काठमाडौं- नाबालिग गायिकामाथि बलात्कार आरोपमा पक्राउ परेका कलाकार पल शाह प्रकरणमा पीडितको गोपनीयता कायम गर्न प्रहरीले आग्रह गरेको छ। शुक्रबार प्रहरीको साइबर ब्युरोले विज्ञप्ति जारी गर्दै यस्तो अनुरोध गरेको हो।
‘पीडितको गोपनीयताको हक हनन् गर्दै निजको सामाजिक एवम् मानसिक स्वास्थ्यमा नकारात्मक असर पुऱ्याउने किसिमका प्रवृत्ति देखिएको’ भन्दै प्रहरीले त्यसमा संवेदनशील बन्न आग्रह गरेको हो। ‘त्यस्ता क्रियाकलाप गरे विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ अन्तर्गतको कसुरमा कारवाही हुने चेतावनी समेत प्रहरीले दिएको छ।
बलात्कार आरोपित पललाई जिल्ला प्रहरी कार्यालय तनहुँमा राखेर प्रहरीले अनुसन्धान गरिरहेको छ। तर युट्युब, टिकटकलगायत सामाजिक सञ्जालमा पीडितको गोपनीयता कायम गरिएको छैन। पलमाथि अनुसन्धान चलिरहँदा अभिनेतृ पूजा शर्माले पल निर्दोष रहेको दाबी गरेकी थिइन्। अनुसन्धान भइरहेको विषयमा पीडकको पक्षमा सार्वजनिक वक्तव्य दिएर उत्तेजित पार्ने प्रयास गरेको भन्दै शर्माको आलोचना भइरहेको छ।