त्रिशूली- नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशरण महतले विकासका पूर्वाधार तथा समृद्धिका आधार भनेकै सिँचाइ कुलो र खानेपानीका धारा भएको बताएका छन्।
नुवाकोटको शिवपुरी गाउँपालिका–८ स्थित ‘ठूलोछहरे सानोछहरे कुलो (नहर)’ सोमवार उद्घाटन गर्दै उनले ठूलो योजनाको निर्माणको थालनी नै साना संरचनामार्फत हुने हुँदा देश विकासका लागि गाउँगाउँमा आवश्यक संरचनाको निर्माणमा सरकारले जोड दिनुपर्ने सुझाव दिए।
‘आफू सिँचाइ कुलो उद्घाटनका लागि मात्रै आएको होइन,’ पूर्व मन्त्री डा. महत भने, ‘संरचना निर्माणको अवस्था, आगामी दिनमा गर्नुपर्ने सम्बोधन तथा किसानका गुनासो सुन्न अवसर मिलाएको हुँ, त्यसका लागि के गर्नुपर्छ तयार छु।’
नुवाकोटका नेता भए पनि केन्द्रीय राजनीतिमा व्यस्त रहेका उनले पार्टीले जिम्मेवारी दिएकाले नै काठमाडौंबाट चुनाव उठेको उल्लेख गर्दै अबका दिन नुवाकोटलाई नै कार्यथलो बनाउने उद्घोष गरे। ‘पार्टीले खटाएअनुसार राजधानी काठमाडौंबाट चुनावमा सहभागिता जनाए पनि विकासका मोडेल गाउँगाउँमा बनाउनुपर्छ, त्यसका लागि म जन्मेको नुवाकोटलाई मुख्य केन्द्रमा राखेर राजनीतिमार्फत देशभर नै सेवा गर्न अगाडि बढ्छु,’ उनले भने।