कोहलपुर- कोहलपुर नगरपालिकाले पक्की घर बनाइदिएपछि यहाँका अल्पसंख्यक गन्धर्व तथा विपन्न दलित परिवारमा खुसियाली छाएको छ। कोहलपुरको लोकनगरमा नगरपालिकाले बनाइदिएको घरमा बस्दै आएकी कल्पना गन्धर्वको जीवनभरिको सपना पूरा भएको बताएकी छन्।
‘नगरपालिकाले घर बनाइदिएकामा हामी अहिले धेरै खुसी छौं’, उनले भनिन्, ‘डुडुवा नालाले घरखेत सबै लगेपछि हाम्रो सम्पति केही थिएन,तर अहिले नगरपालिकाले घर दिएको छ।’ सामूहिक आवास कार्यक्रम अन्तर्गत कोहलपुर नगरपालिकामा रहेका घरबासविहीन अल्पसंख्यक गन्धर्व, वादी तथा विपन्न दलित समुदायको लागि २० घर निर्माण गरी हस्तान्तरण गरिएको नगर प्रमुख लुटबहादुर रावतले जानकारी दिए।
उनका अनुसार, सामूहिक आवास कार्यक्रम अन्तर्गत कोहलपुर –११ लोकनगरमा १७ घर गन्धर्व, दुई घर वादी र एक घर एकल अपाटङ्गता दलित महिला गरी २० जनालाई घर हस्तान्तरण गरिएको छ। नगर प्रमुख रावतले अल्पसंख्यक गन्धर्व र विपन्न दलित परिवालाई सधैँको लागि स्थायित्व प्रदान गर्नेगरी आवास हस्तान्तरण गरिएको बताए। गन्धर्व विपन्न दलित परिवारका लागि आयआर्जनको निम्ति पनि नगरपालिकाले कार्यक्रम कार्यान्वयन गर्ने तयारी गरेको उनको भनाइ छ।
नगरपालिकाले दुई करोडको लगानीमा २० भवन निर्माण गरेर अल्पसंख्यक गन्धर्व र विपन्न दलित परिवालाई हस्तान्तरण गरेको प्रमुख प्रशासकीय अधिकृत टीकाराम ढकालले बताए। शौचालयसहित निर्माण गरिएको यो सामूहिक आवस अन्य पालिकामा भन्दा नमूना काम भएको उनले दाबी गरे।