काठमाडौं- अमेरीकी सरकारले प्रदान गर्ने अन्तर्राष्ट्रिय साहसी महिला अवार्डबाट यौनिक तथा लैंगिक अल्पसंख्यक अभियानकर्मी भूमिका श्रेष्ठ सम्मानित भएकी छन्।
यौनिक तथा लैंगितक अल्पसंख्यक समुदायको अधिकारमा काम गर्दै आएकी श्रेष्ठलाई यस बर्षको पुरस्कार प्रदान गरिएको जनाइएको छ। अमेरिकी राजदुत र्यान्डी बेरीले ट्वीट गर्दै भूमिकालाई बधाइ दिएका छन्। नेपालमा एलजीबीटीक्यूआई समुदायको लागि काम गरेको भन्दै अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार प्रदान गरिएको उनले जनाएका छन्।
अमेरिकी सरकारको उक्त पुरस्कार नेपालले लगातार दोस्रोपटक जितेको हो। गतबर्ष तेजाब आक्रमणबाट घाइते भएकी मुस्कान खातुनले उक्त पुरस्कार जितेकी थिइन्।
प्रायजसो ठुलो व्यक्तिगत जोखिम र त्यागमा शान्ति, न्याय, मानव अधिकार, लैङ्गिक समानता, र महिला सशक्तीकरणको वकालत गर्ने असाधारण साहस र नेतृत्व प्रदर्शन गरेका विश्वभरका महिलाको सम्मान गरिरहेका महिलाहरुले आईडब्ल्यूओसी पुरस्कार पाउने गरेका छन्।
नेपालसमयसँग छोटकरीमा कुरा गर्दै भुमिका श्रेष्ठले भनिन्, ‘हाम्रो समुदायबाट यो पहिलो पुरस्कार पाउँदा म निकै खुसी छु, अझै शसक्त रुपमा लैंगिक समानताका लागि आवाज उठाउनका लागि प्रेरणा मिलेको छ।’