काठमाडौं– चुहिएको छानो फेर्न र परिवारको सुख खोज्नका लागि धादिङ थाक्रे–२ का ३ युवा गएको असोज १५ गते साउदी उडेका थिए। पसिना बेच्न परदेशिएका तेजबहादुर तामाङ, सुमन तामाङ र पदम तामाङ साउदी उड्दा जति खुसी थिए, अहिले त्यति नै कष्टकर दैनिकी गुजारिरहेका छन्। म्यानपावर कम्पनीको बदमासीका कारण उनीहरु अहिले भनेजस्तो काम त परको कुरा, खान र बस्न समेत नपाउने अवस्थामा पुगेका छन्।
उनीहरुले ग्रोथ प्रोसेस इन्टरनेसनल इम्प्लोइमेन्ट नामक म्यानपावरमा पासपोर्ट बुझाएका थिए। तर उनीहरुलाई पासपोर्ट बुझाएको भन्दा फरक कम्पनी अस्मिता ओभरसिजबाट श्रम गराइयो। असोज १५ गते उनीहरु साउदीको रियादका लागि उडे।
सो म्यानपावरबाट ४२ जना एकैसाथ उडेका थिए। महिनाको एक हजार रियाल तलब र २ सय ओभरटाइम दिने सम्झौतासहित उनीहरु साउदी गएका थिए। हस्पिटल सरसफाइको काममा खटाउने सम्झौता थियो। तर, सम्झौता विपरीत उनीहरुलाई रियाद पुगेको १० दिनसम्म कुनै काम नै दिइएन। कम्पनी पनि सम्झौता गरेको वाला थिन।। १० दिनपछि अक्टोबर १३ देखि नोभेम्बर १३ सम्म साउदीको जेद्दामा लगेर एउटा मलमा काम दिइयो। काम त सोचेजस्तो थिएन नै, तलब पनि सम्झौता बमोजिम दिइएन। जम्मा ४ सय रियालमा उनीहरुलाई काम लगाइयो।
त्यही भए पनि काम गर्दै आएका उनीहरुलाई त्यसपछि त्यो कामबाट छुटाएर रियादमा लगियो र बन्धक बनाइयो। ‘न काम दिए, न खाना नै। बन्धक बनाएर करिब डेढ महिना राखे। रियादमा डिसेम्बर १२ बाट जनवरी २३ सम्म बन्धक जसरी राखे,’ तेजबहादुर तामाङले नेपाल समयसँग दुःख पोखे। ‘यति यातना दिइयो कि म अहिले शब्दमा वर्णन नै गर्न सक्दिनँ। कुट्ने, थर्काउने, बाहिर हिँड्न नदिने, पानीसमेत दिएनन्,’ भक्कानिँदै उनले भने, ‘हामीलाई यहाँबाट उद्धार गरियोस्। म्यानपावरले फसायो। सुख खोज्न आएका हामीलाई बन्धक बनाएर यातनाको भूमरीमा पिल्स्याइएको छ।’
अस्मिता ओरसिजबाट गएका तेज बहादुर लगायत ४२ जनामध्ये ३३ जना अहिले साउदीको रियादमा अलपत्र छन्। काम दिने आश्वासनमा आफूहरुलाई बन्धकजस्तो बनाएर राखिएको उनले सुनाए। १० जनालाई जनवरी १ तारिखदेखि साउदीको जेद्दामा ल्याइएको तेजबहादुरले जानकारी दिए। उनीहरुलाई डिसेम्बर १३ बाट अहिलेसम्म न काम दिइएको छ, न खाना–बस्न उनीहरुसँग पैसा नै छ। उनीहरु दूतावासमार्फत नेपाल आउन हारगुहार गरिरहेका छन्। ‘यहाँ आएको ५ महिना नाघ्यो, अहिलेसम्म काम पाइएको छैन। न काम छ, न खान पाइएको छ। भोकभोकै मर्ने अवस्था आइपुग्यो। हामीलाई उद्धार गर्न सहयोग गरिदिनु पर्यो,’ तेजबहादुरले भने।
महिनाको एक हजार रियाल तलब र २ सय ओभरटाइम दिने सम्झौतासहित उनीहरु साउदी गएका थिए। हस्पिटल सरसफाइको काममा खटाउने सम्झौता थियो। तर, सम्झौता विपरीत उनीहरुलाई रियाद पुगेको १० दिनसम्म कुनै काम नै दिइएन।
सुमन, पदम र तेजबहादुर तामाङ जनही १ लाख ३० हजार तिरेर साउदी गएका थिए। ‘घरमा कमाउने कोही छैन। रिन गरेर ल्याएको डेढ लाखले डाँडो काटिसक्यो। ६ महिना भयो आफू अलपत्र भएको। घरमा श्रीमती, छोराछोरी, बूढी आमा छन्। मलाई जसरी पनि घर जानु छ,’ तेजबहादुरले भने। न्यु अल्फा एचआर म्यानपावरबाट गएका ५२ जना पनि १ महिनादेखि अलपत्र परेको उनले सुनाए।
तेजबहादुरकी सासूआमा माया तामाङ ज्वाइँ साउदीमा अलपत्र परेपछि उनको उद्धारका लागि वैदेशिक रोजगार विभाग धाइरहेकी छिन्। विभागका कर्मचारी प्रक्रिया पुर्याएर झिकाइदिने आश्वासन दिन्छन्। त्यो प्रक्रिया कहिले पुग्ने हो पत्तो छैन। ‘मेरो ज्वाइँसहित थुप्रै नेपाली अलपत्र पर्नुभएको छ। तर खै किन हो उहाँहरु नेपाल झिकाउन खासै चासो देखाइरहनु भएको छैन्। म्यानपावर कम्पनीलाई बोलाएर सोध्ने कामसम्म गर्नुभएको छैन,’ उनले भनिन्, ‘ऋण काडेर पठाएको ज्वाइँ अहिलेसम्म काम नपाएको भन्दै रुँदै फोन गर्नुहुन्छ। जसरी भएपनि मलाई नेपाल झिकाउनुस् भन्नुहुन्छ। तर, विभागले खासै चासो देखाएको छैन।’
तेजबहादुरलाई पठाउने अस्मिता ओभरसिजमा सम्पर्क गर्दा उल्टै थर्काउने गरेको मायाले सुनाइन्। वैदेशिक रोजगार विभागका निर्देशक डम्बरबहादुर सुनुवार भने विभागले बुझ्ने काम गरिरहेको बताउँछन्। ‘पीडितको गुनासो सुन्ने, सुनिसकेपछि उहाँहरुलाई नेपाल फर्काउनुपर्ने भए त्यसको लागि प्रक्रिया अगाडि बढाइन्छ,’ उनले भने। दुवै पक्षसँग सोधपुछ गर्ने, प्रमाण जुटाउने, इजाजतपत्रवालाले पीडितलाई सन्तुष्ट पार्ने कुरा गरे कामको कुरा गरे छलफल गर्ने र नभए विभागीय हिसाबले काम अगाडि बढाउने उनले जानकारी दिए।
वैदेशिक रोजगारीमा जाने नेपाली कामदारका लागि सरकारले २०७२ सालदेखि नै फ्रि भिसा फ्रि टिकटको व्यवस्था ल्याएको छ। यसअनुसार मलेसिया, जोर्डन, कतार, यूएई, कुवेत र ओमन जान कुनै शुल्क तिर्नु पर्दैन। तर, यो व्यवस्था कार्यान्वयन हुन सकेको छैन। रसिद नदिई म्यानपावर कम्पनीहरुले कामदारसँग शुल्क असुलिरहेका छन्।