शनिबार, साउन १२, २०८१
  • गृहपृष्ठ
  • समाज
  • पल प्रकरणमा अर्को जाहेरी : गैँडाकोट रिसोर्टमा सुटिङ लम्ब्याएर करणी गरेको आरोप

पल प्रकरणमा अर्को जाहेरी : गैँडाकोट रिसोर्टमा सुटिङ लम्ब्याएर करणी गरेको आरोप

फरार भएको चार दिनपछि अभिनेता पल शाहले तनहुँ प्रहरीसमक्ष आत्मसमर्पण गरेपछि पीडित परिवार उनीविरुद्ध अर्को जाहेरी लिएर नवलपरासीस्थित इलाका प्रहरी कार्यलय गैँडाकोट पुगेको छ।
 |  आइतबार, फागुन १५, २०७८

अनिल यादव

अनिल यादव

आइतबार, फागुन १५, २०७८

काठमाडौं– फरार भएको चार दिनपछि कलाकार पल शाहले तनहुँ प्रहरीसमक्ष आत्मसमर्पण गरेपछि पीडित परिवार उनीविरुद्ध अर्को जाहेरी लिएर नवलपरासीस्थित इलाका प्रहरी कार्यालय गैँडाकोट पुगेको छ। 

triton college

यसअघि आफ्नो नाबालिग छोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा जिल्ला प्रहरी कार्यलयमा तनहुँमा जाहेरी दिएका पीडितका बुबा यतिखेर अर्को जाहेरी दर्ताका लागि गैँडाकोट पुगेका हुन्। आरोपी पल जिल्ला प्रहरी कार्यालय तनहुँको नियन्त्रणमा छन्। 

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख एसपी राजेन्द्रबाबु रेग्मीका अनुसार पल शाह पक्राउ परेपछि अनुसन्धानका लागि अदालतबाट सात दिनको म्याद लिइएको छ। रेग्मीले भने, ‘हामीले उनीविरुद्धको कसुरमा अनुसन्धान सुरु गरिसकेका छौं। पीडितलाई न्याय दिनेगरी अनुसन्धानमा कुनै कसुर बाँकी राख्नेछैनौं।’

किन गैँडाकोट?

पलको घर दाङ र पीडित किशोरीको घर कास्की हो। तर, पीडित जाहेरी पहिलो जाहेरी लिएर तनहुँ पुगेको थियो। कारण, पीडितको आरोपअनुसार पलले अन्तिम पटक यौन शोषण गरेको स्थल तनहुँ जिल्लाको दुलेगौडा भन्ने स्थानमा हो। त्यसैले कास्की प्रहरीले घटना तनहुँ प्रहरीको क्षेत्राधिकारभित्र परेको भन्दै त्यता जान सुझाएको थियो। 

अब जिज्ञासा हुनसक्छ, तनहुँ प्रहरीले पललाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेकै दिन पीडित किन गैँडाकोट पुग्नुपर्यो? १७ वर्षिया नाबालिगको आरोपअनुसार पलले उनीमाथि पटकपटक विभिन्न प्रलोभन देखाउँदै शारीरिक सम्बन्ध राखेका थिए। जसमध्ये एउटा प्रमुख स्थल हो– गैँडाकोट। 

Metro Mart
vianet

पीडितले प्रहरीसमक्ष दिएको जाहेरीमा आफूमाथि पलले ०७७ चैत ७ गते गैँडाकोट रिसोर्टमा पटकपटक जबर्जस्ती करणी गरेको आरोप छ। नेपाल समयले प्राप्त गरेको जाहेरी पत्रअनुसार त्यहाँ उनीहरु गीतको सुटिङका लागि पुगेका थिए, त्यो पनि एक दिनका लागि मात्रै।

तर, पलले सुटिङ पाँच दिनसम्म लम्ब्याइ जबर्जस्ती करणी गरेको आरोप पीडितले लगाएका छन्। ‘मेरो छोरीलाई एक दिनका लागि भनेर सुटिङमा लगिएको थियो,’ पीडितका बुबाले दिएको जाहेरीमा भनिएको छ,‘तर, एक दिनमा सुटिङ नसकेर भोलिपल्ट सुटिङ गर्ने भनी मेरो छोरीलाई सुटिङका लागि तयार गराइयो। त्यसपछि सुटिङ क्यान्सिल गरी पाँच दिनसम्म राखेर मेरो छोरी सुतेको कोठामा मादक पदार्थ ल्याई छोरीलाई जबर्जस्ती मादक पदार्थ पिलाएर पटक पटक करणी गरियो।’

अब के हुन्छ प्रक्रिया?

प्रहरीको नियन्त्रणमा पुगेका पललाई जिल्ला प्रहरी कार्यालय तनहुँले आजबाट आफ्नो हिरासतमा राखेर अनुसन्धान सुरु गर्ने तयारी थालेको छ। हिरासतमा राख्नका लागि जिल्ला अदालतबाट आजै म्याद थप गर्ने तयारी छ। 

मुलुकी अपराध संहिता २०७४ को दफा २१९ अनुसार १८ वर्ष नपुगेकी बालिकालाई सहमतिमा पनि यौन सम्पर्क गर्न मिल्दैन। यसरी यौन क्रियाकलाप गरेको देखिएमा जबर्जस्ती करणी मानिने व्यवस्था छ। दफा २१९ (२) मा भनिएको छ, ’कसैले कुनै महिलालाई निजको मन्जुरी नलिई करणी गरेमा वा मन्जुरी लिएर भए पनि अठार वर्षभन्दा कम उमेरको कुनै पनि बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जवर्जस्ती करणी गरेको मानिन्छ।’

पलविरुद्ध परेको जाहेरी उनले विभिन्न स्थानमा गरेको यौन शोषण मितिसहित उल्लेख गरिएको छ। यो मुद्दामा पल र पीडितको बयान अनुसन्धानको प्रमुख आधार त हुन्छ नै, सँगसँगै घटना अलि पुरानो भएकाले प्रहरीले परिस्थितिजन्य प्रमाणलाई नै अनुसन्धानको मुख्य आधार बनाउने देखिएको छ। पलले नाबालिग किशोरीसँग यौनजन्य गतिविधि स्वीकार गरेको अडियोलाई पनि प्रहरीले ल्याबमा जाँच गरेर प्रमाणका रुपमा पेश गर्ने तयारीमा छ। त्यस्तै अनुसन्धानका क्रममा प्रहरीले घटना भएको स्थान, त्यहाँ उपस्थित भएका मान्छे सबैको बयान लिनेछ। 

प्रहरीले अनुसन्धान सकाएर अदालतमा मुद्दा दर्ता गरेपछि हुने फैसलाले नै न्यायको बाटो तय हुनेछ। अदालतमा कसुर गरेको पुष्टि भए उनीमाथि १० देखि १२ वर्षसम्म जेल सजाय हुने अधिवक्ता अरुण पौड्यालले बताए। 

यसअघिको जाहेरीमा के छ?

पीडित परिवारले बुधबार जिल्ला प्रहरी कार्यालय तनहुँमा दिएको जाहेरीमा विगत तीन महिनादेखि छोरीले काममा मन नलगाएर एकोहोरो बस्न थालेपछि त्यसको कारण खोतल्दै जाँदा पल शाहले देखावटी मायाप्रेमकाे बहाना गर्दै जबर्जस्ती करणी गरेको आरोप छ। 

पलले ती नाबालिग गायिकासँग विभिन्न गीतको सुटिङ गर्ने क्रममा पोखरा, चितवन, बागलुङ, तनहुँ समेतका स्थानमा सुटिङ सकिएपछि राति होटलमा बास बस्ने क्रममा पटकपटक जबरजस्ती करणी गर्न खोजेको आरोप पनि जाहेरीमा उल्लेख छ। 

पीडितका बुबाले दिएको जाहेरीमा पलले ०७७ चैत ३१ गते बागलुङको गलकोट महोत्सव जाने-आउने क्रममा ती नाबालिगमाथि गाडीमा सँगै बसेर यात्रा गर्ने क्रममा संवेदनशील अंग चलाउने, जिस्काउने, समात्नेजस्ता कार्य गरेको समेत उल्लेख छ। जाहेरीमा उल्लेख भएअनुसार त्यतिबेला उक्त यात्रामा पलसँगै कलाकारहरु दुर्गेश थापा, योगेश काजी, सम्राट चौलागाई, कृष्ण जोशी पनि थिए।

त्यसपछि गत वैशाख १४ गते पोखराको एक घरमा रहेका बेला पलले मदिराको तालमा ती नाबालिग बसेको कोठामा गएर ललाईफकाइ ‘बिहे गर्छु, धोका दिन्न’ भन्ने विश्वास दिलाइ असहमति हुँदाहुँदै जबर्जस्ती करणी गरेको आरोप पनि जाहेरीमा लगाइएकाे छ।

के भन्छन् पल शाह?

कलाकार शाहले आफूमाथि लागेको आरोप अहिलेसम्म स्वीकार गरेका छैनन्। फेसबुकमा स्टाटस लेख्दै आफूमाथि षड्यन्त्र भएको आरोप उनले लगाएका छन्। यद्यपि सार्वजनिक भएका केही अडियो सुन्दा उनले नाबालिग किशोरीसँग यौनजन्य गतिविधि गरेको स्वीकार गरेका छन्।  

यतिखेर सिनेमा हलमा पल अभिनित फिल्म ‘म यस्तो गीत गाउँछु–२’ प्रदर्शनरत छ। रिलको कथा रियलमा पनि मेल खान जाँदा फिल्मका निर्देशक सुदर्शन थापा चकित छन्। कारण, यो फिल्ममा पनि पल स्टार कलाकारको भूमिकामा छन्, जो क्लाइमेक्समा आफ्नो अपराधका कारण प्रहरी हिरासतमा पुगेका छन्। 

पल निकट स्राेतका अनुसार पल चार दिन फरार रहनुको कारण फिल्म युनिटकै डिजाइनअनुसार हो। ‘शुक्रबार र शनिबार हुने फिल्मको व्यापारमा असर नपरोस् भनेर पललाई प्रहरीबाट लुकाइएको थियो,’ फिल्म युनिटकै एक सदस्यले भने। 

यो तथ्य पलले नै आइतबार बिहान स्टाटस लेखेर स्वीकार गरेका छन्। तर, उनले फिल्मलाई मात्रै कारण देखाएका छैनन्, घर व्यवहार मिलाउनु परेका कारण पनि प्रहरीबाट भाग्नुपरेको बताएका छन्। ‘म घरको एक्लो गार्जियन हो। घर–व्यवहार मिलाउनु थियो,’ उनले भनेका छन्, ‘प्रहरीमा सरेन्डर गरेपछि घरमा जे पनि अवस्था आउन सक्छ। घरमा बुवा, मम्मी र बहिनी मात्र छन्। त्यसैले सबै मिलाउनुपर्दा प्रहरीमा उपस्थित हुन ढिलाइ भएको हो। यसका लागि माफी चाहन्छु।’

आफू अभिनित फिल्मले अहिले हलमा राम्रो व्यापार गरेको खबर सुन्दा खुशी भएको बताउँदै उनले प्रहरीसँग एकपटक दर्शकसँग फिल्म हेर्ने माहोल सिर्जना गरिदिन आग्रह पनि गरेका छन्। 

‘नेपाली फिल्म दर्शकसँग बसेर हेर्ने तीन–चार वर्षदेखिको सपना थियो,’ उनले आग्रह गर्दै भनेका छन्, ‘मैले सुनेअनुसार शुक्रबार र शनिबार फिल्मले राम्रो व्यापार गरेको छ रे। त्यसमा खुसी लागेको छ। मेरो एउटा इच्छा छ। अब सम्भव हुन्छ कि हुँदैन, एकचोटि दर्शकसँग बसेर ‘म यस्तो गीत गाउँछु २’ हेर्न चाहन्छु। सम्भव भयो भने एकचोटिलाई यो मौका मिलाइदिनु होला ।’

यद्यपि प्रहरीको नजरमा पल यतिखेर अभिनेता नभएर अभियुक्त भइसकेका छन्, त्यसैले यो सुविधा पाउने सम्भावना पक्कै छैन।  



प्रकाशित: Feb 27, 2022| 16:14 आइतबार, फागुन १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।