काठमाडौं- युवा मानवअधिकारकर्मी गणेशप्रसाद घिमिरेलाई गान्धी नोबेल पिस अवार्ड–२०२२ प्रदान गरिने भएको छ। मानवअधिकार, शान्ति, सामाजिक र राजनीतिक रुपान्तरणमा विशिष्ट योगदान पुर्याएबापत घिमिरेलाई अवार्ड प्रदान गर्न लागिएको गान्धी पिस फाउन्डेसन नेपालले जानकारी दिएको हो।
आगामी जुन ३ मा बेलायतको लन्डनमा आयोजना गरिने कार्यक्रममा घिमिरेलाई अवार्ड प्रदान गरिनेछ। विश्वभरका १०४ जना मानवअधिकारकर्मीलाई दिइने अवार्डमा नेपालबाट घिमिरे छनोट भएको फाउन्डेसन नेपालका अध्यक्ष डा. लालबहादुर रानाले जानकारी दिए।
अधिवक्ता घिमिरे दुई दशकदेखि मानवअधिकार तथा सामाजिक न्याय र सञ्चार क्षेत्रमा सक्रिय छन्। एम्नेस्टी इन्टरनेसनल नेपालको आप्रवासी श्रमिकसम्बन्धी राष्ट्रिय कार्य समूहका संयोजक रहेका घिमिरे गैरसरकारी संस्था मिडिया एक्सन नेपालको कार्यसमिति सदस्य हुन्।
मानवअधिकार र कानुन विषयमा प्राध्यापनमा समेत उनी संलग्न छन्। घिमिरेका अभिव्यक्ति स्वतन्त्रता, मानवअधिकार तथा सामाजिक न्याय, मिडिया विकास, सूचना तथा सञ्चार क्षेत्रमा अनुसन्धानमूलक लेखरचना विभिन्न जर्नलमा प्रकाशित छन्।