निर्देशन दिएको छ।
समितिको बुधबार बसेको बैठकमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिका विषयमा छलफल भएको थियो। बैठकपछि समिति सभापति विमलप्रसाद श्रीवास्तवले उपभोक्तालाई मार नपर्ने गरी सर्वसुलभ तरिकाले पेट्रोलियम पदार्थ उपलब्ध गराएर मूल्यवृद्धि नियन्त्रण गर्न सरकारलाई निर्देशन दिइएको बताए।
नेपाल आयल निगमका उचित माग सम्बोधन गर्न पनि सरकारलाई सचेत गराइएको श्रीवास्तवले जानकारी दिए। उनले भने, ‘उपभोक्तालाई मार नपर्ने गरी सुलभ तरिकाले पेट्रोलियम पदार्थ उपलब्ध होस्। यसको लागि नेपाल आयल निगम पनि धरासायी स्थितिमा पुगेको हुनाले सम्बन्धित निकायलाई आयल निगमको जायज मागहरूको सम्बोधन होस् भन्ने समितिको ठहर रहेको छ। उपभोक्ताले सरल र सुलभ तरिकाले पेट्रोलियम पदार्थ उपलब्ध होस् भनेर समितिले सम्बन्धित निकायलाई निर्देशन दिएको छ,’ उनले भने।