काठमाडौं- सहकारी संस्थाहरुले आफ्नो पहिचानसहितको एटीएम कार्ड जारी गर्न सक्ने भएका छन्। बैंक तथा वित्तीय संस्थाले मात्रै आफ्नो पहिचानसहितको एटिएम कार्ड जारी गर्दै आएकोमा अबदेखि सहकारी संस्थाले पनि जारी गर्न सक्ने भएका हुन्।
आइतबार स्मार्ट-च्वाइस टेक्नोलोजिज, राष्ट्रिय सहकारी बैंक र ग्लोबल आइएमई बैंकबीच सम्झौताले सहकारीलाई कुप कार्ड जारी गर्ने सम्बन्धमा बाटो खोलेको हो। सम्झौतापत्रमा स्मार्ट-च्वाइस टेक्नोलोजिजका प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु, राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रिकुमार गुरागाईं र ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले हस्ताक्षर गरे।
सम्झौता अनुसार अबदेखि सबै सहकारीले राष्ट्रिय सहकारी बैंकमा सम्पर्क गरी कुप कार्ड जारी गर्न सक्नेछन्। सहकारीले आफ्नो सदस्यलाई कुप कार्डको वितरण गरेपछि सहकारीमा आबद्ध सदस्यहरूले आफ्नो सहकारीको खाताबाट एटीएममार्फत् रकम निकाल्न सक्नेछन्। यस्तै, पिओएसको माध्यमबाट पनि सेवा वा वस्तु खरिद गर्न सकिने बताइएको छ। कुप कार्ड ग्लोबल आइएई बैंकको प्रायोजनमा राष्ट्रिय सहकारी बैंकमार्फत् सहकारीले जारी गर्नेछन्।
सम्झौतापछि समग्र सहकारी क्षेत्रको भुक्तानी प्रणाली र विद्युतीय कारोबारमा पहुँच बढ्ने र साधारण बैंकिङ कारोबारका लागि बैंक गइरहनुपर्ने बाध्यता हट्ने विश्वास लिइएको छ। यसअघि एक सयभन्दा बढी सहकारीले आफ्ना सदस्यलाई कार्ड सेवा उपलब्ध गराउँदै आएका छन्।