बुटवल– लता खड्का पेशाले शिक्षिका हुन्। समाजमा केहि न केहि नयाँ काम गर्ने सोचमा थिइन् उनी। रुपन्देहीको सैनामैना पर्रोशा परमेश्वर नमूना माविमा कक्षा ११ र १२ मा पढाउँछिन्। पाल्पाको बल्डेङगढी गहतेमा जन्मिएकी लताले २०५२ सालमा रुपन्देहीको सैनामैनास्थित रामापुर माविबाट एसएलसी गरिन्।
त्यसैले उनको साइनो सम्बन्ध सैनामैनासँग निकट छ। ग्रामिण परिवेश भएकाले त्यहि सैनामैना क्षेत्रमै शिक्षामा केहि काम गर्ने अठोट राखेकी थिइन्। विगत १३ वर्षदेखि सैनामैना क्षेत्रका विभिन्न विद्यालय र क्याम्पसमा अध्यापन गराउँदै किशोरी र महिलाहरुलाई उत्प्रेरित गर्ने काम गरिन् उनले।
विवाहपछि बुुटवल गोलपार्कमा बसाइ भए पनि सैनामैनास्थित विद्यालयमा बिहान ६ बजे पुगिसक्छिन् लता। एक प्रकारले सैनामैना र शिक्षासँग लत बसेको थियो उनको। महिलामाथि हुने हिंसा, असमानता, सामाजिक विभेद जस्ता विषयले त्यतिकै घोच्थ्यो। करिव डेढ वर्ष अघिदेखि मेची–महाकाली संयुक्त आवाजमा आबद्ध भइन्।
देशभरिका बुहारीहरुलाई शिक्षा, सामाजिक काम र हिंसाविरुद्ध सशक्त आवाज उठाउन यो अभियानमा जोडिएका छन्। खड्का मेची–महाकाली संयुक्त बुहारी आवाज लुुम्बिनीको संयोजक हुुन्। यो अभियानमा जोडिएपछि लतालाई उर्जा थप्यो। १३ वर्षदेखि शिक्षण पेशामा रहेको अनुुभव र हिंसा विरुद्ध प्रतिकार गर्न शिक्षा नै आवश्यक भएको निचोडपछि लताकै अग्रसरतामा सैनामैनामा खुल्यो, महिला विद्यालय।
त्यसो त उनी यसअघि बुटवलमा स्थापना भएको साधना महिला विद्यालयको स्थापनाकर्ता मध्येकी एक हुन्। बुटवलमा आमाहरुले एसएसली उतीर्ण गरेर अक्षरसँगै रोजगारीमा समेत आफूलाई अब्बल बनाएको उदाहरण देखिसकेकी थिइन्। तर, सैनामैनामा यस्तै विद्यालय कसरी स्थापना गर्ने भन्ने अन्योलमा थिइन्। यहि शिलशिलामा लताले गाउँमा कति आमाहरु पढन इच्छुक छन् त भनेर एउटा फारम बनाएर वितरण गरिन्। त्यसपछि लताको सोचले गती लियो।
‘महिलाहरु शिक्षाकै कमीका कारण हिंसामा परेका छन्, त्यति मात्रै होइन शिक्षाको कमी हुँदा प्रतिकार गर्न नसकेको मेलै कयौं घटनामा देखेको थिएँ,’ लता भन्छिन्, ‘त्यसैले अक्षर नचिनेका आमाहरुका लागि महिला विद्यालय स्थापना भयो।’
लतालाई श्रीमान जितेन्द्र खत्री, सासूूससुुरा र वुवाआमाले पनि उर्जा दिइरहेका छन्। त्योसँगै उनको प्रस्तावलाई सैनामैना नगरपालिकाले पनि साथ दिएपछि महिला विद्यालय स्थापनाले मूूर्त रुप पाएको हो। सैनामैना नगरपालिकाका नगर प्रमुख चित्रबहादुर कार्कीले सहर्ष स्विकार गरेर निष्कृय रहेको सिकाइ केन्द्र मार्फत महिला विद्यालय स्थापना गर्ने वातावरण मिलाएको सिकाइ केन्द्रकी अध्यक्ष खड्काले बताइन्।
सैनामैनास्थित विद्यालयमा बिहान ६ बजे पुगिसक्छिन् लता। एक प्रकारले सैनामैना र शिक्षासँग लत बसेको थियो उनको। महिलामाथि हुने हिंसा, असमानता, सामाजिक विभेद जस्ता विषयले त्यतिकै घोच्थ्यो।
नगरपालिकाको सहयोगमा गोरखनाथ सामुदायिक सिकाइ केन्द्रलाई साउनदेखि आधारभूत तहसम्म पढाइ हुने महिला विद्यालयका रुपमा स्थापना गरेको छ। लता खड्का नेतृत्वको मेची–महाकाली बुहारी संयुक्त आवाजले विद्यालय व्यवस्थापन गरेको छ। अहिले विद्यालयमा अहिले ३५ जना महिला अध्ययनरत छन्। एक जना सिकाइ केन्द्र परिचालिका र एक जना शिक्षकको व्यवस्था नगरपालिकाले गरेको छ।
विद्यालयमा बिहान ११ देखि दिउँसो ३ बजेसम्म पढाइ हुन्छ। अन्य दिन विद्यालयको पाठ्यक्रम अनुसार पढाइन्छ। हप्ताको एक दिन शुक्रबार व्यवहारिक शिक्षा, नेतृत्व विकास तथा अन्य विभिन्न व्यवहारिक ज्ञानबारे जानकारी गराउने गरेको विद्यालयका अध्यक्ष समेत रहेकी खड्काले बताइन्। अक्षर नचिन्ने र अक्षर चिनिसकेका गरी दुुई समूहमा विभाजन गरेर कक्षा सञ्चालन गरिएको छ। ‘कापी किताब समेत निःशुल्क रुपमा दिएका छौं,’ सिकाइ केन्द्रका अध्यक्ष खड्काले भनिन्।
पहिल्यै स्थापना भएर निष्कृय रहेको सामुदायिक सिकाइ केन्द्रलाई नै महिला विद्यालयका रुपमा रुपान्तरण गरिएको हो। विद्यालय मर्ज भएपछि खाली रहेको गोरखनाथ आधारभूूत विद्यालयको भवन महिला विद्यालयले प्रयोग गरेको छ। तर, विद्यालय जान टाढा भएकाले हाल अस्थायी रुपमा रामापुर क्याम्पसमा कक्षा सञ्चालन गरिएको विद्यालयले जनाएको छ।
सैनामैना नगर प्रमुख चित्रबहादुर कार्कीले व्यवहारमै पूर्ण साक्षर नगर बनाउने लक्ष्य रहेको भन्दै औपचारिक रुपमा विद्यालय पढ्न नपाएका किशोरी तथा महिलाहरूलाई समेत विद्यालयको पहुँचमा ल्याउन विद्यालयको स्थापना गरेको बताए। महिलाहरू कक्षा उत्तीर्ण हुँदै नयाँ कक्षामा जाँदा विद्यालयलाई मावि तहसम्म पुर्याइने लक्ष्य रहेकाले पढ्न इच्छुक महिलाहरुलाई बिद्यालय जान आग्रह समेत गरे।
गोरखनाथ सिकाइ केन्द्रद्वारा सञ्चालित महिला विद्यालयमा आमाहरुको आकर्षण बढ्न थालेको छ। मनमा पढ्ने रहर भएर पनि मेसो मिलेको थिएन। महिला विद्यालय खुलेपछि आफूहरुलाई सिक्ने धेरै सहज भएको बताउँछिन् मानकुमारी थापा काला मगर। ६ छोराछोरीकी आमा मानकुुमारी अहिले घरधन्दा सकाएर विद्यालय पढ्न जान हतारिन्छन्। ‘छोराले नातिनी र मलाई एउटै किताब ल्याइदिएको छ, नातिनीसँग कखरा सिकेकी छु,’ उनले भनिन्। सानोमा पढ्न नपाए पनि अहिले महिला विद्यालयमा पढ्न पाउँदा निकै खुुशी लागेको उनले बताइन्। गाउँमै महिला विद्यालय खुलेपछि पढ्ने रहर भएका धेरै आमाहरू विद्यालय जान थालेका छन्।