झारखण्ड- विहारका पूर्वमुख्यमन्त्री तथा राष्ट्रिय जनता दलका प्रमुख लालुप्रसाद यादवलाई ५ वर्षको जेल सजाय सुनाइएको छ। झारखण्डस्थित सीबीआईको विशेष अदालतले ५ वर्ष जेल सजायका साथै ६० लाख भारतीय रुपयाँ जरिवाना हुनुपर्ने फैसला सुनाएको हो।
फर्जी बिलमा गैरकानुनी तरिकाले रकम निकासा गरेको आरोप यादवमाथि लगाइएको थियो। झारखण्ड राज्यसँग जोडिएको पशुपालन घोटाला प्रकरणमा पूर्वमुख्यमन्त्री रहेका यादवलाई विपक्षी बनाएर मुद्दा दायर भएको थियो।
सन् २०१७ मा पशुपालन घोटालामा सज़ाय सुनाइएपछि लालु यादव ८ महिने जेलमा बसेका थिए। यसका साथै उनी ३१ महिना अस्पतालमा पनि बसेका थिए। अदालतले फैसला सुनाउनुअघि भने उनी जमानतमा रिहा भएका थिए।
'लालु यादव ३० अगस्ट २०१८ मा राँचीस्थित राजेन्द्र इन्स्टिट्युट अफ मेडिकल साइन्समा सिफ्ट हुनुभएको थियो। त्यहाँ उहाँ १३ फेब्रुअरी २०२१ सम्म रहनुभयो। यसपछि उहाँलाई दिल्लीस्थित एम्स अस्पतालमा सिफ्ट गिएको थियो,' टाइम्स अफ इन्डियासँग लालु यादवका वकिल प्रभात कुमारले भनेका छन्।
सन् १९९० को दशकमा पशुपालन प्रकरणमा करोडौं रकम घोटाला भएको भन्दै चर्चित भएको थियो। यो प्रकरणमा सीबीआईले हालसम्म ६६ मुद्दा दायर गरेको छ। यसमध्ये ६ मुद्दामा विहारका तत्कालीन मुख्यमन्त्री लालुलाई पनि अभियुक्त बनाइएको थियो। विहारको विभाजन भएपछि ५ मुद्दा भने झारखण्डमा ट्रान्सफ़र भएका थिए। लालु जोडिएका ४ मुद्दामा उनी दोषी ठहर भइसकेका छन्। तैपनि उनलाई जमानतको सुविधा मिल्दै आएको थियो।