काठमाडौं– ललितपुर जिल्लाको कोञ्जोस्योम गाउँपालिका–४ नल्लुमा एकै परिवारका पाँच जनाको मृत्यु भएको छ।
आइतबार राति खाना खाएर सुतेका ६ जनामध्ये सोमबार बिहान ४ जना मृत भेटिएका थिए भने दुईजना बिरामी अवस्थामा थिए। बिरामीलाई अस्पताल लगिएकोमा एक जनाको मृत्यु भएको ललितपुर प्रहरीले जनाएको छ।
मृत्यु हुनेमा ५५ वर्षकी काइँली स्याङ्तान, २२ वर्षीया सुष्मा स्याङ्तान, ९ वर्षीय आशिष स्याङ्तान र ५ वर्षीया आशमा स्याङ्तान छन्।
उपचारका क्रममा २ दिने नवजात शिशुको पनि मृत्यु भएको प्रहरीले जनाएको छ। २३ वर्षीय सुभाष स्याङ्तानको पाटन अस्पतालमा उपचार भइरहेको छ।
प्रहरीका अनुसार आज बिहान साढे आठ बजेतिर कोञ्जोस्योम–४ का वडाध्यक्ष तीर्थ घलानले केही व्यक्तिको मृत्यु भएको र केही घाइते भएको भन्दै प्रहरीमा जानकारी गराएका थिए।
लगत्तै इलाका प्रहरी कार्यालय कोञ्जोस्योमबाट प्रहरी निरीक्षकको टोली, प्रहरी वृत्त चापागाउँबाट डीएसपीको टोली र प्रहरी परिसर ललितपुरबाट एसपीको टोली चिकित्सकसहित घटनास्थलमा खटिएको थियो।
घटनास्थलमा आगो बालेको कोइला भेटिनुका साथै बान्ता गरेको पाइएको प्रहरीले बताएको छ।