तुलसीपुर- केही समययता टिकटकरहरूको एउटा गन्तव्य बन्ने गरेको छ। तुलसीपुर-१३ स्थित जन्तीढुंगा। यहाँका ढुंगा (जन्तीढुंगा) हेर्न टाढा–टाढाबाट सर्वसाधारण पुग्न थालेका छन्। जन्तीढुंगामा रहेका हजारौँ ढुंगा मानिसले नै कुँदेका जस्ता छन्। जुन हेरिरहूँ जस्तो लाग्छ। झाँक्री ढुंगा सामुदायिक वन क्षेत्रमा रहेका यी ढुंगाहरूलाई स्थानीयले ‘जन्तीढुंगा’ नाम दिएका छन्।
परापूर्वकालमा यो ठाउँमा पुगेपछि ‘जन्तीहरू बिलाएको’ भन्ने किंवदन्ती छ। कुँदिएकाजस्ता देखिने यी ढुंगा बिलाएका जन्ती, दुलहा-दुलही भएको स्थानीय बताउँछन्। जन्ती ‘बिलाए’पछि त्यहाँ झाँक्रीहरू गएको र झाँक्रीसमेत बिलाएको किंवदन्ती छ। ‘हामी सानो हुँदा यो बाटो हिँड्नु हुँदैन, जन्ती बिलाएको ठाउँ हो, हामी पनि बिलाउँछौँ भनेर बुढापाकाले भन्थे,’ स्थानीय ८० वर्षीय लीलाधर भट्टराईले भने, ‘त्यही भएर हामी त्यो बाटो हिँड्दैनथ्यौँ।’
किंवदन्तीअनुसार दुलही ल्याउन गएका जन्तीहरू रात परेपछि यहाँ बिश्राम गरेका थिए। जन्तीहरू कहाँ जाने र के गर्ने भन्दा यहीँ वास बसेका थिए। तर, बिहान हुँदा उनीहरू सबै बिलाएका थिए। रासस