आइतबार, जेठ ६, २०८१

यसरी सफल भयो छाती नचिरी मुटुको भल्भ परिवर्तन

पहिलो अपरेसनमा झण्डै दुइ दर्जन स्वास्थ्यकर्मीको संलग्नता थियो। सो टोलीलाई नेतृत्व गरेका थिए अस्पतालका निर्देशक डा. चन्द्रमणि अधिकारीले।
 |  शनिबार, फागुन २१, २०७८

ज्योति अधिकारी

ज्योति अधिकारी

शनिबार, फागुन २१, २०७८

काठमाडौं– सहिद गंगालाल हृदय रोग केन्द्रले नेपालमा नै पहिलोपटक शल्यक्रिया नगरी मुटुको भल्भ प्रत्यारोपण गरेकोे छ। ‘ट्रान्सक्याथेटर इरोटिक भल्भ इम्प्लिमेन्टेसन (टिएभीआई)’ विधिबाट ८० वर्षीया महिलाको सफलतापूर्वक भल्भ फेरिएको हो।

triton college

मुटुबाट निस्कने मुख्य धमनीमा रहेको एओर्टिक भल्भ साँघुरिने रोगलाई एओर्टिक स्टेनोसिस भनिन्छ। उमेर बढ्दै जाँदा मुटुको भल्भमा क्याल्सियम जम्मा हुन्छ र क्याल्सियम जम्मा भएपछि विस्तारै चल्न छोड्छ अनि भल्भ साँघुरिन थाल्छ।  सोही रोगको उपचारका लागि नयाँ विधिबाट सफल उपचार गरिएको हो। यो उपचार पद्धतिमा तिघ्राको धमनी फिमोरल आर्टरीबाट एक विशेष किसिमबाट निर्मित तार अर्थात क्याथरेटरद्वारा मानव निर्मित भल्भ मुटुभित्र छिराएर रोग भएको एओर्टिक भल्भको स्थानमा प्रत्यारोपण गरिन्छ।

पहिलो अपरेसनमा झण्डै दुइ दर्जन स्वास्थ्यकर्मीको संलग्नता थियो। सो टोलीलाई नेतृत्व गरेका थिए अस्पतालका निर्देशक डा. चन्द्रमणि अधिकारीले। नेपालमा नै पहिलोपटक टाभी विधिबाट गरिएको शल्यक्रियाको अनुभव कस्तो थियो  त? डा. अधिकारीले यसरी सुनाए अनुभव–

हामीले नेपालमै पहिलो पटक यो विधिबाट मुटुको सफलतापूर्वक भल्भ प्रत्यारोपण गरेका छौं। उहाँ (बिरामी) निको भएर आज मात्रै डिस्चार्ज हुनु भएको छ। हामी खुसी छौं। झण्डै दुई महिनाअगाडि बिरामीलाई छाती दुख्ने समस्या भएर आउनुभएको थियो। उहाँको भल्भ साँघुरो भएर समस्या भएको थियो। रोगको विषयमा डाइग्नोस भयो। उमेर ८० वर्ष भइसकेकाले उहाँको छाती चिरेर शल्यक्रिया गर्न समस्या हुन सक्थ्यो।

वृद्ध भइसकेको मान्छेलाई छाती चिरेर भल्भ फेर्दा अन्य जटिलता आउने सम्भावना थियो। त्यसैले हामीले टाभी विधिबाट गर्ने कि सर्जरी गरेर गर्ने भनेर उहाँको छोरालाई अप्सन दियौं। बिरामीको छोराले यस रोगमा कसरी कसरी उपचार गर्न सकिन्छ भन्ने कुरा इन्टरनेटबाट जानकारी लिनुभएछ र उहाँले टाभी विधिबाट गर्न भन्नुभयो।

हामीले यसभन्दा अगाडि यसको उपचार गरेका थिएनौं। टाभी प्रविधिबाट उपचारको लागि मैले भारतमा गएर तालिम लिएको थिएँ। मलाई आइडिया थियो। नेपालमा नै सुरु गर्नुपर्छ भन्ने सोचिरहेका थियौं। तर यो समयमा अवसर मिलेको थिएन। यो अवधिमा हामीले विभिन्न रोगहरु लागेका मानिसहलाई यो अप्सन पनि दिएका थियौं। कतिपय पढेलेखेका मानिसहरुले टाभी विधिबाट गर्ने भने पनि आर्थिक रुपमा धान्न नसकेपछि हुन सकेन भने कतिपय मानिसहरुले  नेपालमा पहिलोपटक नभएको उपचार गर्न चाहेनन्, विश्वास गर्न सकेनन्।

corrent noodles
Metro Mart

‘ट्रान्सक्याथेटर इरोटिक भल्भ इम्प्लिमेन्टेसन (टिएभीआई)’ विधिबाट ८० वर्षीया महिलाको सफलतापूर्वक भल्भ फेरिएको हो।

त्यसैले हामीले टाभी विधिबाट गर्नका लागि विभिन्न व्यक्तिहरुसँग सल्लाह माग्यौं। उहाँहरुले नेपालमै यो सुविधा दिनका लागि कसैले न कसैले त यसको सुरुवात गर्नैपर्छ भन्ने सल्लाह दिनुभयो।

बिरामीले टाभी विधिबाट गर्ने भनिसकेपछि हामीले गर्न मिल्छ की मिल्दैन, भल्भ कति साइजको आवश्यक पर्छ भनेर सिटिस्क्यान गर्यौँ। त्यसको रिपोर्ट नेदरल्याण्ड पठायौँ, उताबाट  रिपोर्ट हेरेपछि भल्भ फेर्नको लागि भल्भको साइज लगायतका कुराको यकिन गरी जवाफ आयो र हामीले हामीले भल्भको साइज डिसिजन गर्यौं। यस विधिबाट उपचार गर्दा २५ लाख भन्दा बढी खर्च लाग्छ। हामीले परिवारलाई आर्थिक अवस्थाबारे बुझायौं परिवारको सहमति भयो। त्यसपछि हामीले उपचार सुरु गयौंँ।

उपचारका क्रममा बिरामीको परिवारले इन्टरनेटबाट धेरै जानकारी लिएकाले परिवारलाई कन्भिन्स गराउन त्यति गाह्रो भएन।  होइन भने यसका लागि मनाउन त्यति सजिलो थिएन। यसभन्दा अगाडि मानिसहरुले बुझेर पनि पछि विश्वास गर्न सकेका थिएनन्।

उपचार गर्दैगर्दा मलाई दुई दिन निकै तनाव भयो। पहिलो केस थियो, त्यसैले केही चुनौतिपूर्ण अवश्य थियो। हुन त मैले यो भन्दा अगाडि पनि नयाँ केसहरु गरेको अनुभव छ । म क्याथ ल्याबभित्र रमाउने मान्छे हुँ तर यो केसको अनुभव केही फरक थियो।

शल्यक्रियामा संलग्न डा. चन्द्रमणि अधिकारी नेतृत्वको चिकित्सक टोली
पहिलो केसलाई सफल बनाउनु चुनौति थियो। नजिकै चेन्नइका मुटुरोग विशेषज्ञ डा. साइ सतिस, हुनुहुन्थ्यो। उहाँकै नेतृत्वमा यो शल्यक्रिया हुँदै थियो। मनभित्र डर थियो तर बाहिर देखाउन सकिन। बाहिर अन्य साथीहरुलाई हौसला दिनका लागि पनि मैले आफ्नो डर देखाउन सक्दिनथें। यो केस जसरी पनि सफल बनाउनु छ भन्ने दृढताले डरलाई जित्यो। किनकी पहिलो केस सफल गर्न सकेमा नेपालमा नै यसको उपचारका लागि सहजता हुन्थ्यो, बिरामीले विश्वास गर्न सक्ने वातावरण बन्थ्यो। त्यसैले टिमलाई हौसला दिँदै उपचार सफल भयो। सफल उपचार भए पनि त्यसको ४८ घण्टा फेरि तनावपूर्ण भयो। के होला कसो होला भन्ने थियो तर हामी सफल भयौं।  

अप्रेसन भएको चौथो दिनमा हामीले बिरामीलाई डिस्चार्ज गर्यौं। सामान्यतयाः ४८ घण्टामा डिस्चार्ज गर्न मिल्छ यो पहिलो केस भएकाले हामीले थप एक दिन राखेका हौं। धेरै जनाबाट यो सेवा सुरु गर्नुपर्छ भन्ने सल्लाह आएपछि सुरु गरेको हो। हामीले यो उपचार विधि नगर्ने भन्ने पनि नसोचेको होइन तर तर नेपालमा यो विधिबाट पनि उपचार गर्न सकिन्छ भन्ने सन्देश दिनु जरुरी थियो। भोलि यहि उपचारको लागि मानिसहरु बाहिर देश जानुपर्ने बाध्यता नहोस् भनेर हामीले सुरु गरेका हौं। अब यो उपचारका लागि विदेश जानु पर्दैन र विदेशको भन्दा ५० प्रतिशत सस्तोमा उपचार गर्न सक्छौं।

मुटुबाट शरीरभरि रगत जाने नशालाई एओर्टिक भल्भ भन्न्छि। यो भल्भ साँघुरो भयो भने भनेजति रगत शरीरमा जान पाउँदैन। त्यसपछि प्यारालाइसिस हुने, सास फेर्न गाह्रो हुने, स्वाँ स्वाँ हुने हुन्छ। त्यसको उपचारका लागि हालसम्म नेपालमा छाती चिरेर नै गर्नुपर्ने अवस्था थियो। तर अब ८० वर्ष भन्दा माथिका बिरामीका लागि छाती चिरेरै भल्भ फेर्नुपर्छ भन्ने छैन। वृद्धवृद्धाको अप्रेसन गर्दा खतरा हुन सक्छ। त्यसैले यो विधि प्रभावकारी हुन्छ।

साथै प्रत्यारोपण गरिएको भल्भले तुरुन्तै काम गर्ने हुँदा बिरामीलाई चाँडै नै आराम महसुस हुन्छ । बिरामीलाई बेहोस गरी छाती र मुटु चिरी शल्यक्रिया गर्नु नपर्ने भएकाले यो पद्धतिमा जटिलता कम हुने र बिरामीलाई चाँडै डिस्चार्ज गर्न सकिन्छ। शल्यक्रियाको तुलनामा यस पद्धतिको उपचार प्रभावकारी हुनुका साथै मृत्युदर पनि कम भएको विभिन्न अध्ययनले देखाएको छ । सबैभन्दा पहलोपटक सन् २००२ मा यो पद्धति फ्रान्समा सफल भएको थियो। तर, नेपालमा भने यो पद्धतिबाट पहिलो पटक उपचार भएको हो ।

उपचारका लागि हामीले भल्भ अन्य देशबाट ल्याउनुपर्ने हुन्छ। हामीलाई जुन कम्पनीको भल्भ प्राप्त हुन्छ उसले हामीलाई केही निश्चित केसहरु नगरेसम्म स्वतन्त्र रुपमा हामीलाई मात्रै गर्न दिँदैन। उपचार गर्ने हामीले नै हो तर उनीहरुको चिकित्सकको उपस्थिति भने हुन्छ। धेरै केसहरुको उपचार नगरेसम्म केही केस फेल भयो भने उनीहरुको डिभाइसको पनि विश्वसनियता हुँदैन। त्यसैले पनि सुरुमै हामीलाई मात्रै गर्न दिँदैन। तर हामीले मात्रै पनि यो विधिबाट उपचार गर्न सक्षम छौं। सन् २००२ बाट सुरु भएको टाभी विधिको दिर्घकालिन असरबारे अध्ययन भइरहेकाले कम उमेरका मानिसहरुमा भने अहिले यो विधिबाट उपचार गरिँदैन।

प्रकाशित: Mar 05, 2022| 09:16 शनिबार, फागुन २१, २०७८
प्रतिक्रिया दिनुहोस्