आइतबार, जेठ ६, २०८१

भाषा र भूगोलमा नबाँधिएकी लता मंगेशकर, यसरी सम्झिए नेपाली कलाकारले

निरन्तरको साधना, तपस्या, लगन र अनुशासनले आवाजको दुनियाँमा एक युग रचेर लताले नेपाली सांगीतिक उद्योगलाई पनि गुन लगाएकी छन्।
 |  आइतबार, माघ २३, २०७८

राज सरगम

राज सरगम

आइतबार, माघ २३, २०७८

काठमाडौं– पूर्वीय संगीतको मूल विधा शास्त्रीय संगीतका साथै चलचित्रका गीत गायनमा पौने शताब्दी दिएकी गायिका लता मंगेशकर आइतबार बिहान ९२ वर्षको उमेरमा महाप्रस्थान भइन्। एक महिना अगाडिमात्रै कोरोना संक्रमित भएर आईसीयूमा भर्ना भएकी मंगेशकरको मुम्बईस्थित ब्रीच क्यान्डी अस्पतालमा बिहान ८ बजे निधन भएको थियो। 

triton college

अब्बल र जादूमयी कोकिल आवाजकी धनी लताले असाधारण सांगीतिक यात्राका क्रममा ३६ भाषामा ५० हजारभन्दा बढी गीत गाइन्। भारतको मध्य प्रदेशस्थित इन्दोर सहरमा सन् १९२९ सेप्टेम्बर २९ का दिन जन्मिएकी लताले पाँच वर्षको उमेरदेखि बुवा दिननाथ मंगेशकरबाट सांगीतिक यात्रा सुरु गरेकी थिइन्। लताले लताले नेपालको सांगीतिक क्षेत्रलाई समेत योगदान दिएकी छिन्। 

निरन्तरको साधना, तपस्या, लगन र अनुशासनले आवाजको दुनियाँमा एक युग रचेर लताले नेपाली सांगीतिक उद्योगलाई पनि गुन लगाएकी छन्। 

नेपालको पहिलो चलचित्र ‘माइतीघर’का दुई गीतमा स्वर दिएकी छन् उनले। निजी क्षेत्रबाट निर्माण गरिएको ’माइतीघर’मा भारतीय कलाकार माला सिन्हाले अभिनय गरेकी थिइन्। यही फिल्मका गीतमा लता र आशा भोश्लेले स्वर दिएका थिए। 

राजा महेन्द्रले लेखेको गीत ‘जुन माटोमा मेरो’, र ‘आकाशमा तिरमिरे तारा’ जस्ता गीतमा लताले स्वर दिएकी छन्। संगीत गरेका थिए जयदेवले। लतालाई जयदेवको संगीतमा तयार भएको ‘जुन माटोमा मेरो’ बोलको गीत गाउन गाह्रो लागेको थियो। रामकृष्ण ढकालसँग गाएको ‘बाँचुन्जेलीलाई’ लताले गाएको अन्तिम नेपाली गीत बन्यो।  

corrent noodles
Metro Mart

लताको निधनपछि संगीतकार शम्भुजित बाँस्कोटा उनीसँग बिताएको एक घण्टा स्मरण गरेका छन्। बाँस्कोटाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘दिदीसँगको त्यो एक घण्टा मैले बिताएको क्षण र नेपाली गीत संगीतप्रतिको दिदीको त्यो श्रद्धा र मायाप्रेम सधै‌भरि अटल अमर रहनेछ। लता दिदीले आफ्नै क्यामराबाट खिच्न लगाएको यो तस्बिर सधैंसधैं भर आशिर्वाद र प्रसाद भइरहनेछ।’

लता मंगेशकरसँग शम्भुजीत बाँस्कोटा
लताको निधनप्रति नेपाली कलाकार तथा सांगीतिक क्षेत्रका अन्य स्रष्टाहरुले दुःख व्यक्त गरेका छन्। कलाकार दीपकराज गिरी सामाजिक सञ्जालमा लेख्छन्, ‘संसारमा मानिसलाई झुक्याउने जादूगर धेरै होलान् तर आफ्नो कलाले मन्त्रमुग्ध पार्ने जादूगर कमै छन्। उनै जादूगरमध्येकी एक जादूगर साँच्चिकै सरस्वतीको वरदान गायिका लता मंगेशकर सरस्वती पूजाकै दिन यस संसारबाट महाप्रस्थान गर्नुभएको छ। उहाँका गीत र आवाजहरुसँग मेरो बाल्यकालका मीठा सम्झनाहरु गाँसिएका छन्।’ 

नेपथ्य ब्यान्डका गायक अमृत गुरुङ लेख्छन्, ‘सरस्वतीकी वरदान लता दिदीलाई बिदाइ।’ गायक शिव परियारले पनि लता मंगेशकरलाई भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्, ‘यस जगतकी एक शाश्वत स्वरले आज ९२ वर्षको उमेरमा श्रीपण्चमीका दिन सशरीर महाप्रस्थान लिनुभएको छ।’ 

गायक राजेशपायल राईले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मैले पुज्ने, संगीत भन्नेबित्तिकै मेरो मनमा झट्ट आउने नाम, संगीतको अर्को नाम लता दिदीज्यूले समाधि लिनुभएकोले आज मेरो हुने रेकर्डिङ, सुटिङ र गीत रिलिज हुने छैन।’ 

राष्ट्रपति विद्यादेवी भण्डारीले पनि गायिका लता मङ्गेशकरको निधनप्रति दुःख व्यक्त गरेकी छन्। राष्ट्रपति भण्डारीले मङ्गेशकरले नेपाली गीत सङ्गीतमा दिएको योगदानको स्मरण गर्दै शोक प्रकट गरेकी छन्।

राष्ट्रपति भण्डारीले ट्वीट गरेकी छन्, ‘धेरै नेपाली गीतलाई समेत आफ्नो सुमधुर आवाजले सजाउनुभएकी भारतकी प्रख्यात गायिका लता मङ्गेशकरको निधनको खबरले मलाई दुःखी बनाएको छ। असाधारण प्रतिभाकी धनी दिवङ्गत लता मङ्गेशकरप्रति भावपूर्ण श्रद्धाञ्जली।’

निरन्तरको साधना, तपस्या, लगन र अनुशासनले आवाजको दुनियाँमा एक युग रचेर लताले नेपाली सांगीतिक उद्योगलाई पनि गुन लगाएकी छन्। 

खेलमा क्रिकेट र पढ्नमा उपन्यास मन पराउने मंगेशकरले जीवनमा महान् संगीतकारहरुसँग काम गरिन्। उनको आवाज बिनाको गीत नै बन्दैनजस्तो थियो साठीको दशकपछि। बाँचुन्जेल उनले विश्व सांगीतिक दुनियाँलाई आफ्नो आवाज दिइरहिन्। सन् १९६० देखि २००० भित्र बनेका चलचित्रका गीतमा उनको आवाज अनिवार्यजस्तै थियो। उनको आवाज बिनाको फिल्मी गीत अधुरो र अपुरो लाग्थ्यो। उनका आवाज सुनेर भारतीय पूर्व प्रधानमन्त्री जवहारलाल नेहरु रोएका थिए। सन् १९६३ जनवरी २७ का दिन लताले कवि प्रदीपले लेखेको गीत ‘ए मेरे वतन के लोगों’ गाउँदा नेहरु रोएका हुन्। गीत गाइसकेर लतालाई नेहरुसँग भेट गराइयो। नेहरुले लतालाई धाप दिँदै भनेका थिए– धेरै राम्रो। यिनले मेरो आँखामा आँसु ल्याइदिइन्।’

सन् १९६४ मा नेहरु मुम्बई गएका बेला लताले ‘आरजू’ फिल्मको ‘अजी हमसे रुठकर कहाँ जाइएगा’ गाएकी थिइन्। त्यतिखेर पनि नेहरुले उनलाई ‘ए मेरे वतनके लोगों’ गाउन लगाएका थिए। 

लताको सांगीतिक यात्राको पखेटा ‘बरसात’ फिल्मबाट लाग्यो। सन् १९४९ तिर राज कपूर र नरगिस अभिनित फिल्म बरसात आएपछि उनले पछाडि फर्किएर हेर्नु परेन। लता मंगेशकरका बारेमा संगीतकार मदन मोहनले भनेका थिए, ‘१९५६ मा मेट्रोमर्फीको तर्फबाट संगीतकारलाई राम्रो गाउने ‘ट्यालेन्ट’ भारतभरि खोजियो। लता मंगेशकरसँग प्रतिस्पर्धा गर्न सक्ने कोही पनि भेटेनौं। हाम्रो सौभाग्य हाम्रो जमानामा अवतरित भइन्।’

सन् १९५० मा उनले गाएको ‘आएगा आने वाला’ गीत अल इन्डिया रेडियोमा बज्न पाएन किनकि त्यतिखेर अल इन्डिया रेडियोले फिल्मी गीत बजाउँदैनथ्यो। त्यो समय रेडियो सिलोन पनि थिएन। पछि भारतीयले पहिलोपटक रेडियो गोवाबाट लताको स्वर सुनेका थिए। गोवा त्यो समय पोर्चुगलको कब्जामा थियो। साठीको दशकमा सबैभन्दा बढी मोहम्मद रफीसँग लताले युगल गीत गाइन्। चार वर्षसम्म त रफीसँग निरन्तर गीत गाइन् उनले। आर डी बर्मनका पिता सचिनदेव बर्मन पनि लताको आवाजको प्रशंसक थिए। 

सयौं सदावहार गीत गाएकी लताको अन्तिम गीत भने सन् २०१५ मा रेकर्ड भएको थियो। १३ वर्षको उमेरदेखि नै गाउन गालेकी लताका तीन बहिनी आशा भोश्ले, उषा मंगेशकर र मीना मंगेशकर तथा भाइ हृदयनाथ मंगेशकर बलिउड सांगीतिक क्षेत्रमै सक्रिय छन्। 

लता भारतको सर्वाेच्च सम्मान भारत रत्नबाट गत वर्ष सम्मानित भएकी थिइन्। उनले थुप्रै राष्ट्रिय अवार्ड प्राप्त गरेकी छन्। लता मंगेशकरको भौतिक शरीर अब रहेन, तर उनको स्वर अहिले पनि लाखौं–करोडौं संगीतप्रेमीको कानमा गुन्जिरहेको छ।

–भारतीय सञ्चारमाध्यमहरुको सहयोगमा

प्रकाशित: Feb 06, 2022| 16:42 आइतबार, माघ २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।
जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।
चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।