बुधबार, असार १०, २०८३

महाशिवरात्रि पर्वमा 'जलधारी' गरिँदै

भगवान् शिवलाई पवित्र जल र दूधको धाराले स्नान गराउने परम्परालाई मिथिलामा ‘जलधारी’ भन्ने गरिएको हो। त्यस्तै जौँ, बेलपत्र र धतुरो भगवान् शिवका अतिप्रिय वस्तु रहेका विश्वासमा अर्पण गर्ने हिन्दू मैथिल परम्परा छ।
 |  मंगलबार, फागुन १७, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन १७, २०७८

महोत्तरी- मिथिला क्षेत्रमा आज महाशिवरात्रि पर्वका अवसरमा माङ्गलिक उत्सवका बीच ‘जलधारी’ मनाइँदै छ। पर्वका दिन मध्यरातयता शिवालयमा भक्तजन ‘जयशम्भो’ को करतल ध्वनिबीच शिवलिङ्गमा पवित्र जल, गाईको दूध, जौँ, बेलपत्र र धतुरो चढाएर ‘जलधारी’ गर्दैछन्। भगवान् शिवलाई पवित्र जल र दूधको धाराले स्नान गराउने परम्परालाई मिथिलामा ‘जलधारी’ भन्ने गरिएको हो। त्यस्तै जौँ, बेलपत्र र धतुरो भगवान् शिवका अतिप्रिय वस्तु रहेका विश्वासमा अर्पण गर्ने हिन्दू मैथिल परम्परा छ।

National life

पर्वका अवसरमा महोत्तरीको अति प्राचीन जलेश्वर–१ स्थित श्री जलेश्वरनाथ महादेव मन्दिरमा मध्यरातयता दर्शनार्थी भक्तजनको अपार भीड देखिँदो छ। बितेका पछिल्ला दुई वर्ष कोरोना महाव्याधिको जगजगीले महाशिवरात्रि पर्व पनि प्रभावित भएको थियो। तेस्रो वर्ष पर्व मनाइरहँदा आम श्रद्धालुले महाव्याधि कष्ट निवारण गर्न भगवान् शिवको पुकारा गरेका सुनिन्छ।

श्री जलेश्वरनाथ अनादिकालमा भगवान शिव आफैँले प्रतिस्थापित गर्नुभएको महालिङ्ग भएको शिव पुराणमा वर्णन छ। त्यसैगरी जिल्लाकै बर्दिवास–५ स्थित चुरे पर्वत काछको श्री टुटेश्वरनाथ मन्दिरमा हजारौँ श्रद्धालु मन्दिर परिसरमा ‘जयशम्भो’ भन्दै जलधारा गर्न आफ्नो पालो पर्खेर पङ्क्तिबद्ध छन्। पूर्वपश्चिम राजमार्गको टुटेश्वरचोकबाट आठ किलोमीटर सघन वनक्षेत्र पैदलयात्रा गरेपछि पुगिने चुरे पहाडी शृङ्खलाअवस्थित टुटेश्वरनाथ मन्दिरमा वर्षेनी लाखौँ दर्शनार्थी धार्मिक प्रयोजनले पुग्ने गरेका बर्दिवास–५ का वडाध्यक्ष दलबहादुर थापामगर बताउनुहुन्छ।

यस्तै भङ्गाहा–५ सिद्धपुरस्थित श्री सिद्धनाथ, सोनमा गाउँपालिकाको मगरथानास्थित श्री मङ्गलनाथ र जिल्लाका २० भन्दा बढी शिवालयमा ‘जलधारी’  गर्नेहरूको घुइँचो  छ। महाशिवरात्रि पर्वसँगै जोडिएर मिथिलामा मिथिला माध्यमिकी परिक्रमा र लगत्तै सँगसँगै फागु (होली) पर्व मनाइने परम्परा हुँदा महाशिवरात्रिलाई धार्मिक र सांस्कृतिक उत्सवको प्रारम्भका रूपमा लिने गरिएको मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापिठ (संस्कृत क्याम्पस)का साहित्य विषयका सहप्राध्यापक ध्रुव रायको भनाइ छ।

पर्वका अवसरमा श्रद्धालुले चढाउने पूजा सामग्रीको महाशिवरात्रि मेलामा राम्रो व्यापार चलेको छ। फूल, बेलपत्र, जौँ र धतुराको फूल र फल बेचेर नै आज सामान्य गरिबले मनग्गे आम्दानी गरेका छन्। त्यसैगरी भाकलमा भाण्टाको भार चढाउने मैथिल परम्परा छ। यो भाकलसँग जोडेर पर्वमा भाण्टाको भारको बिक्री पनि निकै देखिन्छ। मिथिलामा महाशिवरात्रिका दिन  शिवलिङ्गमा ‘जलधारी’ गरेर उपवास बस्ने परम्परा छ। महाशिवरात्रिको उपवासले इच्छित फल प्राप्त हुने र मृत्युपछि कैलाशवास हुने विश्वास गरिन्छ।   रासस

Shivam cement

प्रकाशित: Mar 01, 2022| 09:05 मंगलबार, फागुन १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।