बुधबार, असोज १४, २०८३

केन्द्रीय प्रसारण लाइनमा जोडिँदै डोल्पा

विद्युतीकरण नभएका कर्णालीको डोल्पामा केन्द्रीय प्रसारण लाइनको विस्तार कार्य द्रुतगतिले अगाडि बढेको हो।
 |  मंगलबार, फागुन २४, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन २४, २०७८

डोल्पा- डोल्पा पनि अब केन्द्रीय प्रसारण लाइनमा जोडिने भएको छ। विद्युतीकरण नभएका कर्णालीको डोल्पामा केन्द्रीय प्रसारण लाइनको विस्तार कार्य द्रुतगतिले अगाडि बढेको हो। चालु आर्थिक वर्षको असार महिनाभित्र डोल्पामा केन्द्रीय प्रसारण लाइन पु¥याउने लक्ष्य लिएको बताइएको छ। 

प्रसारण लाइन विस्तार गर्ने जिम्मेवारी लिएको सताग्री निर्माण सेवाले विगत ३ वर्षसम्म काम नगरेपछि विद्युत् प्रसारण लाइनको काम रोकिएको थियो। निर्माण व्यवसायीलाई छिटो काम गर्न अन्तिम अल्टिमेटम दिएको र काम नगरे विकल्पसमेत खोज्ने तयारी भएपछि डोल्पामा विद्युत् पुग्ने आशा पलाएको हो।

कर्णाली प्रदेशका जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले पटक पटक ताकेता गरेपछि नेपाल विद्युत् प्राधिकरणले असार मसान्तभित्र जसरी पनि डोल्पामा विद्युत् पुर्‍याउने योजनाका साथ काम भइरहेको प्राधिकरण कर्णाली प्रदेशका प्रमुख शम्भु यादवले बताए। 

सताग्री निर्माण सेवाले जाजरकोटको कुदु सव स्टेसनदेखि चौखा हुँदै डोल्पाको त्रिपुराकोटसम्म प्रसारण लाइन निर्माणको ठेक्का लिएको छ। जिम्मेवारी लिए पनि कुनै पनि ठाउँमा काम नगर्दा समस्या हुँदै आएको हो। डोल्पामा विद्युतीकरण गर्नका लागि चौखामा सबस्टेसन निर्माण कार्य जारी छ। हप्ता दिनभित्र डोल्पाको त्रिपुराकोटमा सब स्टेसन निर्माण गर्नका लागि बोलपत्र खोल्न थालेको प्रमुख यादवले बताए। 

असार मसान्तभित्र डोल्पा र मुगुमा बत्ती बाल्ने काम पूरा गरेरै छाड्ने उनले बताए। निर्माण व्यवसायीले काम नगरे प्राधिकरणले आफ्नै स्रोतबाट काम गरेर भए पनि डोल्पासम्म केन्द्रीय प्रसारण लाइनमा पुर्‍याउने लक्ष्य लिएको उनको भनाइ छ। 

स्थानीय जैरीगाड खोलाबाट उत्पादन गरिएको विद्युत्ले डोल्पाको सदरमुकाम दुनैलगायत विभिन्न ठाउँमा काम गदै आएकोमा पटक–पटक खराबी हुँदा स्थानीयवासी सास्ती भोग्दै आएको छ। सो समस्या समाधानका लागि मन्त्री गणेशप्रसाद सिंहको निर्देशनमा हप्ता दिनभित्र डोल्पाको सदरमुकाम दुनैलगायत आसपासका क्षेत्रमा विद्युत् सेवा सूचारु हुने भएको छ।

जैरीगाड विद्यत् उत्पादन गर्नका लागि खराबी भएको मेसिन बोलपत्र आह्वान गरेर खरिद गरेपछि हप्ता दिनभित्र डोल्पामा विद्युत् सेवा सुचारु हुने भएको हो। जैरीगाडमा एउटा मात्र मेसिनद्धार विद्युत् उत्पादन हुँदै आएकोमा अब एउटा थपेर दुई वटा मेसिनबाट विद्युत् उत्पादनको काम सुरु गर्न लागिएको मन्त्री सिंहले जानकारी दिए।

प्रकाशित: Mar 08, 2022| 19:33 मंगलबार, फागुन २४, २०७८
प्रतिक्रिया दिनुहोस्