काठमाडौं- ५ सय मिलियन डलरको अमेरिकी अनुदान सहायता (एमसीसी) सम्बन्धी सम्झौतामा नेपालले हस्ताक्षर गरेको ५३ महिनाको बहुमतसहित प्रतिनिधि सभाबाट अनुमोदन भएको छ। लामो समय विवादित भएको एमसीसी 'अनुमोदन दिन’को रुपमा २०७८ फाल्गुण १५ गते नेपालको इतिहासमा दर्जा हुने छ।
त्यसो त एमसीसी अनुमोदन गर्ने अन्तिम महिना राजनीतिक वृत्त तरंगित भइरह्यो। शेरबहादुर देउवा नेतृत्वको गठबन्धनका दलहरू र विपक्षी नेकपा एमालेबीच श्रृंखलाबद्ध छलफल भइरहे। यी सबै छलफललाई सञ्चारमाध्यमदेखि आम नागरिकसम्मले चासोपूर्वक लिएका थिए।
आइतबार (फागुन १५) राति ९ बजे एमसीसी अनुमोदन भएको छ। आइतबार बिहानको गठबन्धन बैठकले १२ बुँदे व्याख्यात्मक टिप्पणीसहित एमसीसी पारित गर्ने सहमति जुटाएको थियो। यद्यपि गठबन्धनकै केही सांसदहरूले भने एमसीसीको विरोध गरेका थिए।
आइतबार दुईपटक बसेको प्रतिनिधि सभा बैठकले एमसीसी अनुमोदन गर्न सफल भयो। यसमा प्रधानमन्त्री देउवालाई सफलता मिलेको छ। प्रमुख प्रतिपक्षी दल हुँदादेखि सरकारको नेतृत्व गर्दासम्म एमसीसी पारित गर्नुपर्ने धारणा राख्दै आएका देउवाले गठबन्धनका दललाई मनाएर एमसीसीलाई टुंगोमा पुर्याएका हुन्।