काठमाडौं– केही दिनयता सामाजिक सञ्जालमा सातवटा साँढेको चर्चा भइरहेको छ। ती साँढे पशुपतिनाथ मन्दिर परिसरमा पाइने वा सडकमा डुलिहिँड्ने साँढे होइनन्। ती त हवाईजहाज चढेर अमेरिकाबाट आइपुगेका साँढे हुन्।
ती ‘अमेरिकी साँढे’ को चर्चा यसकारण पनि बढी भयो कि जुन दिन बहुचर्चित अमेरिकी सहायता परियोजना एमसीसी नेपालको संसद्बाट अनुमोदन भयो, त्यही दिन अमेरिकाबाट ल्याइएका ती साँढेको तस्बिर र सामाचार सार्वजनिक भयो।
सातवटा साँढे एमसीसी पास हुनु दुई दिनअघि शुक्रबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका थिए।
किन ल्याइयो साँढे?
विदेशबाट नेपालमा साँढे ल्याइएको यो दोस्रो पटक हो। यसअघि तत्कालीन राणा प्रधानमन्त्री जंगबहादुर राणाले पहिलो पटक बेलायत भ्रमणबाट फर्किंदा साँढे लिएर आएको इतिहास छ। उनले त्यतिबेला रहरले ल्याएका थिए, तर अहिले दोस्रो पटक भने सरकारले नै बोलपत्र आह्वान गरेको ल्याएको हो।
मेट ग्रुपले कृषि तथा पशुन्छी मन्त्रालयको नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाअन्तर्गत व्यावसायिक गाईपालनका लागि अमेरिकाबाट साँढे ल्याएको हो। गाईपालनबाट किसानको जीवनस्तर उकास्ने उद्देश्यले ७ वटा साँढे ल्याइएको हो। नश्ल सुधारका लागि ल्याइएका पाँच वटा जर्सी र दुई वटा होलस्टिन साँढे नेपाल ल्याउन विश्व बैंकले पनि केही सहयोग गरेको छ।
सुरुमा ती साँढेलाई अमेरिकाको सिकागोबाट बंगलादेश हुँदै ल्याउने योजना बने पनि कोरोना महामारीका कारण नयाँ दिल्ली हुँदै नेपाल वायुसेवा निगमको विमानबाट ल्याइएको हो।
अहिले ती साँढेलाई खुमलटारस्थित पशु क्वारेन्टाइनमा राखिएको छ। ती साँढेलाई केही दिनमै पोखरा पठाइनेछ। त्यहाँ राष्ट्रिय प्रजनन् केन्द्रमा राखिने आयोजनाका अनुगमन अधिकृत डा. केशव भट्टले बताए। ‘ती साँढे नौ महिनादेखि एक वर्षसम्मका छन्। केही वर्षभित्रै ती साँढेबाट नश्ल सुधार भई व्यावसायिक गाईपालनमा सहयोग पुग्नेछ,’ उनी भन्छन्।
अमेरिकाबाट साँढे नेपाल ल्याउन सुरुमा १ करोड ३० लाखको सम्झौता भएको थियो। तर सम्झौता अनुसार समयमै काम हुन नसक्दा खर्च बढेर करिब दुई करोड पुगेको मेट ग्रुपका प्रबन्धक निर्देशक सारिन केसीले बताए। उनले भने, ‘प्रतिसाँढे १८ लाखमा खरिद गरिएकोमा पछि लागत बढ्न जाँदा झण्डै २६ लाख पर्न गएको छ। सम्झौता भएको रकमभन्दा घाटा नै खाएर साँढे नेपाल ल्याइएको हो,’ उनले भने।
‘साँढेको सट्टा विर्य ल्याउनुपर्ने थियो’
सरकारी निकाय र आयातकर्ताले नेपाल ल्याइएका साँढेले देशको व्यावसायिक गाईपालनमा सहयोग पुग्ने बताइरहँदा राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले भने यो केवल हास्यास्पद अभ्यास भएको बताएका छन्। गाईमा कृत्रिम गर्भाधान गराएर नश्ल सुधार गर्न साँढेको विर्यमात्र भए पुग्ने पुनको तर्क छ। उनले प्रश्न गरे, ‘कृत्रिम गर्भाधान गराउन साँढे नै ल्याउनुपर्ने हो र? साँढेको विर्यलाई एकदम चिसो भाँडोमा राखेर ल्याउने र कृत्रिम गर्भाधान गराए हुन्न र?’
राँगा र बोकाको विर्य ल्याएर नेपालमा कृत्रिम गर्भाधान गर्ने प्रचलन सुरु भएको धेरै भइसकेको छ। अमेरिकाबाट पनि साँढेको सट्टा साँढेको विर्य ल्याएर कृत्रिम गर्भाधान गराउँदा पैसा जोगिने पुनको दावी छ।
यसरी गरिनेछ साँढेको विर्य संकलन
व्यावसायिक गाईपालनमा किसानलाई आकर्षण गर्न यो अभ्यास सुरु भएको हो। अमेरिकाबाट ल्याएका ती साँढेलाई केही दिनमा पोखरा लगिनेछ। त्यहाँ रहेको पशु प्रजनन केन्द्र, कृत्रिम गर्भाधान शाखा, सिमेन बैंकका विज्ञ प्राविधिकहरुको सहयोगमा साँढेलाई जीव तथा निर्जिव डमीमाथि चढाइनेछ र आधुनिक प्रविधिद्वारा तयार पारिएको कृत्रिम योनी प्रयोग गरेर विर्य संकलन गरिनेछ।
यसरी संकलन गरिएको विर्य मापदण्डअनुसार प्रयोगशालामा मात्रा, रंग, घनत्व, चाल र अम्लीयपनको परीक्षण गरिनेछ। परीक्षण गर्दा विर्यलाई कन्टामिनेसन हुनबाट जोगाउने प्रयास गरिन्छ। यसरी ५,७ घण्टा लगाएर विर्य संकलन र भण्डारण गरिन्छ। केही समयमा फ्रिजिङपछिको शुक्रकिट फेरि जाँच गरिनेछ। शुक्रकिटको चाल राम्रो भएमा विर्य कृत्रिम गर्भाधानको लागि तरल नाइट्रोजनमा डुबाएर सुरक्षित राखिन्छ र आवश्यकअनुसार वितरण गरिनेछ।
नेपालमा कृत्रिम गर्भाधानको सुरुवात
नेपालमा कृत्रिम गर्भाधानको इतिहास खासै लामो छैन। ०१७ सालमा पहिलो पटक फ्रोजन विर्यबाट काठमाडौंमा कृत्रिम गर्भाधान सुरु गरिएको थियो। तर पर्याप्त प्रविधिको अभावले कृत्रिम गर्भाधान काठमाडौँमै सीमित भयो। राजधानीबाहिर यो प्रविधि पुग्न सकेको थिएन। ०५०–०५२ सालपछि मात्रै कृत्रिम गर्भाधानको सुविधा राजधानीबाहिरका जिल्लाहरुमा पनि पुगेको थियो।
गाउँगाउँसम्म प्राविधिकको पहुँच तथा गर्भाधानको लागि विर्य सहज हुन थालेपछि मात्र कृषकहरु आफ्ना पशुमा कृत्रिम गर्भाधान गराउन आकर्षित बन्दै गएका हुन्। अहिले देशका ६६ जिल्लामा ९ सय ७३ गर्भाधान केन्द्रमार्फत एक हजार एक सय ४१ जना प्राविधिकहरुले पशुको कृत्रिम गर्भाधानमा सहयोग गर्दै आइरहेका छन्।
पछिल्लो समय त विभिन्न राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षमा पनि लोपोन्मुख हुँदै गएका जनावरको अस्तित्व कायम राख्न कृत्रिम गर्भाधान गरिँदै आएको छ। परम्परागत पशुपालनबाट व्यावसायिक पशुपालनतर्फ अघि बढिरहँदा नेपालमा कृत्रिम गर्भाधान सेवाले राम्रै सहयोग गरिरहेको जानकारहरु बताउँछन्। प्राविधिकले एउटा पशुमा गर्भाधान गराएको ३ सयदेखि एक हजार रुपैयाँसम्म शुल्क लिँदै आएका छन्। विभिन्न ठाउँमा रहेका प्रजनन केन्द्रले विर्यको प्रतिडोज २५ रुपैयाँ लिन्छन्।
पछिल्लो समय नेपालमा व्यवसायिक पशुपालन फस्टाएसँगै कृत्रिम गर्भाधानमार्फत सुत्केरी भएका पशुलाई ‘सुत्केरी भत्ता’ दिने प्रचलन पनि सुरु भएको छ। यो प्रचलन देशका विभिन्न जिल्ला लागू भइसकेको छ भने केही जिल्लाहरुमा लागू हुने तयारी छ।
सुत्केरी भएका गाईभैंसीलाई पोषण सुधारका लागि प्रति पशु एक हजार रुपैयाँका दरले ‘सुत्केरी भत्ता’ दिने प्रचलन सुरु भएको हो। हाल विभिन्न जिल्लामा ‘किसानको खुशी, पशुपालन र कृषि’ कार्यक्रमअन्तर्गत यो प्रचलन सुरु भएको हो। भत्ताका लागि पशुधनी कृषकले आफ्नो नागरिकताको प्रतिलिपि र पशुको कृत्रिम गर्भाधान गराएको प्रमाण पत्रसहित निवेदन दिनुपर्ने प्रावधान छ।
किसानलाई व्यावसायिक पशुपालनतर्फ आकर्षित गर्न यो कार्यक्रम निकै फलदायी भएको पशुविज्ञ वसन्त घिमिरे बताउँछन्। उनले भने, ‘किसानलाई व्यवसायतर्फ आकर्षित गर्न पशु बिमा कार्यक्रम छ। यो कार्यक्रम पनि उपयोगी बन्दै गएको छ।’