काठमाडौं– सरकारले चालू आर्थिक वर्षको पहिलो ७ महिनामा १६ अर्ब रुपैयाँभन्दा बढी रकमान्तर, स्रोतान्तर र थप निकासा गरेको छ।
अर्थ मन्त्रालयका अनुसार साउनदेखि माघ मसान्तसम्ममा १६ अर्ब ५ करोड ७६ लाख रुपैयाँ बजेट शीर्षकभन्दा बाहिरबाट खर्च भएको हो।
पछिल्लो दुई महिना पुस र माघमा मात्रै साढे दुई अर्ब ५५ करोड रकमान्तर, स्रोतान्तर र थप निकासा भएको छ। सात महिनामा शीर्षकभन्दा बाहिर भएको खर्च यही अवधिमा सरकारले गरेको पुँजीगत खर्चको एक चौथाइबराबर हो।
माघ मसान्तसम्ममा सरकारले करिब ६० अर्ब रुपैयाँमात्र पुँजीगत खर्च गरेको छ। सरकारले बजेट बाहिरबाट खर्च गरेको अधिकांश रकम भौतिक सुविधा, आर्थिक सहायता र भैपरी आउने खर्चको रुपमा चालू शीर्षकबाट लगिएको छ।
आर्थिक वर्ष शुरु भएको पहिलो त्रैमासिक अवधिमा रकमान्तर, स्रोतान्तर र थप निकासा गर्न नपाउने व्यवस्था भए पनि सरकारले त्यो अवधिमा समेत रातो किताब बाहिरबाट खर्च गरेको छ।