काठमाडौं- लमजुङको सुन्दरबजार नगरपालिका क्षेत्रमा निषेध आदेश जारी गरिएको छ। आज बिहान ६ बजेदेखि अनिश्चितकालका लागि निषेध आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी सुशील बैद्यले बताए।
सुन्दरबजार नगरपालिका ९ मा रहेको फ्युचरस्टार आवासीय विद्यालयमा कक्षा १० मा अध्ययनरत १८ वर्षीय छात्र सनिज श्रेष्ठको पौडी खेल्ने क्रममा मंगलबार मृत्यु भएको थियो।
मर्स्याङ्दी नदीमा पौडी खेल्ने क्रममा: श्रेष्ठको मृत्यु भएको र केही विद्यार्थीले आएर स्कुल क्षेत्रमा तोडफोड गरेकाले स्थितिलाई नियन्त्रण बाहिर जान नदिन निषेधाज्ञा जारी गर्नू परेको प्रजिअ बैद्यले बताए।
प्रहरीले माइकिङ गरेर निषेधाज्ञा गरिएको जानकारी गराएको छ। सुन्दरबजार नगरपालिका ७ पूर्वदक्षिणमा रहेको पाउदी पुल, पूर्वतर्फ राइनासबाट पाउदीतर्फ आउने मर्स्याङ्दी पुल, पश्चिमतर्फ सुन्दरबजार ९ मा रहेको मध्यमर्स्याङ्दी जलविद्युत् केन्द्रको आवास क्षेत्रको मुलगेट अगाडिको पक्की सडक र उत्तरतर्फ सुन्दरबजार ९ मा रहेको सिउडीबार चोकसमेत चार किल्ला भित्रको क्षेत्रमा स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ उपदफा ३ अनुसार निषेधाज्ञा जारी गरिएको सूचनामा उल्लेख छ।
'आन्दोलन चर्किने देखिएपछि निषेधाज्ञा जारी गर्नू परेको हो। यस अवधिमा सवारीसाधन चलाउन पाइने छैन। एक/दुई जना हिड्न मिले पनि समूह बनाएर हिड्न पाइने छैन,' बैद्यले भने।