काठमाडौं- सञ्चित बचत शून्यमा झरेपछि नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको खरिदका लागि मूल्य स्थिरिकरण कोषको रकम उपलब्ध गराउने भएको छ। मूल्य स्थिरीकरण कोषको सोमबार बसेको बैठकले निगमले इन्डियन आयल कर्पोरेसनलाई भुक्तानी गर्नुपर्ने पहिलो किस्ता बापतका नपुग ४ अर्ब २५ करोड उपलब्ध गराउने निर्णय गरेको हो।
गत बिहीबार पेट्रोलियम पदार्थको मूल्य समायोजनपश्चात् पनि १५ दिनमा करिब दुई अर्ब ५० करोड घाटा रहेको निगमले जनाएको छ। पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य आकासिएपछि निगमको खरिद मूल्य बढेर घाटा बढ्दै गएको छ।
निगमले आइओसीलाई मार्च महिनामा बुझाउनुपर्ने पहिलो किस्ता बापतको रकम अपुग भएपछि मूल्य स्थिरीकरण कोषबाट नपुग रकम उपलब्ध गराउन माग गरेको थियो। निगमले प्रत्येक महिनाको आठ र २३ तारिखका दिन आइओसीलाई किस्ता बुझाउँदै आएको छ।
यसअघि स्थिरीकरण कोषबाट गत जनवरी महिनामा निगमलाई रु एक अर्ब ८० करोड उपलब्ध गराइएको थियो। निगमलाई रकम उपलब्ध गराउने सरकारको निर्णयबाट पेट्रोलियम पदार्थको आपूर्तिलाई सहज बनाइराख्न मद्दत पुग्ने प्रवक्ता विनितमणि उपाध्यायले बताए।
पछिल्ला दिनमा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढिरहेकाले आइओसीलाई भुक्तानी गर्नुपर्ने रकम अझ धेरै नै नपुग हुने स्थिति देखिएको निगमले जनाएको छ। विश्व बजारमा अहिले कच्चा तेलको मूल्य प्रतिव्यारेल १२० डलर नाघेको छ।