काठमाडौं– चालू आर्थिक वर्षको पहिलो सात महिनामा नेपालको वैदेशिक व्यापार घाटा १० खर्ब नाघेको छ।
भन्सार विभागका अनुसार चालू आवको साउनदेखि माघ मसान्तसम्ममा नेपालले ११ खर्ब ४७ अर्ब ४६ करोड ४४ लाख ३६ हजार रुपैयाँको वस्तु आयात गरेको छ। सो अवधिमा निर्यात भने १ खर्ब ३१ अर्ब ६५ करोड ६० लाख ११ हजार रुपैयाँको मात्र भएको छ।
विभागको तथ्यांकअनुसार नेपालको सबैभन्दा बढी व्यापार घाटा भारतसँग छ। पछिल्लो सात महिनामा भारतसँग नेपालको व्यापार घाटा ५ खर्ब ८९ अर्ब ८८ करोड ६० लाख ६ हजार रुपैयाँ रहेको छ। यो अवधिमा भारतबाट नेपालमा ६ खर्ब ९६ अर्ब २४ करोड ४३ लाख ९४ हजार रुपैयाँको वस्तु भित्रिएको छ भने नेपालबाट भारततर्फ १ खर्ब ६ अर्ब ३५ करोड ८३ लाख ८७ हजार रुपैयाँको वस्तु निर्यात भएको छ।
बढी व्यापार घाटा हुनेमा भारतपछि क्रमशः चीन, इन्डोनेसिया, युनाइटेड अरब इमिरेट्स (यूएई), अर्जेन्टिना, अमेरिका, अष्ट्रेलिया, युक्रेन, मलेसिया र बंगलादेश छन्। चालू आवको पहिलो सात महिनामा चीनसँग व्यापार घाटा १ खर्ब ६४ अर्ब ७४ करोड ९८ लाख २८ हजार पुगेको छ। सो अवधिमा चीनबाट १ खर्ब ६५ अर्ब २३ करोड ७७ लाख ४३ हजार रुपैयाँको वस्तु आयात भएकोमा नेपालबाट चीनतर्फ ४८ करोड ७९ लाख १५ हजार रुपैयाँको वस्तु निर्यात भएको छ।
तेस्रो नम्बरमा रहेको इन्डोनेसियासँग नेपालको व्यापार घाटा ३५ अर्ब ३४ करोड ९७ लाख ८७ हजार रुपैयाँ पुगेको छ। इन्डोनेसियाबाट नेपालमा ३५ अर्ब ३७ करोड ४१ लाख ३९ हजार रुपैयाँको वस्तु आयात भएकोमा इन्डोनेसियातर्फ २ करोड ४३ लाख ५२ हजार रुपैयाँको मात्र निर्यात भएको छ।
नेपालले चौथो ठूलो व्यापार घाटा यूएईसँग बेहोरिरहेको छ। पछिल्लो सात महिनामा यूएईसँग नेपालको व्यापार घाटा ३१ अर्ब ४५ करोड ८५ लाख ३१ हजार रुपैयाँ पुगेको छ। यूएईबाट ३१ अर्ब ७४ करोड २७ लाख ९२ हजार रुपैयाँको वस्तु आयात भएकोमा निर्यात भने २८ करोड ४२ लाख ६१ हजार रुपैयाँको भएको छ।
त्यसैगरी अर्जेन्टिनासँग नेपालको व्यापार घाटा २८ अर्ब ८९ करोड ८ लाख ११ हजार रुपैयाँ पुगेको छ। आवको पहिलो सात महिनामा अर्जेन्टिनाबाट २८ अर्ब ८९ करोड २२ लाख १ हजार रुपैयाँको वस्तु आयात भएकोमा नेपालबाट अर्जेन्टिनातर्फबाट १३ लाख ९० हजार रुपैयाँको मात्र निर्यात भएको छ।
अमेरिकासँग भने पछिल्लो सात महिनामा २० अर्ब ११ करोड ६४ लाख १६ हजार रुपैयाँ व्यापार घाटा छ। सो अवधिमा अमेरिकाबाट नेपालमा ३० अर्ब ३ करोड २१ लाख ६० हजार रुपैयाँको वस्तु भित्रिएकोमा नेपालबाट ९ अर्ब ९१ करोड ५७ लाख ४४ हजार रुपैयाँको निर्यात भएको छ।
अष्ट्रेलियासँग पछिल्लो सात महिनामा नेपालको व्यापार घाटा १५ अर्ब ६४ करोड ३४ लाख ६१ हजार रुपैयाँ पुगेको छ। सो अवधिमा अष्ट्रेलियाबाट १६ अर्ब २८ करोड ६९ लाख ६८ हजार रुपैयाँको वस्तु भित्रिएकोमा नेपालबाट ६४ करोड ३५ लाख ७ हजार रुपैयाँको वस्तु निर्यात भएको छ।
नेपालको आठौं ठूलो व्यापार घाटा युक्रेनसँग रहेको छ। आवको पहिलो सात महिनामा युक्रेनसँग व्यापार घाटा १४ अर्ब ४२ करोड १७ लाख ८३ हजार रुपैयाँ पुगेको छ। सो अवधिमा नेपालले युक्रेनबाट १४ अर्ब ४२ करोड ३३ लाख ६१ हजार रुपैयाँको वस्तु आयात गरेकोमा नेपालले भने १५ लाख ७८ हजार रुपैयाँको मात्र निर्यात गरेको छ।
नेपालको नवौं ठूलो व्यापार घाटा हुने राष्ट्र मलेसिया हो। मलेसियासँग पछिल्लो सात महिनामा व्यापार घाटा ११ अर्ब ५० करोड ५८ लाख १९ हजार रुपैयाँ पुगेको छ। सो अवधिमा मलेसियाबाट ११ अर्ब ५६ करोड ७३ लाख ३५ हजार रुपैयाँको वस्तु नेपाल भित्रिएकोमा नेपालबाट ६ करोड १५ लाख १६ हजार रुपैयाँको मात्र मलेसिया निर्यात भएको छ।
१०औं ठूलो व्यापार घाटा भने बंगलादेशसँग रहेको छ। गत साउनदेखि माघसम्म बंगलादेशसँग नेपालको व्यापार घाटा ७ अर्ब ४२ करोड ३० लाख ९० हजार रुपैयाँ छ। सो अवधिमा बंगलादेशबाट नेपालमा ७ अर्ब ८५ करोड ६० लाख २८ हजार रुपैयाँको वस्तु आयात भएकेमा नेपालबाट बंगलादेशतर्फ ४३ करोड २९ लाख ३८ हजार रुपैयाँको निर्यात भएको छ।
अर्थतन्त्रको बिग्रिँदो अवस्थाबारे प्रधानमन्त्रीको चासो
यसैबीच, प्रधानमन्त्री शेरबहादुर देउवाले अर्थतन्त्रको बिग्रिँदो अवस्थाबारे चासो लिएका छन्। सरोकारवाला निकायका नेतृत्वलाई सोमबार बोलाएर अर्थतन्त्रको विद्यमान अवस्था, कारण र समाधानका उपायलगायत विषयमा उनले छलफल गरेका छन् ।
प्रधानमन्त्री देउवालाई अर्थतन्त्रको समसामयिक विषयमा अर्थमन्त्री जनार्दन शर्मा, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्व पौडेल, राष््टर बैंकका गभर्नर महाप्रसाद अधिकारी, अर्थसचिव मधुकुमार मरासिनी, उद्योग सचिव अर्जुनप्रसाद पोखरेल र वाणिज्य सचिव गणेशप्रसाद पाण्डेलगायतले ब्रिफिङ गरेका थिए। त्यसपछि प्रधानमन्त्री देउवाले विद्यमान समस्या समाधानका लागि केकस्तो नीतिगत व्यवस्था गर्न सकिन्छ गर्न निर्देशन दिएको प्रमको सचिवालयले जानकारी दिएको छ।
बैंकिङ प्रणालीबाट आउने रेमिट्यान्समा सुधार ल्याउन, विदेशी मुद्रा सञ्चिति बढाउन, शोधनान्तर घाटा कम गर्नेलगायत विषयमा तत्काल काम गर्न प्रधानमन्त्रीले निर्देशन दिएको बताइएको छ।
फराकिलो बन्दै गएको शोधनान्तर घाटा र तीव्र रुपमा घटिरहेको विदेशी मुद्रा सञ्चितिको अवस्थालाई थप बिग्रन नदिन राष्ट्र बैंकले गत आइतबार सुन आयातको कोटा घटाएर दैनिक १० किलोमा झारेको छ। यसअघि सुन आयातको दैनिक कोटा २० किलो थियो। भन्सार विभागका अनुसार चालू आर्थिक वर्षको पहिलो ७ महिनामा २७ अर्ब ६२ करोड ८३ लाख रुपैयाँबराबरको सुन आयात भएको छ ।