काठमाडौं- अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेसन एमसीसी अनुदानको विषय पर्यटन क्षेत्रमा पनि प्रवेश गरेको छ। नेपाल ट्रेकिङ ट्राभल्स र्याफ्टिङ, एयरलाइन्स, साँस्कृतिक, पुरातात्विक कार्गो, कुरीयर श्रमिक युनियन (युनिट्राभ)को तेह्रौं राष्ट्रिय अधिवेशनमा एमसीसीको विषय उठेको हो।
नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्रप्रसाद रिजालले एमसीसीका कारण देश नै द्वन्द्वमा जान सक्नेतर्फ बेलैमा सचेत बनेर राजनीतिक नेतृत्वले उचित निर्णय लिनुपर्ने बताए। मुलुकलाई भड्काउन लागिपरेकाहरुबाट सचेत बन्नुपर्ने भन्दै उनले सार्वभौमिकता रक्षा, विकास एवं समृद्धिमा लाग्नुपर्ने बताएका थिए।
उपाध्यक्ष रिजालले पर्यटन क्षेत्रमा सामाजिक सुरक्षा कार्यक्रम लागू नगर्ने सामन्ती प्रवृत्ति हटाउनुपर्ने आवश्यकता औंल्याएका थिए।
कार्यक्रममा नेपाल ट्रेड यूनियन महासंघका अध्यक्ष विनोद श्रेष्ठले योगदानमा आधारित सामाजिक सुरक्षामा ४५ अर्ब रुपैयाँ जम्मा भएको र त्यसप्रति सरकारले गिद्देनजर लगाइरहेको भन्ने विषय बाहिरिएको भन्दै श्रमिकको पसिनामाथि आँखा नलगाउन चेतावनी दिए।
श्रमिकलाई प्रविधिमैत्री बनाएर अगाडि बढ्न जिफन्टले जिफन्ट एप्स लञ्च गर्ने तयारी गरिरहेको र एप्समार्फत सबै श्रमिकको समस्या देशका जुनकुनै स्थानबाट समाधान गरिने उनको दाबी थियो।
कार्यक्रममा यूनिट्राभका अध्यक्ष सुमनप्रसाद पराजुलीले दुई वर्षदेखि कोभिड पीडित बनेका पर्यटन श्रमिकलाई राज्यले नहेरेकोमा दुखेसो व्यक्त गरे। जलवायु परिवर्तनका कारण पर्यटन क्षेत्रमा रोजगारीसहित अन्य क्षेत्रमा चुनौति थपिएको भन्दै सामाजिक सुरक्षामा सबै श्रमिकलाई लैजाने प्रतिबद्धता व्यक्त गरे।