नेपालगन्ज- नेपालगन्जको राँझा चोकमा मोटरसाइकलले ठक्कर दिँदा ट्राफिक जाँचमा खटिएका प्रहरी हवल्दारको मृत्यु भएको छ। दुर्घटनामा दुईजना घाइते भएका छन्।
नेपालगन्जबाट कोहलपुरतर्फ जाँदै गरेको भे१०प ४७५७ नम्बरको मोटरसाइकलले गए राति नेपालगन्ज उपमहानगरपालिका-२०, राँझा चोकमा ड्युटीमा खटिएका प्रहरी हवल्दार भूपेन्द्रबहादुर शाही र प्रहरीजवान नरेशकुमार चौधरीलाई ठक्कर दिएको थियो।
मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका अस्थायी प्रहरी पोस्ट राँझा बिटमा कार्यरत शाहीको शिक्षण अस्पताल नेपालगन्जमा उपचारका क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक हिमालय शाहले जानकारी दिए।
उनका अनुसार बर्दियाको बाँसगढी नगरपालिका-६ निवासी शाहीको उपचारका क्रममा गए राति मृत्यु भएको थियो। प्रहरी जवान चौधरी र मोटरसाइकल चालकको अवस्था सामान्य रहेको छ।
मोटरसाइकल चालक बर्दियाको गेरुवा गाउँपालिका निवासी २४ वर्षीय सन्तोष बम ठकुरीलाई जिल्ला प्रहरी कार्यालयमा बुझाइएको प्रहरी निरीक्षक शाहले बताए।