आइतबार, जेठ ६, २०८१

हार्मोनियम उस्ताद हरेराम, जो नारायण गोपालसँग संगीतसँगै मदिराको लतमा परे

जीवनमा पहिलोपटक नारायाण गोपाललाई राष्ट्रिय नाचघरमा भेटेका थिए उनले। नाचघरमा एक गीतका अभ्यासका लागि नारायण गोपालले ६ महिना लगाएको उनलाई अझै सम्झना छ।
 |  शनिबार, माघ २९, २०७८

राज सरगम

राज सरगम

शनिबार, माघ २९, २०७८

काठमाडौं– ‘यहाँ हार्मोनियम मर्मत गरिन्छ’ लेखिएको बोर्ड असनको नहङ्कनतल चोकको दायाँपट्टीको पुरानो घरको ढोकामाथि छ। यही बोर्डमुनी साँघुरो काठको ढोका छ, ढोकाबाट प्रवेश गरेसँगै नयाँ–पुराना हार्माेनियमले स्वागत गर्छन्। काठको ठाडो सिँढी उक्लिएर पहिलो तलामाथि जाँदा स–साना खोपाजस्ता लाग्ने कोठा आउँछन्।

triton college

पहिलो कोठामा पनि तबला र हार्मोनियम छन्, किलाकाँटी र हार्मोनियमका किबोर्डहरु छरपरष्ट छन्। भित्री कोठाबाट भने बेलाबेला हार्माेनियमको मन्द स्वर सुनिने र रोकिने हुन्छ। यही कोठाबाट ढोका निकालिएको अर्को भित्री कोठामा पश्चिम र पूर्वतिर झ्याल छ। झ्यालको उज्यालोको सहारामा हार्मोनियम बनाइरहेका भेटिए, हरेराम साह।

जीवनको ६ दशक नाघिसकेका हरेरामका कपाल र दाह्रीजुँगा फुलिसकेका छन्। माघको जाडो छल्न उनको काँधमा गलबन्दी थियो। हरेराम असनको दिलहर्क तुलाधरको घरमा ४४ वर्षदेखि हार्मोनियम बनाउँदै आएका छन्।

२०३४ सालतिर बुवा चितवनको टाँडीमा बसेर गाउँघरमा हार्माेनियम बनाउँथे। एकदिन जमिन्दारले काठमाडौं हिँड भने, हरेरामका बुबा आफ्नो सीपलाई फराकिलो बनाउन काठमाडौं आए। बुबाको हात समाएर काठमाडौं आएका हरेरामले पहिलोपटक टेकेको ठाउँ असनको यही चोक थियो, जहाँ अहिलेका जस्ता सटर थिएनन्। भन्छन्, ‘म आउँदा सटर त के फूलबुट्टे ढोकासम्म थिएनन्। फल्याकको ढोका उचालेर लगाउनु पर्थ्यो।’

जीवनको ६ दशक हार्माेनियमका सुर मिलाएरै बिताए उनले। अझै पनि उनका हात हार्माेनियमका तारहरुसँग खेलिरहेका हुन्छन्। हारर्माेनियम नछोएको दिन दिन उनलाई चैन मिल्दैन, हात सकसकाउँछन्। कानले हार्माेनियमको सुर नसुने के छुटे के छुटेजस्तो लाग्छ उनलाई। बेसुरा बनेको हार्मोनियमलाई केही घण्टा सुमसुम्याएपछि आफैंले तारहरुमा औंला चलाउँछन्, र ग्राहककै अगाडि सुनाउँछन्–सारेगमप... ।

corrent noodles
Metro Mart

जीवनको ६ दशक नाघिसकेका हरेरामका कपाल र दाह्रीजुँगा फुलिसकेका छन्। माघको जाडो छल्न उनको काँधमा गलबन्दी थियो। हरेराम असनको दिलहर्क तुलाधरको घरमा ४४ वर्षदेखि हार्मोनियम बनाउँदै आएका छन्।

२०३४ सालबाट असनको नहङ्कनतल चोकमा जब हार्माेनियमका तारहरु बज्न थाले, हरेरामका बुवा चिनिँदै गए। बुवासँगै हरेराम पनि चिनिन थाले, किनकि हजुरबुवा र बुवाले गर्दै आएको हार्मोनियम बनाउने पेशालाई उनले पनि बाल्यकालदेखि अँगालेका थिए। उनी बिस्तारै सुरको रसमा पस्न थाले। त्यो बेला अहिलेको जस्तो काम पाइँदैनथ्यो, रुची भएकासँग मात्रै हार्माेनियम हुन्थ्यो। गीतसंगीतमा रुची भएकाले हार्मोनियम भारततिरबाट लिएर आउँथे। अनि ट्युन बिग्रियो भने भारत कानपुरतिर जाने गर्थे। उनी भन्छन्, ‘त्यो बेलामा अहिलेको जस्तो कमाइ हुँदैनथ्यो। भजन किर्तन र रेडियो नेपालतिर गाउने बजाउने कलाकारसँग मा हार्मोनियम हुन्थ्यो।’

२०३८ साल हिउँदको एकदिन हार्मोनियम मर्मत गर्न पसलमै आइपुगेका थिए वरिष्ठ वाद्यवादक भगत सिंह (संगीतकार राजु सिंहका बुवा)। लुरे हरेराम बुवाको आज्ञाअनुसार बागबजारस्थित सिंहको घरमा पुगेर हार्मोनियम बनाउन गए। त्यसपछि उनको सांगीतिक यात्रामा जोडिए नेपालमा प्रख्यात गायक संगीतकार।

संयोग के थियो भने– कलकत्ताबाट गोपाल योन्जनले ल्याएको हार्मोनियम कतै ठोक्किएर बेसुरा भएछ । त्यसपछि त्यो हार्मोनियम बनाउन भगत सिंहले हरेरामलाई बोलाए।

हरेरामले जब हार्मोनियम मर्मत गरे, त्यसपछि भगत सिंहका मात्रै नभएर गोपाल योञ्जनको समेत प्रिय बन्न पुगे। तीस र चालिसको दशकमा महेन्द्र पुलिस क्लब कलासंगीतको लागि गतिलो प्लेटफर्म थियो । त्यहाँ एकसेएक कलाकार पुग्थे। सबै आफ्नो प्रतिभामा खारिएर पुगेका थिए। हरेराम पनि आफ्नो काममा निपुर्ण थिए। उनी भन्छन्, ‘त्यहाँ हार्मोनियम बजाउने मानिसको अभाव खड्किरहेका वेला भगत सिंह र गोपाल योञ्जन दाजुले मलाई त्यहाँ पुर्याउनु भएको थियो। महेन्द्र पुलिस क्लबमा ०३९ सालतिर मैले काम गर्न थालेँ।’

२०३९ साल पुस १४ गतेको एक किस्सा सुनाए हरेरामले। महेन्द्र पुलिस क्लबमा प्रत्येक वर्षको पुस १४ गते राजारानीको जन्मोत्सवमा सांगीतिक कार्यक्रम हुन्थ्यो । यस्ता अवसर पारेर कलाकारहरुले प्रत्यक्ष कार्यक्रमहरु गर्न पाउँथे। नेपालका चर्चित गायक संगीतकार जमघट गरेर गीत–संगीतको प्राक्टिस गर्थे। त्यही वेला नेपालका चर्चित वाद्यवादकदेखि गायक–संगीतकारसँग उनको संगत हुन थाल्यो। सानो कद, हँसिलो अनुहार। बोल्दा मधेशतिरको टोन आउँथ्यो। कतिपयले त उनलाई पत्याउँदैनथे, यस्तो बेला उनी निराश पनि हुन्थे। तर जब मञ्चमा पुगेर हार्मोनियम बजाउँथे, सबै चकित पर्थे। ‘संगीतका हस्तीसँग अत्यन्तै लगावका साथ हामी अभ्यास गर्ने गर्थ्यौं,’ उनी थप्छन्, ‘त्यही अभ्यासका कारण मलाई नेपालका चर्चित गायक संगीतकारले माया गर्न थाल्नुभयो।’

हरेरामले जब हार्मोनियम मर्मत गरे, त्यसपछि भगत सिंहका मात्रै नभएर गोपाल योञ्जनको समेत प्रिय बन्न पुगे।

उनलाई सबैभन्दा बढी माया गर्ने संगीतकार गोपाल योञ्जन नै थिए। उनले सबैभन्दा बढी संगत पनि उनैसँग गरे। ‘म गोपाल योञ्जन दाइको प्रिय थिएँ। उहाँ विन्दास मान्छे। दिलदार पनि,’ बोल्दाबोल्दै नोस्टाल्जिक भए हरेराम। पहिलो पुस्ताका संगीतकारमा गोपाल योञ्जनलाई गम्भीर संगीतकारका रूपमा लिन्छन् उनी । योञ्जनसँग संगत गर्दा आफूले थप सिक्न पाएको उनको अनुभव छ। भन्छन्, ‘गोपाल दाइले हार्मोनियम ठिक्क बजाऊ है भन्नुहुन्थ्यो।’ गोपाल योञ्जनसँग संगत गर्न पाएकोमा आफूलाई भाग्यमानी पनि ठान्छन् उनी। भन्छन्, ‘म कुनै विद्वान मान्छे होइन, तर विद्वानसँग संगतचाहिँ गरेँ। त्यसैले धन्य भएको महशुस हुन्छ।’

योञ्जनसँग हरेरामले कार्यक्रमहरुमा मात्रै संगत गरेनन्, योञ्जनको घरदेखि सहरका गल्लीहरुमा पनि सँगसँगै हुन्थे। योञ्जनसँगको संगतपछि हरेराम कैयौं रात घर नै फर्किएनन्। पुतलीसडकका भट्टी पसलदेखि असनका गल्लीमा गोपाल योन्जनसँग उनी कैयौँपटक हिँडे। ‘गोपाल दाइले कहिल्यै पनि आफूभन्दा जुनियरलाई हेपेर बोल्नु भएन, मलाई कहिल्यै तँ भन्नुभएन,’ हरेराम सम्झिन्छन्।

संगीतकार आभास र अमृत गुरुङ अहिले पनि आफ्नो हार्मोनिमय बिग्रिएमा हरेरामलाई नै सम्झिन्छन्। आफ्ना संघर्षका दिनदेखि नै आभासले हरेरामसँग हार्मोनियम मर्मत गराएका छन्। आभास भन्छन्, ‘हरेरामलाई राम्रो ट्युनरका रूपमा चिन्छु। हरेरामले बाजा मात्रै होइन, संगीत पनि बुझेको छ।’

मान्छेको काम प्यारो हुने हो, हरेरामको काम पनि नेपाली संगीतकारका लागि प्रिय थियो। उनको कामको प्रशंसा एकदिन राष्ट्रिय गीतका संगीतकार अम्बर गुरुङसम्म पुग्यो। जीवनमा अम्बर गुरुङलाई गुरु मानेका हरेराम भन्छन्, ‘पहिलोपटक अम्बर गुरुङसँग फत्तेमान काकाले भेटाइदिनु भएको थियो।’

ज्ञानेश्वरको त्यो पुरानो कोठामा पुग्दा संगीतका गुरुप्रति नमन गरेका थिए उनले। अम्बर गुरुङलाई भेटेको दिनपछि उनको जीवनमा बदलाब मात्रै आएन, संगीतमा पनि धेरैथोक सिकेको बताउँछन्। भन्छन्, ‘उहाँले स–साना कुरा सिकाउनुहुन्थ्यो, उहाँको सिकाइ अद्भूत थियो। हार्मोनियम बजाउँदा चाहिने अनुशासन अम्बर गुरुबाटै सिकें।’

उनले एक किस्सा सुनाए। अम्बर गुुरुङको घरमा आउजाउ हुन थालेपछि उनी गुरुङको प्रिय भए। यस्तैमा एकदिन अम्बर गुरुङले घरमा भेट्न बोलाएको खबर पाए। तर उनी एक हप्ता पछि मात्रै भेट्न पुगे। हप्ता दिनपछि अम्बरका अगाडि उभिएका हरेरामलाई हेरेर गुरुङले भनेको उनले सम्झिए– उहाँले मलाई के भन्नुभयो भने तिमी त असली व्यापारी भएछौ। म त लाजले भुतुक्कै भएँ केही बोल्न सकिनँ।‘

संगीतकार आभास र अमृत गुरुङ अहिले पनि आफ्नो हार्मोनिमय बिग्रिएमा हरेरामलाई नै सम्झिन्छन्। आफ्ना संघर्षका दिनदेखि नै आभासले हरेरामसँग हार्मोनियम मर्मत गराएका छन्।

कम बोल्ने धेरै काम गर्ने स्वाभावका लाग्थ्यो उनलाई अम्बर गुरुङ। भन्छन्, ‘उहाँको हार्मोनियम २५ वर्ष बनाएर सेवा गरें र धेरै कुरा सिकेँ पनि। घरमा व्यापारका कुरा चले पनि उनले भेट्ने गायक संगीतकारसँग संगीतका कुरा हुन्थे। गीतका कुरा हुन्थे। काम र संगतले उनलाई गायक बन्ने रहर पलाउँदै आयो। तिमी गाउन सक्छौ हरेराम भनेर उनलाई धेरैले हौसला दिएको सम्झिए, ‘मलाई गाउन हौसला त दिन्थे तर गाइन। मलाई मेरो स्वरमा कत्ति रुची थिएन।’

गीतै नगाए पनि हरेरामले गीतसंगीत क्षेत्रमा लागेका गायक संगीतकारलाई यादगार ट्युनिङ दिएका छन्। संगीतकार राजु सिंह भन्छन्, ‘हरेराम काठमाडौं आउँदा म दश वर्षको थिएँ । बुबा (भगत सिंह) सँग संगत गर्नुहुन्थ्यो । त्यो बेला गतिलो ट्युनरको अभाव थियो । हरेरामको आगमनले नेपाली सांगीतिक फिल्डमा राम्रै स्थान पायो।’

चालिसको दशकको समय थियो, संगीतकार नातीकाजीले एउटा गीतमा हार्मोनियम बजाएको २५ रुपैयाँ दिएको उनी अहिले पनि सम्झन्छन्, ‘त्यसवेला २५ रुपैया पनि धेरै थियो। दश वटा हार्मोनियम मर्मतको पैसा बजाएर आउन थालेपछि उनले बनाउन भन्दा पनि बजाउनतिर आफूलाई केन्द्रित गरे। हरेराम स्वरस्रमाट नारायण गोपालसँग पनि १० वर्ष सँगै हिँडे । यो एक दशकमा उनी गीतसंगीतको लतमा परे। सँगै असनका गल्लीमा पाइने लोकल मदिराको लतमा पनि परे। गोपाल योञ्जन र नारायण गोपालसँग पिउन नडराउने हरेरामले अम्बर गुरुङको अघि भने कहिल्यै पिएनन्। भन्छन्, ‘अम्बर गुरुसँग जहिल्यै लुकेर खाएँ। गोपाल दाइ र नारायण दाइले भने सँगै राखेर पिलाउनुहुन्थ्यो।’

जीवनमा पहिलोपटक नारायाण गोपाललाई राष्ट्रिय नाचघरमा भेटेका थिए उनले। नाचघरमा एक गीतका अभ्यासका लागि नारायण गोपालले ६ महिना लगाएको उनलाई अझै सम्झना छ। नारायण गोपालपछि उनले गणेश रसिक र रमेश ताम्राकारसँग भेट गर्न पाए। भन्छन्, ‘गणेश दाइको हार्मोनियम त अहिले पनि मै बनाउँछु। उनका प्रिय गोपाल योञ्जन र नारायण गोपाल त थिए नै। अर्का कलाकार थिए वरिष्ठ संगीतकार मदन परियार। मदनबाट उनी साह्रै प्रभावित थिए। हरेराम भन्छन्, ‘मदन दाइ आरडी बर्मनको शिष्य हुनुहुन्थ्यो र चालिसको दशकमा उहाँजति हार्मोनियम बजाउने अरु कोही थिएनन् र उहाँ जस्तोसुकै बाजा बजाउन सक्नुहुन्थ्यो।’

जीवनमा हार्मोनिम बनाउने सीपले एकसेएक प्रतिभावान गायक कलाकारलाई भेटेर धन्य भएको बताउने हरेरामले २०४१ सालमा भूपि शेरचनको हार्मोनियम मर्मत गर्ने अवसर पाए राष्ट्रिय प्रज्ञाप्रतिष्ठानमा। भन्छन्, ‘भूपि शेरचन दाजुलाई भेट्दा म पट्ठा थिएँ। त्यो पहिलो भेटपछि उहाँसँग हार्मोनियम बनाउने बेला मात्रै भेट हुन्थ्यो।

अर्को एक किस्सा सुनाए हरेरामले। संघर्षका दिनमा गायक संगीतकारको डेरा असन आसपास हुन्थ्यो। ती दिनहरुमा गायक प्रकाश श्रेष्ठ, दीप श्रेष्ठ र गायक संगीतकार प्रकाश गुरुङ भोटे बहालमा डेरा गरेर बसेको याद छ। कहिले हार्मोनियम मर्मत त कहिले बजाउनका लागि उनी प्रकाश गुरुङको टिमलाई भेट्न जान्थे। त्यतिखेर रिमा गुरुङ सानै थिइन्, हरेरामको काखमा लुटपुटिन्थिन्। प्रकाश भन्छन्, ‘ ‘हार्मोनियमका लागि एकमात्र टेक्निसियन हरेराम हो। उनको हातमा परेपछि जस्तोसुकै हार्मोनियम पनि सुरमा आउँछ।’

पुराना गायकहरुमा दीप श्रेष्ठलाई उनी अझै सम्झिन्छन्। पहिला पहिला गायक संगीतकारको घरमा पुगेर बनाउनु पथ्र्यो, तर नयाँ पुस्ताका संगीतकारको घरमा भने उनी जान सकेका छैनन्। बुढ्यौलीमा असनकै त्यही पुरानो घरमा हार्मोनियमसँग भुलिरहेका हुन्छन्। दीप श्रेष्ठले भने उनलाई अझै घरमै बोलाउँछन् हार्माेनियम बनाउन।

जीवनमा पहिलोपटक नारायाण गोपाललाई राष्ट्रिय नाचघरमा भेटेका थिए उनले। नाचघरमा एक गीतका अभ्यासका लागि नारायण गोपालले ६ महिना लगाएको उनलाई अझै सम्झना छ।

२०४० सालमा रेडियो नेपालमा पनि पुगेका थिए उनी। आफूलाई शास्त्रीय संगीतको विद्यार्थी ठान्ने हरेरामले रेडियो नेपाल र नेपाल टेलिभिजनमा हुने कार्यक्रममा पनि खुबै हार्मोनियम बजाए र मर्मत पनि गरे। त्यहाँ  उस्ताद कुमार लाल श्रेष्ठ, वाद्यवादक शुभबहादुर सुनाम, गायक प्रेमध्वज प्रधान, कमलप्रसाद क्षेत्री, गायक प्रकाश श्रेष्ठ, गायक संगीतकार फत्तेमान राज भण्डारीसँग उठबस गर्न पाए।

कलकत्ता, मुम्बई, दार्जिलिङबाट हार्मोनियम लिएर पनि फाइन ट्युन गर्नका लागि मुरलीधरदेखि भारतीय गायक मेहदी हसन, पंकज उदास, गुलाम अलीसमेतले नेपाल आउँदा हार्माेनियमका स्वर उनैले मिलाउँथे । हरेराम ०३८ सालदेखि ०४२ सम्म हार्मोनियमको ट्युन मिलाउन राजदरबार पनि पुगे । उनलाई दरबार पुर्याएका थिए, कर्णेल चितबहादुर गुरुङले। हरेरामले कर्णेलदेखि राजपरिवारका सदस्यका हार्मोनियमको सुर बनाए । राजा वीरेन्द्रले भनेको कुरा उनी अहिले पनि सम्झिन्छन्, ‘उहाँ भन्नुहुन्थ्यो, तँलाई के चाहियो हरेराम? म शीर झुकाउँदै भन्थेँ, महाराजको दर्शन भए पुग्छ हजुर।’

४४ वर्षदेखि बस्दै आएको घरका घरबेटीलाई उनी भगवान ठान्छन्। सुरुमा उनी मासिक १५० रुपैयाँ भाडा तिर्थे । अहिले ३० हजार भाडा तिर्दै आइरहेका छन्। २०४०–५० सालतिर एउटा हार्मोनियमलाई २६५ मा बेच्थे, हरेराम । मर्मत गरेको ६ रुपैयाँसम्म लिन्थे ।

ती दिनहरुमा पैसा कम भए पनि काममा भने इमान्दारिता थियो र फाइन काम हुन्थ्यो। भन्छन्, ‘पहिला कान प्रधान थियो, अहिले डिजिटल भयो। राम्रो नराम्रो यन्त्रले बताउन थालेपछि सुरको ज्ञान हराउन थालेको छ। अहिले त डिजिटलले राम्रो नराम्रो बताइदिन थाल्यो, तर क्रियएन कमजोर भयो। आजको समयमा सुरको बारेमा अत्यन्तै कम मान्छेलाई थाहा छ। कुन नोट बेसुरा हो भन्ने कुरा पनि छुट्याउन नसक्ने भए।’

हार्मोनियम मर्मत गरेर उनले आफूलाई मात्रै स्थापित गराएनन्, तीन सन्तानलाई डाक्टर पढाए। जेठो छोरा लभ कुमार साहले एमबिबिएस सकाएर पाटन अस्पतालमा कार्यरत छन्। दोस्रो सन्तान संगीता साहले पनि बंगलादेशबाट एमबिबिएस फाइनल गरेकी छिन् र कान्छो छोरो अमित कुमार साह पनि एमबिबिएस अन्तिम वर्षमा अध्ययनरत छन्। निद्रामा पनि आफ्ना तीन सन्तानलाई डाक्टर बनाउँछु भनेर हरेराम बरबराउने गरेको उनकी श्रीमतीले सुनाइन्। हरेराम भन्छन्, ‘कृृष्णप्रसाद कोइरालाले तीन भाइ छोरालाई प्रधानमन्त्री बनाउन सक्छन् भने म तीन सन्तानलाई डाक्टर बनाउन किन सक्दिनँ?’

ती दिनहरुमा पैसा कम भए पनि काममा भने इमान्दारिता थियो र फाइन काम हुन्थ्यो। भन्छन्, ‘पहिला कानप्रधान थियो, अहिले डिजिटल भयो। राम्रो नराम्रो यन्त्रले बताउन थालेपछि सुरको ज्ञान हराउन थालेको छ। अहिले त डिजिटलले राम्रो नराम्रो बताइदिन थाल्यो, तर क्रियएन कमजोर भयो।'

संगीतकारले संगीत गरेर र आफूले हार्मोनियम मर्मत गरेर नेपाली संगीतको सेवा गरेको बताउँछन् उनी। अहिले उनी देशैभर हार्मोनियम बनाउने उस्तादका रुपमा चिनिन्छन्। ४४ वर्षको यो लामो यात्रामा उनलाई पूर्व मेचीदेखि पश्चिम कालीसम्मको माया कमाएको लाग्छ। भन्छन्, ‘हार्मोनियम बनाउनका लागि देशभरिले मलाई सम्झिनु नै माया त हो।’

हार्मोनियम बनाएरै उनले मनमैजुमा चार आना घरसहितको चार आना घडेरी किने। कुनै समय असनको यही चोकमा हार्मोनियम बजाएर यही सुत्ने गर्थे। तर, जेठो छोरा डाक्टर भएर फर्किएपछि घर जान र आउने लोकल गाडी चढ्नुपरेको छैन। छोराले नै ल्याउने–लाने गर्छन्। भन्छन्, ‘छोरोले गाडी किनेदेखि मलाई पसलमा छोडेर ड्युटी जान्छ, बेलुका लिन आउँछ।’

आफूले गरेको कामलाई तिनै सन्तानले सहयोग गर्दै पढेकोले अहिले डाक्टर पढाउन सकेको बताउँछन् हरेराम। भन्छन्, ‘मेरा छोराछोरीले खुबै हातोमालो गरे यो काममा।’ उनका डाक्टर सन्तानले अब हार्मोनियम पक्कै नबनाउलान् तर उनले जन्माएका शिष्यहरु भने सहरभरि हार्मोनियम मर्मत पसल खोल्न थालिसकेका छन्।

प्रकाशित: Feb 12, 2022| 16:20 शनिबार, माघ २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।
जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।
चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।