काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकाका विदेशमन्त्री एन्टोनी ब्लिन्केनबीच टेलिफोन संवाद भएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार देउवा र ब्लिन्केनबीच मंगलबार राति कुराकानी भएको हो।
त्यसक्रममा युक्रेनमाथि रुसको आक्रमणप्रति विरोध गर्नुका साथै आर्थिक विकास र क्षेत्रीय चुनौतीहरूमा मिलेर अघि बढ्नेबारे कुराकानी भएको बताइएको छ।
विदेश मन्त्री ब्लिन्केनले रुसको अप्रत्याशित आक्रमण र युक्रेनको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताप्रतिको अमेरिकी समर्थनबारे नेपालका प्रधानमन्त्री देउवासँग कुराकानी भएको आफ्नो ट्विटरमा उल्लेख गरेका छन्। साथै, उनले आर्थिक विकास र क्षेत्रीय चुनौतीहरूमा सँगै मिलेर काम गर्न जारी राख्ने विषयमा छलफल भएको पनि बताएका छन्।
प्रधानमन्त्रीको सचिवालयका अनुसार कुराकानीका क्रममा अमेरिकाले नेपालको आर्थिक विकासमा लामो समयदेखि निरन्तर गर्दै आइरहेको सहयोगलाई लिएर प्रधानमन्त्री देउवाले विदेशमन्त्री ब्लिन्केनलाई धन्यवाद दिएका थिए। नेपाल र अमेरिकाबीचको कूटनीतिक सम्बन्ध ७५ वर्ष पुगेको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले अमेरिकाबाट निरन्तर सहयोग रहेको उल्लेख गरेका थिए। साथै, दुई जनाबीचको संवादमा युक्रेनमाथि रुसी आक्रमणको विपक्षमा अमेरिका र नेपाल दुवै रहेको उल्लेख गरेका थिए।
प्रतिनिधिसभाबाट अमेरिकी सहायता परियोजना एमसीसी सम्झौता अनुमोदन भएको दुई दिनपछि प्रधानमन्त्री विदेशमन्त्री संवाद भएको हो। अनुमोदनलगत्तै काठमाडौंस्थित अमेरिकी राजदूतावासले अब एमसीसी सम्झौता कार्यान्वयनको चरणमा अघि बढेको जनाएको थियो।
Good call today with Nepal’s Prime Minister @SherBDeuba to discuss Russia’s unprovoked attack and our support for Ukraine's sovereignty and territorial integrity. We will continue to work closely together on economic development and regional challenges.
— Secretary Antony Blinken (@SecBlinken) March 1, 2022