शुक्रबार, जेठ ४, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • खातामा ५ लाख र वार्षिक आम्दानी १० लाख नभए विदेश घुम्न नपाइने

खातामा ५ लाख र वार्षिक आम्दानी १० लाख नभए विदेश घुम्न नपाइने

सिधै कामदार भिसामा पठाउँदा फ्रि भिसा फ्रि टिकटअन्तर्गत कारबाहीमा परिने डरले म्यानपावर व्यवसायीले नै भिजिट भिसामा नागरिक पठाउने गरेकाले भिसाको दुरुपयोग बढेको भन्दै गत माघ १० देखि भिजिट भिसामा रोक लगाइएको थियो।
 |  शुक्रबार, फागुन २०, २०७८

लक्ष्मी विश्वकर्मा

लक्ष्मी विश्वकर्मा

शुक्रबार, फागुन २०, २०७८

काठमाडौं– के तपाईं भिजिट भिसामा खाडी मुलुक जान खोज्दै हुनुहुन्छ? यदि त्यस्तो तयारी छ भने पहिलेजस्तो सहजै जान पाउनु हुनेछैन। त्यसका लागि तपाईंको बैंक खातामा कम्तिमा ५ लाख नगद हुनुपर्नेछ भने वार्षिक आम्दानी १० लाख भएको विवरण पेश गर्नुपर्ने छ। 

triton college

भिजिट भिसा र त्यसबाट सिर्जित समस्या तथा समाधानका उपायका सम्बन्धमा सिफारिस गर्न गठित कार्यदलले वार्षिक कम्तिमा पनि १० लाख आम्दानी नभएका व्यक्तिलाई भिजिट भिसामा खाडी मुलुक जान रोक्न सिफारिस गरेको हो। उक्त सिफारिस कार्यविधि बनाएर कार्यान्वयन गरिने कार्यदलका संयोजक तथा गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले बताए। आम्दानीसँगै कम्तिमा ५ लाख नगद मौज्दात हुनुपर्ने प्रावधानसमेत राख्न सिफारिस गरिएको छ।

सिधै कामदार भिसामा पठाउँदा फ्रि भिसा फ्रि टिकटअन्तर्गत कारबाहीमा परिने डरले म्यानपावर व्यवसायीले नै भिजिट भिसामा नागरिक पठाउने गरेकाले भिसाको दुरुपयोग बढेको भन्दै गत माघ १० देखि भिजिट भिसामा रोक लगाइएको थियो। लगत्तै सरकारले कार्यदल बनाएको थियो। उक्त कार्यदलले गत बुधबार गृहमन्त्री बालकृष्ण खाणलाई आफ्नो अध्ययन प्रतिवेदन बुझाएको हो।

भिजिट भिसामा विदेश गएर बिचल्ली पर्ने गरेको देखिएकाले यस्तो प्रावधान राखिएको गृह मन्त्रालयका प्रवक्ता पोखरेलले बताए। ‘जतिसक्दो छिटो कार्यविधि बनाएर भिजिटमा जानेमाथि कडाइ हुन्छ,’ प्रवक्ता पोखरेलले भने, ‘वैदेशिक रोजगार विभाग र अध्यागमन विभागलाई पत्र दिन्छौं। यसको कार्यविधि बनाएर कसरी जाने भनेर दुई विभागले अध्ययन गर्छन् र कार्यान्वयनको काम अगाडि बढ्छ।’ 

भिजिट भिसामा खाडी मुलुक र मलेसिया जान अध्यागमन विभागबाट पूर्वस्वीकृति लिनुपर्ने प्रावधानसमेत राखिएको छ। वैदेशिक रोजगारमा श्रमस्वीकृति लिने प्रक्रिया झन्झटिलो भएकाले सेटिङमा भिजिटमा पठाएर गन्तव्य मुलुकमा श्रममा लगाउने गरिएको थियो। वैदेशिक रोजगार व्यवसायीले भिजिट एवं कुनै तरिकाबाट पठाएको पाइएमा उनीहरूको इजाजत खोसिने भएको छ। अनुमति नलिई भिजिट भिसामा वा अन्य तरिकाले विदेश पठाएको पाइएमा त्यस्ता संस्था र सञ्चालकलाई वैदेशिक रोजगार ऐन २०६४ को दफा ४४ बमोजिम कारबाही गर्न कार्यदलले सुझाएको छ। 

corrent noodles
Metro Mart
सिधै कामदार भिसामा पठाउँदा फ्रि भिसा फ्रि टिकटअन्तर्गत कारबाहीमा परिने डरले म्यानपावर व्यवसायीले नै भिजिट भिसामा नागरिक पठाउने गरेकाले भिसाको दुरुपयोग बढेको भन्दै गत माघ १० देखि भिजिट भिसामा रोक लगाइएको थियो।

‘भिजिट भिसा व्यवस्थित गर्न यस्तो मापदण्ड ल्याएका हौं,’ पोखरेलले भने, ‘मानव तस्करले उनीहरूलाई प्रयोग गरी नगद देखाउन पनि सक्छन्, चनाखो हुनुपर्छ।’ पैसा नभएको व्यक्ति भिजिटमा जानु उचित नहुने भएकाले कडाइ गरिएको उनले बताए। बैंक खातामा ५ लाख नगद चाहिने वार्षिक आम्दानी १० लाख हुनुपर्ने भनेर हामीले जनाएका छौं।’

होटल बुकिङ र हवाई टिकट दुईतर्फी आवश्यक विदेश यात्राको अभिलेख भएकालाई कडाइ नगरिने अंग्रेजी वा गन्तव्य मुलुकको भाषा जाने सहजै भिसा पाइने समेत बताएको छ। खाडी मुलुक र मलेसियामा टुर प्याकेजमा पठाउँदा ट्राभल एजेन्सीले फर्काउने प्रतिबद्धता लिनुपर्ने भएको छ। न्यूनतम २ वर्षभन्दा बढी समय विदेशमा बसेका र अंग्रेजी वा गन्तव्य मुलुकको भाषा भएकाले भने सहजै भिसा पाउनेछन्। 

भिजिट भिसासम्बन्धी मौजुदा मापदण्ड तथा कार्यविधिलाई परिमार्जन गरी लागू गर्ने जनाइएको छ। श्रम स्वीकृति प्रक्रियामा रहेका जटिलता सुधार गरी अधिकतम सरलीकृत, पारदर्शी र छिटो बनाउन पनि भनिएको छ। भिजिट भिसामा पठाउँदा सहजीकरण गर्ने व्यक्ति–संस्थालाई कानुनी दायरामा ल्याई जिम्मेबार बनाउन कार्यदलको सुझाव छ। अध्यागमन विभागले शंकास्पद भ्रमण रद्द गरी अपलोड गर्दै आएको छ। माघयता २ सयभन्दा बढी व्यक्तिलाई फर्काइएको छ। 

कार्यदलमा संस्कृति मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने, श्रम मन्त्रालयका सहसचिव शेषनारायण पौडेल, परराष्ट्र मन्त्रालयका सहसचिव हरिषचन्द्र पौडेल, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकाल, अध्यागमन विभागका उपसचिव प्रकाशचन्द्र अधिकारी र वैदेशिक रोजगार बोर्डका उपसचिव दीनबन्धु सुवेदी सदस्य थिए। 

अध्यागमन विभागका महानिर्देशक नारायण प्रसाद भट्टराईले भने गृह मन्त्रालयको पत्र अहिलेसम्म विभागमा नआइपुगेको बताए। ‘केही दिनमा पत्र आएपछि त्यसबमोजिम काम गर्छौं,’ उनले भने। गृह मन्त्रालयले माघ १० गतेबाट एउटा समयसीमा तोकेदेखि भिजिट भिसामा जाने क्रम निकै कम भएको उनले बताए।


प्रकाशित: Mar 04, 2022| 15:02 शुक्रबार, फागुन २०, २०७८
प्रतिक्रिया दिनुहोस्