काठमाडौं– पेट्रोलियम पदार्थ बिक्री गरेबापतको कमिसन वृद्धि नगरेको भन्दै विक्रेताहरुले खरिद बन्द गरेका छन्।
बिहीबार रातिबाट नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरे पनि आफूहरुको कमिसन भने नबढाएको भन्दै व्यवसायी आन्दोलित बनेका हुन्।
इन्धन विक्रेताहरुले मूल्यवृद्धिको आधारमा ३.१४ प्रतिशत प्रतिलिटर कमिसन पाउने गरेका छन्। पछिल्लो मूल्य वृद्धिमा उक्त कमिसन भने बढेको छैन। मूल्यवृद्धि अनुसार व्यवसायीलाई ०.१५ पैसा कमिसन थपिनुपर्नेमा निगमले नथपेपछि उनीहरु रुष्ट बनेका हुन्। पेट्रोलियम डिलर्स एसोसिएसनका अध्यक्ष लिलेन्द्र प्रधानले बिक्रेता कमिसनको हिसाबमा केही समस्या आएकाले इन्धन ढुवानी रोकिएको बताए।
निगमका अनुसार दैनिक करिब ७ सयदेखि ८ सय किलोलिटर पेट्रोल र १ हजारदेखि १ हजार १ सय किलोलिटर डिजेल बिक्री हुने गरेको छ। ढुवानी बन्द भएपछि पम्पहरुमा लामो लाइन हुन थालेको छ।
निजी पम्पहरुले ढुवानी रोके पनि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र साझा पेट्रोल पम्पले इन्धन ढुवानी गरिरहेका छन्।