बुधबार, असोज १४, २०८३

माथिल्लो त्रिशूली–३ बी आयोजनाको प्रगति ५८ प्रतिशत

जनताको जलविद्युत कार्यक्रम अन्तर्गत रसुवा र नुवाकोटमा निर्माणाधीन ३७ मेगावाट जडित क्षमताको माथिल्लो त्रिशूली–३ बी जलविद्युत आयोजनाको कामले गति लिएको छ।
 |  बुधबार, फागुन २५, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, फागुन २५, २०७८

काठमाडौं– जनताको जलविद्युत कार्यक्रम अन्तर्गत रसुवा र नुवाकोटमा निर्माणाधीन ३७ मेगावाट जडित क्षमताको माथिल्लो त्रिशूली–३ बी जलविद्युत आयोजनाको कामले गति लिएको छ। 

कोभिड–१९ महामारीको चपेटामा परेकोे माथिल्लो त्रिशूली–३ बी जलविद्युत आयोजनाको अहिलेसम्मको समग्र भौतिक निर्माण प्रगति ५८ प्रतिशत पुगेको छ। आयोजनाको निर्माण असोज २०८० भित्र (सेप्टेम्बर २०२३) सम्पन्न गर्ने लक्ष्यका साथ काम धमाधम भइरहेको छ। 

नयाँ वर्ष मनाउन  माघ २०७६ को दोस्रो साता आफ्नो घर गएका चिनियाँ कामदारहरु कोभिड–१९का कारण फर्कन र चीनबाट उपकरण तथा सामाग्री ल्याउन नसक्दा पूर्ण रुपमा काम भइरहेको आयोजनाको  निर्माण करिब १५ महिना ठप्पप्रायः भएको थियो। आयोजनाको  निर्माण २०७७ को चैतबाट मात्र पुनः सुचारु भएकोमा कोभिड–१९को दोस्रो र तेस्रो लहरका कारणले लगभग तीन हप्ता काम पुनः प्रभावित भएको थियो। साथै, मुख्य सुरुङमा पूर्र्व अनुमानभन्दा ज्यादै कमजोर चट्टान फेला परेका कारण निर्माण प्रभावित भएको थियो। ठेकेदार चिनियाँ कम्पनी सुइफा एएनएचइ ग्रुप कम्पनी, लिमिटेडले अहिले इन्टेक, मुख्य सुरुङ, विद्युतगृह लगायतका मुख्य संरचना निर्माण गरिरहेको छ। 

आयोजनाको प्रवर्द्धक त्रिशूली जलविद्युत कम्पनी लिमिटेडका प्रबन्ध–सञ्चालक मोहन प्रसाद गौतमले ३८०५ मिटर लम्बाइ भएको मुख्य सुरुङमध्ये २८६५ मिटर खनिएको छ। इन्जिनियरिङ, खरिद तथा निर्माण (इपिसी) मोडेलमा आयोजना निर्माणका लागि सुइफा एएनएचई ग्रुप कम्पनीसँग २९ माघ २०७४मा ठेक्का सम्झौता भएको थियो। ठेकेदार कम्पनीले आयोजनाको सिभिल, इलेक्ट्रोमेकानिकल र हाइड्रो मेकानिकलतर्फका सम्पूर्ण संरचना र उपकरणको डिजाइन, निर्माण,जडान तथा संचालन गर्ने छ। 

नेपाल विद्युत प्राधिकरणले निर्माण गरेको ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली ३ ए जलविद्युत आयोजनाको क्यास्केड आयोजना भएकाले माथिल्लो त्रिशूली ३ बीले बाँध, बालुवा थिग्रायाउने पोखरी (डिसेन्डर) लगायतका संरचनाबनाउनु पर्ने छैन। माथिल्लो त्रिशूली ३ एको विद्युतगृहबाट विद्युत उत्पादन पश्चात निस्किएको पानीलाई आयोजनाको सुरुङमा पठाउन आवश्यक पर्ने गेट जडान गरिसकिएको छ। 

उत्पादित विद्युत हाल सञ्चालनमा रहेको समुन्द«टार–त्रिशूली ३ वीहब प्रसारण लाइनमार्फत राष्ट्रिय प्रणालीमा प्रवाह हुने छ। 

सेयरबापतको बाँकी रकम छिट्टै संकलन 

आयोजनाको प्रवर्द्धक त्रिशूली जलविद्युत कम्पनी लिमिटेडले जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत निश्कासन गरेको सेयर बापतको बाँकी रकम छिट्टै संकलन गर्ने भएको छ। कम्पनीले सर्वसाधारणका लागि ३७ लाख ५ हजार कित्ता सेयर निश्कासन गरी प्रति सेयर एक सय रुपैयाँ अङ्कित मूल्यको न्यूनतम १० प्रतिशतले हुने १० रुपैयाँ मात्र संकलन गरेको थियो।

जनताको जलविद्युत कार्यक्रम (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०७५ सेयर वापत चुक्ता गर्न बाँकी रकम आयोजनाको ५० प्रतिशत भौतिक प्रगति र कम्पनीका संस्थापक समूहका सेयरधनीले लिन कबुल गरेको सेयर वापतको रकम सबै चुक्ता गरेपछि मात्र भुक्तानी माग गर्नु पर्ने व्यवस्था छ। 


प्रकाशित: Mar 09, 2022| 14:33 बुधबार, फागुन २५, २०७८
प्रतिक्रिया दिनुहोस्