काठमाडौं- काठमाडौं महानगरपालिकाले महानगरपालिका भित्र सम्पदा पुनर्निर्माणको काम कहीँ छुटेको भए जानकारी गराउन अपिल गरेको छ।
काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले प्रायः सबै सम्पदाहरुको पुनर्निर्माणको काम भईसकेको दाबी गर्दै कहीँ छुटेको भए जानकारी गराउन महानगरबासीलाई अपिल गरेका हुन्। शनिबार काठमाडौंको क्षेत्रपाटीमा निर्माण गरिएको धर्मकीर्ति विहारको विस्तारित भवनको उद्घाटनपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले काठमाडौं महानगरपालिका बाहिरका सम्पदाहरुको पुनर्निर्माणमा पनि काठमाडौं महानगरपालिकाले सहयोग गरेको बताए।
'चुनावमा गरेको प्रतिबद्धता अनुसार नै सम्पदाहरुको पुनर्निर्माणको कामले गति लिएको छ,' मेयर शाक्यको दाबी छ। महानगरपालिकाले पुरातात्विक महत्वका सम्पदाको पुनर्निर्माणको कामलाई अघि बढाउने गरी स्पष्ट नीति लिएको र सोही अनुसार काम भइरहेको मेयर शाक्यको भनाइ थियो।
मेयर शाक्यले काठमाडौं महानगरपालिकाले 'नगर टू नगर' साझेदारी कार्यक्रम अन्तर्गत अन्य नगरपालिकाहरुको सम्पदा निर्माणमा पनि सहयोग गरिरहेको बताए।