बुधबार, असोज १४, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सेबोन र नेप्सेका नवनियुक्त नेतृत्वलाई अर्थमन्त्रीको ११ बुँदे निर्देशन

सेबोन र नेप्सेका नवनियुक्त नेतृत्वलाई अर्थमन्त्रीको ११ बुँदे निर्देशन

अर्थ मन्त्रालयले नेपाल धितोबोर्ड र नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) का नवनियुक्त प्रमुखहरूलाई स्वागत कार्यक्रम गरी बधाई दिँदै पुँजीबजार सुधारका लागि विभिन्न निर्देशनसमेत दिएको छ।
 |  बुधबार, फागुन १८, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, फागुन १८, २०७८

काठमाडौं– अर्थ मन्त्रालयले नेपाल धितोबोर्ड र नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) का नवनियुक्त प्रमुखहरूलाई स्वागत कार्यक्रम गरी बधाई दिँदै पुँजीबजार सुधारका लागि विभिन्न निर्देशनसमेत दिएको छ।

मन्त्रालयले खुला प्रतिस्पर्धाका माध्यमबाट बोर्ड अध्यक्षमा रमेश हमाल र नेप्सेको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा कृष्णबहादुर कार्कीलाई नियुक्त गरेको थियो।

बिहीबार अध्यक्ष हमाल र सीईओ कार्कीको स्वागतमा आयोजित कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माले पुँजी बजार सुधारका लागि दुवै निकायलाई ११ बुँदे निर्देशन दिए। खुला प्रतिस्पर्धाबाट छनौट भएर आएका नयाँ नेतृत्वले कसैको दबाब र प्रभावमा परेर काम नगर्न उनले निर्देशन दिए। उनले उत्पादन र पूर्वाधारका क्षेत्रमा लगानी गर्न चाहिने रकम पँुजीबजारबाट आउने बातावरण सृजना गर्न पनि निर्देशन दिए। पुँजीबजारको समस्या समाधान गर्ने र सर्वसाधारणको लगानीको सुरक्षा गर्ने मुख्य उद्देश्यले दुवै निकायमा नयाँ नेतृत्व छनौट गरेको उनले प्रष्ट पारे।

अर्थसचिव मधुकुमार मरासिनीले नयाँ नेतृत्वले पुँजी बजारलाई सकारात्मक बाटोमा डोर्याउने विश्वास लिएको बताए। राजस्व सचिव कृष्णहरि पुस्करले सेयर बजार धेरै सुधार हुँदै गएको र भएका कमीकमजोरीलाई अर्थ मन्त्रालयको निर्देशनमा पारदर्शी रूपमा सुधार्ने काम जारी रहेको बताए।

धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष रमेश हमालले वित्तिय साक्षरताका क्षेत्रमा धेरै काम गरेर सेयर लगानीकर्ताहरूलाई सु–सुचित गर्ने बताए। नेप्सेका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्कीले लगानीकर्ताको गुनासो नआउने गरी काम अगाडि बढाउने प्रतिबद्धता जनाए।

यस्ता छन् अर्थमन्त्रीले दिएका निर्देशन

१) कोभिड–१९ को महामारीबीच पुँजीबजारलाई लगानीकर्तामैत्री बनाउने गरी नेपालको पुँजीबजारलाई कसरी अगाडी बढाउने भन्ने बिषयमा छिमेकी मुलुकहरू भारत, चीन, पाकिस्तान, बंगलादेश, अमेरिका, बेलायतमा कसरी पुँजीबजार संचालन भएको छ भन्ने अध्ययन गर्ने। 

२) पुँजीबजारबाट कसरी पुँजी निर्माण गर्न सक्छौं? कसरी लगानीकर्तालाई उच्चतम प्रतिफल प्रदान गर्न सक्छौं र राष्ट्रिय महत्वका आयोजनाहरूमा आवश्यक  लगानी कसरी व्यवस्था गर्न सक्छौं भनेर अध्ययन गर्नुपर्नेछ। ठूला पुर्वाधार, उत्पादन, पुँजी निर्माणका लागि पुँजी संकलन गर्ने व्यवस्था मिलाउने।

३) २० कात्तिक ०७५ देखि नयाँ टिएमएस भित्रिएको छ। यसले केही सहजता ल्याएपनि अझै प्रयोगकर्तामैत्री छैन भन्ने गुनासो छ। यस्ता गुनासो समाधान गर्नुपर्नेछ।

४) लगानीकर्ता समान स्तरका नहुने हुँदा साना कम्पनी, स्टार्टअप कम्पनीहरूलाई पनि पुँजीबजारमा प्रवेश गर्ने बाटो खुल्ला हुनुपर्छ। विशेषगरी एसएमई तथा ओटिसी बजारको विकास गरी भेन्चर क्यापिटलसमेतको आधारमा साना कम्पनीहरूको  लागी आवश्यक बजारको विकास गर्नुपर्छ।

५) सुचीकरणमा आउन नसकेका तथा आइपिओको लागि योग्य भइ नसकेको विभिन्न पब्लिक लिमिटेड कम्पनीहरूको  सेयरलाई ओटिसी बजार विकास गरी कारोबार गर्ने व्यवस्था मिलाउने। आउँदा दिनमा इन्ट्रा डे कारोबार र सर्ट सेलिङ गर्न मिल्ने गरी प्रणालीको सुधार गर्ने।

६) अटोमेसन अक्सन शुरु गर्ने। अक्सन बजार लिलामीबाट शुरुमा बिक्री हुन नसकेका सेयर र खरिद बिक्री हुन नसकेका कारोबारको देशभर सबै लगानीकर्ताले खरिद गर्न पाउने व्यवस्था मिलाउने।

७) ब्रोकरलाई सक्षम बनाउन ‘सब–ब्रोकर’ मोडल तयार गर्ने। डेरिभेटिभ्स औजार बनाई कारोबार गर्ने। कमोटिभी एक्सचेन्ज सम्बन्धी ऐनलाई अगाडी बढाउने। यो ऐन बनेको ४ बर्ष भयो।

८) अर्थतन्त्रको प्रतिनिधित्व गर्ने बैज्ञानिक तवरले निर्माण गरिएको नयाँ परिसूचक तयार गर्ने। भारतमा बम्बई स्टक एक्सचेन्ज, अमारिकाको डाउजोनस तथा नासडाक जस्ता परिसूचक निर्माण भएका छन्। त्यसबाट शिक्षा लिने। मार्केट क्यापका आधारमा लार्ज क्याप इण्डेक्स, मिड क्याप इण्डेक्स र स्मल क्याप इण्डेक्स बनाई बजार परिसूचकलाई थप व्यवस्थित गर्ने।

९) उत्पादनमूलक धेरै कम्पनीहरू सेयर मार्केट भन्दा बाहिर रहेकाले सेयर बजारमा ल्याउन बुक बिल्डिङ प्रणाली लागू गर्ने। इण्डेक्स फण्ड तथा टे«डेट फाण्डको शुरुवात गर्ने। 

१०) ब्रोकरलाई मार्जिन ल्याण्डिङ दिने कुरा लागू गर्ने। ब्रोकर कम्पनी तथा मर्चेन्ट बैंकिङ संस्थाहरू मार्फत मार्जिन ल्याण्डिङ प्रकृया अगाडी बढाउने।

११) सर्कुलर कारोबार, पम्प एड डम्प र इनसाइडर टे«डिङ रोक्ने। पुँजी बजार सम्बन्धी जनचेतना, पुँजी बजार साक्षरताको संचालन, तालिम केन्द्रको स्थापना गर्ने।

प्रकाशित: Mar 02, 2022| 16:32 बुधबार, फागुन १८, २०७८
प्रतिक्रिया दिनुहोस्