बुधबार, असोज १४, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • युक्रेनसँगको नेपाल साइनो : भूगोल र भावनाले टाढा तर सिधा व्यापारिक सम्बन्ध

युक्रेनसँगको नेपाल साइनो : भूगोल र भावनाले टाढा तर सिधा व्यापारिक सम्बन्ध

युक्रेन संकटको असर तत्काल सुन, पेट्रोलियम पदार्थ र खाने तेलमा पर्ने व्यवसायीहरुको भनाइ छ। नेपालमा उत्पादन हुने खाने तेलका लागि आवश्यक ९० प्रतिशत तोरी र सूर्यमुखीको दाना युक्रेनबाट आयात हुने गरेको छ।
 |  शुक्रबार, फागुन १३, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन १३, २०७८

काठमाडौं– पूर्वी युरोपको एउटा मुलुक युक्रेन अहिले विश्वभर चर्चामा छ। कारण– शक्ति राष्ट्र रसियाले उसमाथि हमला गरेको छ। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको आदेशसँगै जल, स्थल र हवाई सेनाले युक्रेनका विभिन्न सहरमा आक्रमण थालेका छन्।

भूगोल र भावनाका हिसाबले युक्रेन नेपालभन्दा टाढा छ। तर, नेपाल र युक्रेनबीचको सिधा व्यापारिक सम्बन्ध छ। गत आर्थिक वर्षमा युक्रेन नेपाललाई सबैभन्दा धेरै वस्तु विक्री गर्ने मुलुकमा छैटौं स्थानमा थियो भने चालू आर्थिक वर्षको पहिलो सात महिनामा आठौं स्थानमा छ।

नेपाल र युक्रेनबीच वार्षिक करिब साढे १७ अर्ब रुपैयाँको व्यापार हुन्छ। चालू आर्थिक वर्षको पहिलो ७ महिना (साउनदेखि माघ) सम्म नेपालले १४ अर्ब ४२ करोड ३३ लाख रुपैयाँबराबरको वस्तु युक्रेनबाट आयात गरेको छ। नेपालले युक्रेनबाट खाने तेलको कच्चा पदार्थ, केराउ, मोबाइल, तयारी कपडालगायत आयात गर्छ। युक्रेनसँगको निर्यात व्यापार भने निकै कम छ। नेपालबाट कार्पेट, चिया र चित्रकला युक्रेन निर्यात भएको भन्सार विभागको तथ्यांक छ।

रुस–युक्रेन तनाव लम्बिए त्यसको असर नेपाली अर्थतन्त्र हुँदै हाम्रो भान्सा र दैनिकीसम्मै पर्ने देखिएको छ। युक्रेन संकटको असर तत्काल सुन, पेट्रोलियम पदार्थ र खाने तेलमा पर्ने व्यवसायीहरुको भनाइ छ। नेपालमा उत्पादन हुने खाने तेलका लागि आवश्यक ९० प्रतिशत तोरी र सूर्यमुखीको दाना युक्रेनबाट आयात हुने गरेको छ।

त्यहाँबाट आएको कच्चा पदार्थ प्रशोधन गरेर यहाँका उद्योगले भारततर्फ तेल निर्यात गर्छन्। सूर्यमुखी तेलको निर्यातले नेपालको व्यापार घाटामा केही राहत हुँदै आएको थियो। गत आर्थिक वर्षमा युक्रेनबाट १६ अर्ब रुपैयाँभन्दा बढीको भटमास, कच्चा तोरी र सनफ्लावर तेलको कच्चा पदार्थ आयात भएको तथ्यांक छ।

रसिया–युक्रेन युद्धका कारण पछिल्लो एक महिनायता नेपालमा तोरी र सूर्यमुखीको दाना आयात हुन नसकेको व्यवसायीहरुले बताएका छन्। ‘अहिले स्टकमा रहेको कच्चा पदार्थबाट उत्पादन गरिरहेका छौं। स्टकले कति नै धान्छ र,’ वीरगन्जका एक खाने तेल उद्योगीले भने।

युक्रेन संकटको असर तत्काल सुन, पेट्रोलियम पदार्थ र खाने तेलमा पर्ने व्यवसायीहरुको भनाइ छ। नेपालमा उत्पादन हुने खाने तेलका लागि आवश्यक ९० प्रतिशत तोरी र सूर्यमुखीको दाना युक्रेनबाट आयात हुने गरेको छ।

उता रुस र युक्रेनबीच सुरु भएको तनावले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य पनि बढेर अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ। विभिन्न युरोपेली मुलुकसहित अमेरिकाले रूसमाथि प्रतिबन्ध लगाएपछि कच्चा तेलको मूल्य सात वर्षयताकै उच्च विन्दुमा पुगेको छ। त्यसको असर नेपालमा पनि स्वतः पर्छ, किनभने नेपालमा खपत हुने सबै प्रकारको इन्धन आयात हुने हो। इन्धनको मूल्य बढेपछि त्यसको असर सडकदेखि भान्सासम्म पर्छ।

तस्बिर : बीबीसी

रुस–युक्रेन तनावले संसारभरकै आपूर्ति व्यवस्थामा असर पर्ने भएकाले सुन र कच्चा तेलको मूल्य अकासिन थालिसकेको छ। नेपाली बजारमा पनि सुनको मूल्य बढ्न थालिसकेको छ, किनभने यहाँ अन्तर्राष्ट्रिय मूल्यकै आधारमा सुनको मूल्य तय हुन्छ। बिहीबार एकैदिन सुन तोलामा २५ सय बढेर ९९ हजार रुपैयाँ पुग्यो।

अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेकोले नेपाली बजारमा पनि सुनको मूल्य बढेको सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिकरत्न शाक्यले बताए। पछिल्लो समय निरन्तर रुपमा सुनको मूल्य घटबढ भइरहेकोमा रुस–युक्रेन तनाव बढेपछि सुनको मूल्य ह्वात्तै बढेको उनको भनाइ छ। अन्तर्राष्ट्रिय राजनीतिमा तनाव बढ्दा सुन, चाँदीजस्ता बहुमूल्य धातुमा लगानी गर्दा सुरक्षित हुने भएकाले लगानी बढ्ने हुँदा यसको असर सुनको मूल्यमा पर्ने गरेको शाक्यले बताए। नेपालमा अन्तर्राष्ट्रिय मूल्यको आधारमा सुनचाँदीको मूल्य निर्धारण गरेर बजारमा कारोबार हुने गरेको छ। मूल्य बढेर कति पुग्छ भनेर यकिनका साथ भन्न नसकिए पनि घट्ने अवस्था भने नरहेको शाक्यले स्पष्ट पारे।

प्रकाशित: Feb 25, 2022| 08:15 शुक्रबार, फागुन १३, २०७८
प्रतिक्रिया दिनुहोस्