बुधबार, असोज १४, २०८३

रुस-युक्रेन युद्धको असर : आकासियो खाने तेलको मूल्य

रुस र युक्रेन तनावले नेपालमा खाने तेलको मूल्य बढेको छ। स्थानीय बजारमा विशेष गरेर सूर्यमुखी र भटमासको तेलको मूल्य पछिल्लो एक सातामा आकासिएको हो।
 |  आइतबार, फागुन २२, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २२, २०७८

काठमाडौं- रुस र युक्रेन तनावले नेपालमा खाने तेलको मूल्य बढेको छ। स्थानीय बजारमा विशेष गरेर सूर्यमुखी र भटमासको तेलको मूल्य पछिल्लो एक सातामा आकासिएको हो। 

अन्तर्राष्ट्रिय बजारमा तेलका लागि आवश्यक कच्चा पदार्थको मूल्य बढेकाले नेपालमा पनि मूल्य बढेको व्यवसायीहरूले बताएका छन्। नेपाल खुद्रा व्यापार संघका पूर्वअध्यक्ष पवित्रकुमार बज्रचार्यले रुस-युक्रेन युद्धको असरले खाने तेलको कच्चा पदार्थ आपूर्तिमा अवरोध हुँदा अभाव भएकोले मूल्य बढेको बताए। 

'दैनिक रुपमा प्रयोग हुने खाने तेल त्यसमा पनि सन्फ्लावर तेल प्रतिलिटर २ सय ४० मा खुद्रा बिक्री हुँदै आएकोमा हाल २ सय ८० रुपैयाँसम्म पुगेको छ। सोयाबिन (भटमास) तेल प्रतिलिटर २ सय ३० मा बिक्री हुँदै आएकोमा २ सय ७० रुपैयाँसम्म पुगेको छ,' वज्राचार्यले भने, 'रुसले युक्रेनमाथि आक्रमण गर्नुपूर्व नै दाल, चामल लगायत सबै खाद्यान्नको १० प्रतिशतको दरले मूल्यवद्धि भइ सकेको थियो। तर सरकारले अनुगमनमा चासो दिएन।' 

वज्राचार्यले हाल खाने तेललगायत खाद्यान्नमा भएको मूल्यवृद्धिको समस्या समाधान गर्न सरकारका निकायले छलफल अगाडि बढाउन आवश्यक रहेको पनि औंल्याए। हालको अवस्थालाई सहज बनाउन व्यापारी, उद्योगी, व्यवसायीलगायत सबै सम्बन्धित निकायसँग तत्काल छलफल अगाडि नबढाए मूल्य थप चुलिँदै जाने उल्लेख गरे। 

रुसले युक्रेनमाथि आक्रमण गरेसँगै बजारमा खाने तेल अभाव हुने भन्दै व्यापारीहरुले बजारमा कृत्रिम अभाव सृजना गराएको, मूल्यवृद्धि गरेको उपभोक्ताको आरोप छ। नेपालले युक्रेन, रुस र अर्जेन्टिनाबाट कच्चा तेल आयात गरी रिफाइन गरेर नेपाली बजार र भारतमा निर्यात गर्दै आएको छ। 

भन्सार विभागको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको पहिलो ७ महिनामा युक्रेनबाट ९ अर्ब ५१ करोड ६३ लाख रुपैयाँको कच्चा तेल आयात भएको छ। यस्तै रसियाबाट २ अर्ब ५८ करोड ७५ लाख  र अर्जेन्टिनाबाट २६ करोड ५१ लाख रुपैयाँ बराबरको आयात भएको छ।

प्रकाशित: Mar 06, 2022| 19:17 आइतबार, फागुन २२, २०७८
प्रतिक्रिया दिनुहोस्