काठमाडौं– एक हप्ताअघि लोकगायक कुमार बस्नेतले फोन गरेका थिए जयनन्द लामालाई। बस्नेतले भेट्न मन लागेको बताए। आफू सुटिङमा भएको कुरा गरेका रहेछन् लामाले। सुटिङ सकेर कुमारलाई भेट्न आउँला भनेर लामाले बचन पनि दिएका रहेछन्। कुमारका लागि लामाको त्यो बचन सम्झनामा मात्रै रहन पुग्यो।
बुधबार बिहान लोकगायक तथा हास्यकलाकार जयनन्द लामाको निधनको खबरले कुमार बस्नेत स्तब्ध भए, ‘भेट्ने भनेको थियो, नभेटेरै गयो।’
लामाको सांगीतिक यात्राले बामे सर्दै गर्दादेखि कुमार बस्नेत नजिक हुन्। कुमार बस्नेत, राम थापा र लामाको लोक सांगीतिक यात्रा सँगैसँगै रह्यो। वरिष्ठ नृत्य कलाकार भैरवबहादुर थापाका शिष्य थिए तीनैजना। कुमार भन्छन्, ‘राम थापा, जयनन्द लामा र म एकै ब्याजको जस्तो हो। हामी नृत्यकार भैरव बहादुर थापाको प्रडक्ट थियौं।’
बस्नेतले लामा भैरव नृत्यको सदस्य हुन पुगेको सम्झिए, ‘जयनन्द २०२६ सालमा भैरवनृत्य दलको सदस्य जोडिएको थियो। उसले गीत गाएर गुरु (भैरवबहादुर थापा)को मन जितेको थियो। लामाको सांगीतिक यात्रा नृत्यबाट सुरु भएको भए पनि गाएर भैरवनृत्यका सबै सदस्यलाई चकित पारेको कुमारले सम्झिए, ‘पहिला नाच्नेले पनि गाउँथे, गाउने पनि नाच्थे। त्यसैले हामी कहीँ न कहीँ जोडिन्थ्यौं।’
लामाको सांगीतिक यात्राले बामे सर्दै गर्दादेखि कुमार बस्नेत नजिक हुन्। कुमार बस्नेत, राम थापा र लामाको लोक सांगीतिक यात्रा सँगैसँगै रह्यो। वरिष्ठ नृत्य कलाकार भैरवबहादुर थापाका शिष्य थिए तीनैजना।
जयनन्दलाइ गुनी कलाकारको रुपमा लिन्छन् कुमार। सबैसँग मिल्न सक्ने, सबैसँग हाँसिमजाक गरिरहनुपर्ने। काममा अत्यन्तै गम्भीर, गायनमा पनि उत्तिकै चनाखो थिए। कुमार भन्छन्, ‘जयनन्दले आफूलाई एकै प्रतिभामा सीमित राखेन। ऊ नाच्थ्यो, गाउँथ्यो र अभिनय पनि गर्थ्यो। अहिले त लोक स्टारको जज पनि थियो।’
जयनन्द लामाले जस्तो बाजा पनि सजिलै बजाउने। छिटो सिक्न सक्ने खुबी रहेको बताउँछन् कुमार। एक सयभन्दा बढी चलचित्रमा अभिनय गरेका लामाले संगीतको सिद्धान्त र वर्णमालामाथि किताब पनि लेखे। धेरै गायक तथा संगीतकारका गुरु पनि बने। भैरवनृत्य दलले २०३० सालमा युरोपमा भएको सांगीतिक कार्यक्रममा लामा र बस्नेत सँगसँगै थिए। उनको गीतबाट प्रभावित भएर युगोस्लाभियाका तत्कालीन राष्ट्रपति र बेल्जियमकी महारानीले जयनन्दसँग हात मिलाएको पनि सम्झिए।
विश्व संगीत दिवसको अवसर पारेर जर्मनी देशमा गरेको सांगीतिक यात्रामा जयनन्दले पनि अद्भूत प्रस्तुति दिएको सम्झिए कुमारले। भन्छन्, ‘उसको प्रतिभा फराकिलो थियो। १ सय १२ देशमा सांगीतिक प्रस्तुति दिएर पहिलो हुने हाम्रो टिम थियो, जहाँ जयनन्दको पनि योगदान रह्यो।
२०१३ सालमा सिन्धुपाल्चोकको बाह्रबिसेमा जन्मिएका लामा आफ्नो सांगीतिक करियर तामाङ भाषाको गीतबाट सुरु गरेका थिए। पहिलोपटक उनले रेडियो नेपालमा गीत गाउन अवसर पाए। उनको सांगीतिक यात्राले विस्तारै बजार हुँदै दरबारसम्म पनि पुग्यो। दरबारमा उनले युवराज दीपेन्द्र शाहलाई संगीत सिकाए। दरबारमै बसेर फाइन आर्टमा स्नातक पनि गरे। २०३२ सालमा प्रज्ञा प्रतिष्ठानमा जागिरे भएपछि उनी भारतको इलाहाबादमा संगीत विश्वविद्यालयमा मास्टर्स पढ्न गए। मास्टर्स सकेर उनी नेपालको सांगीतिक क्षेत्रमा नै संघर्ष गर्न थाले।
२०१३ सालमा सिन्धुपाल्चोकको बाह्रबिसेमा जन्मिएका लामा आफ्नो सांगीतिक करियर तामाङ भाषाको गीतबाट सुरु गरेका थिए। पहिलोपटक उनले रेडियो नेपालमा गीत गाउन अवसर पाए। उनको सांगीतिक यात्राले विस्तारै बजार हुँदै दरबारसम्म पनि पुग्यो।
उनले गीत मात्रै गाएनन्, उनी शब्द संकलन र भाका टिप्न पनि माहिर थिए। सांगीतिक यात्रामा उनले १९ वटा त गीति एलबम नै निकाले। ती दिनहरुमा क्यासेट बिक्री नहुँदाका दुःख पनि भोगे। क्यासेटदेखि युट्युबको जमानासम्म उनले निरन्तर गीत गाए। कलाकर्ममै सक्रियता देखाए। लोकगायक नन्दकृष्ण जोशी लामालाई सेलो गीत गाउन सक्ने एक मात्र गायक ठान्छन्। आफू भन्दा सिनियर भएकोले जोशी लामालाई दाइ भन्थे। भन्छन्, ‘दाइको म तीनवटा कुरा कहिल्यै बिर्सिन्न। एक तामाङ सेलो गीतमा उहाँले जस्तो गाउने कोही छैनन्, दोस्रो अति फरासिलो गायक हो उहाँ र तेस्रो संगीतको कुनै भाषा हुँदैन भन्ने मान्छे।’
गायक तथा संगीतकार नारायण रायामाझीले पनि आफ्नो सांगीतिक यात्रामा लामा जोडिन पुगेको सम्झिए– सायद तपाईंले लिएको रेडियो नेपालको वाद्यवादक परीक्षा, स्वर परीक्षामा म पहिलो वा दोस्रोपटकमै सफल भएको भए मैले संगीत साधना हो जीवन संघर्ष हो भन्ने कुरा बुझ्थेँ या बझ्दिनथें। हजुर मेरो जीवनको मार्गदर्शक हा।, मनभरिका ती अतीतका सम्झनाहरु सबै एकदिन पोखाैला भन्ने यो मनको धोको अधुरै रह्यो।’
मौलिक शब्द, मौलिक भाका र जनजिब्रोमा आउने टोन उनको गीतको विशेषता नै हुन्। मुलाको चाना उही चाना, पानी पर्यो बलेसी, हेलम्बु डाँडापारी, मेरो माया छ भने त्यता, कलकत्ते काइँयो केश मेरो बांगो, लौन हजुर के गरौं नक्कलीलाई पातलीलाई कसरी बे गरुँ, केको साँचो डल्ली रेशम फलामको साँचो, पानको पात, सलल पानी यही बस्यो बानी आँखैमा गाँजलु काखैमा मादलजस्ता दर्जनौं लोकगीत अहिले पनि लोकप्रिय छन् लामाका।
लामा लोकगायक मात्रै थिएनन्। उनी गीत संकलक, अभिनेता, निर्माता, निर्देशक हुँदै ‘नेपाल लोक स्टार’ रियालिटी शोका जज पनि भए। मौलिक गीत बाजा र लोक गायनमा स्थापित लामाको जज गर्ने शैलीले मुग्ध पार्थ्यो सबैलाई। बोल्दाबोल्दै हँसाउन सक्ने खुबी भएका लामाको निधनले लोक गायिका सुनिता दुलाललाई नरमाइलो लागेको छ।
लोक गायिका सुनिता दुलाल र लामाबीच हिजो अर्थात् १० गते फोनमा कुरा भएको थियो। नयाँ गीतको रेकर्ड कहिले गर्ने भन्ने फोनमा लामै कुराकानी गरेकी थिइन् सुनिताले लामासँग। त्यो संवाद नै अन्तिम भयो। रेकर्ड गर्न बाँकी गीत पनि छुट्यो। ‘उहाँसँग सिक्न सकिने धेरै कुराहरु थिए। उहाँको अगाडि त हामी केही होइन। नयाँ रियालिटी शोको निर्णायक भूमिकाका लागि हामीले अग्रिम पैसा पनि लिएका थियौं। केही कार्यक्रम सक्ने योजना पनि थियो। सबै अधुरै रह्यो।’
लामा लोकगायक मात्रै थिएनन्। उनी गीत संकलक, अभिनेता, निर्माता, निर्देशक हुँदै ‘नेपाल लोक स्टार’ रियालिटी शोका जज पनि भए।
२०४३ सालमा रेडियो नेपालमा अधिराज्यव्यापी लोकगीत प्रतियोगिता थियो, जहाँ नन्दकृष्ण जोशी प्रथम भएका थिए। अरुले नगाएका गीत गाउनुपर्छ भन्ने लामाले जोशीलाई भनेको एक घटना सम्झिए, ‘तिम्रो देउडा गीत प्रथम हुन्छ भनेर गाउनु भन्दा पहिला नै भन्नुभएको थियो र प्रथम नै भयो। जज गर्न सक्ने अद्भूत क्षमता थियो उहाँसँग।’
संगीतकार बीबी अनुरागी जयनन्दको फरासिलो स्वभाव सम्झिन्छन्, ‘उहाँसँग हिँडेपछि कुनै पनि ठाउँमा हाँसो रोक्न सकिन्नथ्यो। धनगढीबाट काठमाडौं फर्कने क्रममा कति दिनसम्म सँगै हिँडेको थिएँ। कति छिटो यात्रा सकिन्थ्यो, पत्तो पाइन्नथ्यो।’
पछिल्लो समय जयनन्दको तामाङ गीतमा बीबीले एरेन्ज गर्दै थिए। त्यसपछि बाँकी थुप्रै काम गर्ने योजना बनेको थियो उनीहरूको। ‘बिडम्बना! दाइ रहनुभएन। हाम्रो योजना पनि रहेन। केवल उहाँसँगका सुन्दर स्मृतिहरू छन्। जसले हामीलाई ऊर्जा दिइरहन्छन्,’ बीबीले भने। आफूले जयनन्दको संगतले संगीतका सैद्धान्तिक ज्ञानबारे धेरै कुरा सिकेको बीबीले सुनाए। लामाले लोक सांगीतिक क्षेत्रमा आएको छाडापनका विरुद्ध सधैं बोले। पचासको दशकपछि लोकसंगीतमा आएको विकृतिपछि दुई दशक त गीत नै गाएनन्।
अभिनयमा पनि अब्बल
२०२७ सालबाट गायनमा लागेका लामा लोकगीतमा मात्रै होइन, अभियनमा पनि लोकप्रिय थिए। हास्य रसको अभिनय उनलाई सुहाएको पनि थियो। क्यारिकेचर पनि उनी उम्दा गर्थे। बहुमुखी प्रतीभाका धनी लामाको संवाद पनि निकै रमाइलो हुन्थ्यो। भाषालाई सजिलो बनाउने हो, अप्ठ्यारो बनाउने होइन भन्थे उनी। छक्कापन्जा चलचित्रमा लामाले बोलेको संवाद धेरैले सम्झिन्छन्– ‘ज्वाइँले बहिनी कुटेछ। राम्रो, धेरै राम्रो, तर कुटेको अलि मिलेन, त्यही भएर मान्छे कसरी कुट्ने भनेर सिकाउन आएको।’
यस्ता थुप्रै लोकप्रिय संवादले दर्शकको मन जितेका थिए लामाले। ‘दीपक भाइ! गायकको रुपमा त मेरो एउटा परिचय बनेको थियो तर अभिनयले त मलाई घरघरमा पुर्यायो,’ अभिनेता तथा निर्माता दीपकराज गिरीसँग लामाले भनेका थिए। दुवैले एकसाथ ‘छक्कापन्जा–३’मा काम गरेका थिए। लामाको हाँस्ने शैलीबाट गिरी सधैं मोहित थिए। गिरीले लामाको त्यो शैलीलाई चलचित्रमा पनि प्रयोग गरे।
गिरी भन्छन्, ‘उहाँको हाँसो सुनेपछि एउटा छुट्टै माहोल बन्थ्यो। उहाँको सकारात्मक सोच र विन्दासपना पनि थियो। मस्तमौला जस्तो स्वभाव थियो।’ गिरी फेसबुकमा लेख्छन्, ‘जीवन बगैंचाको फूलजस्तै हो। फूलेपछि झर्नैपर्छ तर सम्झनाका फाँटहरुमा उहाँसँग बितेका हरेक पलहरु सधैं फुली नै रहनेछन्। छक्कापन्जा–४ मा सँगै काम गर्ने सपना अधुरै रह्यो।’ हरिवंश आचार्यले पनि आफ्नो कला यात्राको सारथी भन्दै लामालाई सम्झिएका छन्।
छक्कापन्जा चलचित्रमा लामाले बोलेको संवाद धेरैले सम्झिन्छन्– ‘ज्वाइँले बहिनी कुटेछ। राम्रो, धेरै राम्रो, तर कुटेको अलि मिलेन, त्यही भएर मान्छे कसरी कुट्ने भनेर सिकाउन आएको।’
सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–२ धार्पा पुर्ख्यौली घर भएका लामा भक्तपुरको मध्यपुर थिमी नगरपालिका–३ कौशलटारमा बस्थे। उनले हिन्दी सिनेमामा समेत काम गरे। देव आनन्द र ऋषि कपुरसँग काम गरेका थिए लामाले। केही समयअघि उनले ‘फोरेन बडी’ नामको हलिउड फिल्ममा पनि काम गरेका थिए। लामाले २०३० सालमा बनेको चलचित्र ‘मनको बाँध’ मा पहिलोपटक अभिनय गरेका थिए। पछिल्लो समय उनी ‘हल्का रमाइलो’ नामको टेलिश्रृखंलामा काम गरिरहेका थिए।
आज (बुधबार) बिहान करिब सात बजे लामा आफ्नै घर अगाडि मृत भेटिए। प्रहरीले लामाको शव पोस्टमार्टमका लागि अस्पताल पठाएको छ। रिपोर्ट आएपछि मृत्युको यकिन कारण खुल्ने प्रहरीको भनाइ छ।