वीरेन्द्रनगर- शुक्रबार राती कालीकोट नाग्म बजारका युवा व्यापारी ३२ वर्षीय मिनी हमाल सुर्खेत जाँदै थिए। भे १ क ९२२ नम्बरको मिनी ट्रकमा आफैँ चलाएर रातको समयमा उनी नेपालगञ्जबाट सुर्खेततर्फ लागेका थिए। नेपालगञ्ज-सुर्खेतको बाटोमा पर्छ, सुब्बाकुना। राती ११ तिरको समयमा सुब्बाकुनामा प्रहरीले उनका कागजपत्र जाँचका लागि माग गर्यो।
सहचालकसहित गएका उनले लाइसेन्स देखाउन सकेनन्। प्रहरीको दाबीअनुसार उनले मादक पदार्थ पनि सेवन गरेका थिए। यसपछि प्रहरीले मिनीट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। प्रहरीको दाबी अनुसार चालक हमाल र सहचालक पनि रातभर गाडीमा नै सुतेका थिए।
शनिबार गाडीका साहुले सबै कागजपत्र लिएर पुगेको प्रहरीको भनाइ छ। शनिबार बिहान साढे १० तिर चालक हमाललाई जिल्ला अस्पताल सुर्खेत पुर्याएको थियो। सुर्खेत अस्पतालले चालक हमालको मृत्यु भएको घोषणा गरेको थियो। घटनाबारे विज्ञप्ति जारी गर्दै मृत्यु भइसकेको अवस्थामा हमाललाई अस्पताल ल्याइएको बताएको छ।
यो विषय विस्तारै मृतकका आफन्तसम्म पुग्यो। आफन्त र स्थायीय आक्रोशित बने। दिँउसो १ बजेबाट सुर्खेतको वीरेन्द्रनगर बजारमा आन्दोलन उत्रियो। आक्रोशित भीडले प्रहरीका बिटमा क्षति पुर्याउन थाल्यो। सुर्खेत तनावपूर्ण बन्यो। मृतकको शवमा नील डाम देखिएको भन्दै प्रहरीले निर्घात कुटेको स्थानीय र आफन्तको आरोप थियो।
शनिबार बिहान मात्र उनीहरूको स्वास्थ्य परीक्षणका जिल्ला अस्पताल लैजाँदा अस्पतालमा नै हमालको मृत्यु भएको प्रहरीले दाबी गरेको छ।
छानबिन समिति गठन
युवाको मृत्युको घटनाका सम्बन्धमा छानबिन गर्न जिल्ला प्रशासन कार्यालयले पीडित पक्षको सहमतिमा छानबिन समिति बनाएको छ। प्रमुख जिल्ला अधिकारी रिजालले ईश्वरीप्रसाद पाण्डेको संयोजकत्वमा छानबिन समिति गठबन गरिएको जानकारी दिए।
समितिमा जिल्ला प्रहरी कार्यालयका डीएसपी, राष्ट्रिय अनुसन्धानका प्रहरी निरीक्षक, उच्च अदालत सुर्खेत नेपाल बार एसोसिएसनका प्रतिनिधि सदस्य छन्। समितिमा अध्ययन गरी प्रतिवेदन पेस गर्नका लागि तीन दिनको म्याद पाएको छ। छानबिन समिति बनाइएकाले उक्त समितिको प्रतिवेदनपछि थप विषय खुल्ने उनको भनाइ छ।
यसअघि गत सोमबार दिनभर पनि वीरेन्द्र नगर बजार तनावपूर्ण बनेको थियो। संसदबाट एमसीसी सम्झौता अनुमोदन गरिएको विरोधमा भएको प्रदर्शन नियन्त्रणबाहिर पुगेपछि प्रमुख जिल्ला अधिकारीले सोमबार साँझ ८ बजेदेखि मंगलबार साँझ ७ बजेसम्म कर्फ्यु आदेश जारी गरेका थिए।