आइतबार, जेठ ६, २०८१

यसकारण कम देखियो 'पोस्ट ओमिक्रोन' समस्या

कोरोनाको तेस्रो लहर नियन्त्रण उन्मुख भएपनि पोस्ट ओमिक्रोनका विषयमा भने टिप्पणी गरिहाल्नु हतार हुने डा पुनले उल्लेख गरे।
 |  बिहीबार, फागुन १९, २०७८

ज्योति अधिकारी

ज्योति अधिकारी

बिहीबार, फागुन १९, २०७८

काठमाडौं- पुस २१ गतेबाट बढ्न थालेको कोरोना संक्रमण पछिल्ला केही सातायता कम हुन थालेको छ। कोरोनाको ओमिक्रोन भेरियन्टसँगै नेपालमा पनि यसबाट संक्रमित हुनेको संख्या बढेको थियो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार कुल परीक्षणको २.१३ प्रतिशतमा कोरोना संक्रमण पुष्टि भएको छ।

triton college

बिहीबार ४ हजार ९२४ वटा नमुना परीक्षण गरिएकोमा १०५ जनामा संक्रमण भएको पाइएको छ। विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार कुल परीक्षणको ५ प्रतिशतभन्दा कम संक्रमित हुनु नियन्त्रणउन्मुखको अवस्था हो। 

दोस्रो लहर (डेल्टा भेरियन्ट)को संक्रमण फैलिएका बेला गम्भीर स्वास्थ्य समस्या हुनेको संख्या बढी देखिएको थियो। तेस्रो लहरमा ओमिक्रोन भेरियन्टको संक्रमण दर 'बिजुली गति'मा भएपनि गम्भीर स्वास्थ्य समस्या भएका बिरामीको संख्या तुलनात्मक कम देखिएको थियो। 

कोरोनाको पहिलो र दोस्रो लहर (डेल्टा भेरियन्ट) नियन्त्रणउन्मुख भइरहेका बेला पोस्ट-कोभिडको समस्या लिएर अस्पताल पुग्नेहरू बढेपछि अस्पतालले छुट्टै वार्ड बनाएर उपचार गरेका पनि थिए। कोरोनाका कारण गम्भीर स्वास्थ्य समस्या भएर आइसियू/भेन्टिलेटरमा पुगेका र लामो समय अस्पताल बसेका बिरामीलाई पोस्ट कोभिडको समस्या देखिएको थियो। यद्यपि अस्पताल नपुगेका संक्रमितमा पनि पोस्ट कोभिडको समस्या देखिएको थियो। 

कोभिड भएर अस्पताल पुगेका बिरामी निको भइसकेपछि पनि पुनः पोस्ट कोभिडको जस्तै समस्याका कारण अस्पताल पुग्नुपर्ने अवस्था थियो। विश्व स्वास्थ्य संगठनले पनि कोभिड संक्रमणमुक्त भएको तीन/चार हप्तापछि पोस्ट कोभिडको समस्या आउन सक्ने भन्दै सचेत रहन आग्रह गरेको थियो। 

corrent noodles
Metro Mart
कोरोनाको तेस्रो लहर नियन्त्रण उन्मुख भएपनि पोस्ट ओमिक्रोनका विषयमा भने टिप्पणी गरिहाल्नु हतार हुने डा पुनले उल्लेख गरे।

पछिल्लो समय नेपालमा डेल्टा र ओमिक्रोन दुवै भेरियन्टका संक्रमित देखिइरहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा शेरबहादुर पुनले बताए। उनका अनुसार तेस्रो लहरको मुख्य कारण ओमिक्रोन भेरियन्ट हो। अघिल्ला दुई भेरियन्टको तुलनामा ओमिक्रोन कम घातक तर संक्रमण दर बढी भएको भेरियन्ट हो। कम घातक भएका कारण तेस्रो लहरमा गम्भीर बिरामी परेर अस्पताल भर्ना हुनेको संख्या तुलनात्मक रूपमा कम भएको उनको भनाइ छ। 

कोरोनाको तेस्रो लहर नियन्त्रण उन्मुख भएपनि पोस्ट ओमिक्रोनका विषयमा भने टिप्पणी गरिहाल्नु हतार हुने डा पुनले उल्लेख गरे। 'विश्व स्वास्थ्य संगठनले ओमिक्रोन संक्रमण भएको तीन महिना पछिसम्म पनि समस्या देखिएमा पोस्ट कोभिड भन्नुपर्ने उल्लेख गरेको छ,' डा पुन भन्छन्, ‘पहिलो र दोस्रो लहरको समयमा पोस्ट कोभिडको परिभाषा फरक थियो। त्यसबेला तीन/चार हप्तासम्म देखिएका समस्यालाई पोस्ट कोभिड भनिने गरिएको थियो। तर अहिले अवधिलाई लम्ब्याइएको छ। कोभिड भएको तीन महिनापछि पनि समस्या भए त्यसलाई पोस्ट कोभिड मानिन्छ।’ डा. पुनका अनुसार कोभिड भइसकेपछि लामो समयसम्म थकित हुने, खोकी लागिरहने समस्या देखिएका छन्। तर त्यसैलाई मात्र आधार मानेर पोस्ट कोभिड भन्न नहुने उनी बताउँछन्। 

ओमिक्रोनका कारण धेरै बिरामी सिकिस्त नभएका कारण पनि पोस्ट कोभिडको समस्या यसपटक कम आउन सक्ने उनी अनुमान गर्छन्। ‘हामीकहाँ सामान्य लक्षण हुँदा अस्पताल आउने बानी छैन। गम्भीर भएपछि आउने हुँदा अहिले त्यति समस्या नदेखिएको हुन सक्छ,' डा पुनले थपे। तेस्रो लहरमा ओमिक्रोनको संक्रमण भएकाहरुमा पोस्ट कोभिडको समस्या आइनसकेको भएपनि अब नआउने भनेर ठोकुवा गर्न नसकिने उनले उल्लेख गरे। 

दोस्रो लहरपछि जस्तो अहिले पोस्ट ओमिक्रोन वार्ड नै सुरु गरी उपचार गर्नुपर्ने अवस्थामा अस्पतालमा चाप छैन। 

डेल्टा भेरियन्टपछिको समयमा जस्तो पोस्ट कोभिडका लागि छुट्टै वार्ड अस्पतालले बनाउनुपरेको छैन। वीर अस्पतालमा पनि पोस्ट कोभिडका बिरामी कम पुग्ने गरेका छन्। अस्पतालका कार्यकारी प्रमुख डा. भुपेन्द्र बस्नेतका अनुसार पहिलो र दोस्रो लहरपछि पोस्ट कोभिडका बिरामी थुप्रै भएका भएपनि पछिल्लो लहरपछि पोस्ट कोभिडको समस्या लिएर बिरामी आएका छैनन्। पछिल्लो लहरमा मानिसहरु गम्भीर हुने दर कम भएकाले पनि पोस्ट कोभिडको समस्या कम देखिएको उनको अनुमान छ। वीर अस्प्तालले पनि दोस्रो लहरपछि 'पोस्ट कोभिड वार्ड' नै सञ्चालन गरेको थियो। उनका अनुसार अहिले पोस्ट कोभिड नै भनेर आउनेहरु निकै कम छन्। 

त्रिवि शिक्षण अस्पतालका छाती रोग विशेषज्ञ डा निरज बमका अनुसार अस्पतालमा पोस्ट कोभिडका बिरामी कम छन्। बरु अझै डेल्टा भेरियन्टका बिरामी निरन्तर फलोअपमा छन्। विश्व स्वास्थ्य संगठनले तीन महिना पोस्ट कोभिडको अवधि लम्ब्याएकाले अहिले अस्पतालमा आउने बिरामीलाई पोस्ट कोभिड नै हो भनेर भन्न हतार हुने डा. बमको भनाइ छ। 

दोस्रो लहरपछि संक्रमणमुक्त भइसकेपछि पनि शरीरमा कोभिड भएजस्तै शरीर दुख्ने, निन्द्रा कम पर्ने, झर्को लाग्ने, थोरै हिँड्दा पनि थकान लाग्नेलगायतका समस्यालाई पोस्ट कोभिड भनिएको थियो। दोस्रो लहरपछि जस्तो अहिले पोस्ट ओमिक्रोन वार्ड नै सुरु गरी उपचार गर्नुपर्ने अवस्थामा अस्पतालमा चाप छैन। 

प्रकाशित: Mar 03, 2022| 20:12 बिहीबार, फागुन १९, २०७८
प्रतिक्रिया दिनुहोस्