काठमाडौं- जीटूजीमार्फत् ५ वर्षका लागि रासायनिक मल खरिद गर्न नेपाल र भारत सरकारबीच सम्झौता भएको छ। सोमबार दुई देशका अधिकारीहरुबीच भएको भर्चुअल वार्तामा यस्तो सम्झौता भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जानकारी दिएको छ।
मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलका अनुसार जीटूजी व्यवस्थामा रहेर आगामी पाँच वर्षका लागि नेपाललाई रासायनिक मल दिन भारतसँग समझदारी भएको हो।
सम्झौतामा नेपालको तर्फबाट कृषि तथा पशुपन्छी विकास डा.गोविन्द प्रसाद शर्मा र भारतको तर्फबाट भारत सरकार रसायन एवं मल मन्त्रालयका सचिव राजेश कुमार चतुर्वेदीले सो समझदारी पत्रमा हस्ताक्षर गरेका छन्।
नेपालको कुल मल खपतको ३० प्रतिशत मल भारतबाट ल्याउन जीटूजी गरिएको हो। मल खरिदका लागि भएको प्रारम्भिक समझदारी अनुसार नेपाललले चार वर्षसम्म भारतबाट वर्षेनी एक लाख ५० हजार मेट्रिकटन रासायनिक मल खरिद गर्नेछ । समझदारीको पाँचौँ वर्षमा भने साढे दुई लाख मेट्रिकटन मल भारतबाट ल्याइने छ।